नारायणीले बगाएको गैंडा मृत फेला
परासीः बाढीका कारण नारायणी नदीले बगाएका दुई गैंडामध्ये एउटा गैंडा नवलपरासीको त्रिवेणी व्यारेजस्थित नर्सही ठोकरमा सोमबार मृत अवस्थामा फेला परेको छ। नदीमा बग्दै आएका दुई गैंडामध्ये एउटा भने भागेर नजिकैको नेपालस्थित जंगलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए।
शनिबार नवलपुर क्षेत्रको राष्ट्रिय निकुञ्जबाट निस्केका दुई गैंडासँगै ६ वटा हरिण नारायणी नदीमा बगेका थिए। तिमध्ये ५ वटा हरिण शनिबार त्रिवेणी व्यारेजमा मृत अवस्थामा फेला परेका थिए भने अर्को हरिण सेक्टर बन कार्यालयका कर्मचारीले जीवितै समातेका थिए। मृत तथा जीवित अवस्थामा रहेका सबै वन्यजन्तु करिब ३० कि.मि. को दुरीमा रहेको त्रिवेणी व्यारेज आसपासमा फेला परेका हुन्।
मृत अवस्थामा फेला परेको गैंडा २ वर्षको पोथी रहेको जिल्ला वन अधिकृत बिजयराज सुवेदीले जानकारी दिए। प्रहरीले फेला पारेर जिल्ला वन कार्यालयलाई जिम्मा लगाएको गैंडाको खाग र खुर निकालेर गाडिने सुबेदीले बताए।