खानेपानीको मुहान भत्किएपछि पानीको हाहाकार
पाँचथर: अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा अहिले त्यस ठाउँमा खानेपानीको हाहाकार भएको छ।
पहिरोले हिलिहाङ गाउँपालिका–३, ४, ५, ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि अहिले खानेपानीको अभाव देखिएको हो ।
स्थानीयवासी बालकृष्ण ओझाका अनुसार मुक्तुरा, खाङ्ग्रे खोल्सी, हस्तपुर, डुडेखोला, साम्रेखोल्सी, टुवाखोल्सी, देवीथान, महभिर, अँधेरीखोला, अमले खोल्सी, गुहेखोल्सीहरु थापिएका मुहान अधिकांश ट्यांकी तथा बिच्छ्याइएका पाइप तथा मुहान बगाएको हो ।
अहिले आकासेपानीको भर पर्नुपर्ने स्थानीयवासी बताउँछन् । खानेपानीको मुहानको संरक्षण गरिदिन, टुटफुट भएका, बगाएका पाइप व्यवस्थापन गरिदिन गाउँपालिकालाई उनीहरुले आग्रह गरेका छन् ।
फालेलुङ–३ मांलेबु र खोलाघारीमा सञ्चालित दुईवटा खानेपानी आयोजनाको मुहान बगाउँदा त्यस भेगका १८३ घरपरिवारमा खानेपानीको समस्या भएको हो ।