९८ वर्षीया प्रधानाङले गरिन् एक लाख सहयोग
भक्तपुर: भक्तपुर नगरपालिका ३ घर भएकी ९८ वर्षीया मंगलदेवी प्रधानाङले सीमान्तकृत बालबालिका पढाउने काठमाडौंको बालाजु हाइटस्थित आशा विद्याआश्रमलाई एकलाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेकी छन्।
आफ्नो जन्म दिनमा प्राप्त भएको उपहार तथा आफूले जम्मा गरेको रकम एक लाख पुर्याएर उनले विद्या आश्रमलाई हस्तान्तरण गरेकी हुन्। आफू स्कुल जान नपाएकोमा हालसम्म पछुतो मान्ने प्रधानाङले आफूजस्तै अरु बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भनी उक्त सहयोग गरिएको बताइन्।
उमेरले ९८ वर्ष पुगे पनि उनको बाली अझै प्रस्ट छ। कान भने कम सुन्ने र आँखाको दृष्टि अलि धमिलो भएको उनका माइला छोरा राजेन्द्र बताउँछन्।
छोरा राजेन्द्रका अनुसार मंगलदेवीले काठमाडौंस्थित एक लायन्स क्लवमार्फत आठ जना बालबालिकालाई अध्ययन छात्रवृत्तिसमेत प्रदान गर्दै आएकी छन्।
आशा विद्या आश्रमलाई भने होप वल्र्डवाइड नेपालमार्फत उक्त रकम उपलब्ध गराएकी छन्। भक्तपुर नपा १ स्थित इवामुरा कलेज अफ हेल्थ साइन्समा आयोजित एक कार्यक्रममा प्रधानाङले उक्त एक लाख रकमको चेक होप वल्र्डवाइडका कार्यक्रम संयोजक अनु डंगोललाई हस्तान्तरण गरेकी थिइन्।
तीन छोरा र चार छोरीका आमा मंगलदेवीले शिक्षासँगसँगै बालबालिकालाई असल नागरिक बनाउनुपर्नेमा जोड दिइन्।
उनकी साहिंली छोरी दयालक्ष्मीका अनुसार मंगलदेवी घरअगाडि नै रहेको कन्या माविमा पढ्न गएकी थिइन्। तर एकदिन स्कुलबाट घर फर्कंदै गर्दा उनलाई सर्पले टोक्यो। सर्पले टोकेकै कारण उनका बुबाले उनलाई छोरीको ज्यान जोखिममा राखेर स्कुल पठाइनन्। र, उनले दोहोर्याएर स्कुलको पाइला टेक्न पाइनन्। स्कुल जान नपाउँदा आफूले खानुपर्ने औषधिसम्म चिन्न नसक्दा धेरैपटक रोएको मंगलदेवीले सुनाइन्।
आमा मंगलदेवीले आफूहरु जान्नेबुझ्ने भएदेखि नै सधैं असल नागरिक बन्न उत्प्रेरित गर्दै आएको माइला छोरा राजेन्द्र बताउँछन्। मंगलदेवीले १९९० सालको भूकम्पमा आफ्नो बज्यै गुमाएकी थिइन्। उक्त भूकम्पमा बज्यैले अंगालो हालेर मंगलदेवीलाई बचाएकी थिइन्। त्यस्तै उनले २०४५ सालको भूकम्प पनि भोगिन् २०७२ सालको भूकम्पपछि भने उनमा केही मौनता बढेको छोरी दयालक्ष्मी बताउँछिन्।
मंगलदेवीले एकलाख रुपैयाँ आर्थिक सहयोग गरेको आशा विद्या आश्रममा एकसय सात जना सीमान्तकृत बालबालिका अध्ययनरत छन्। कक्षा नर्सरीदेवी पाँचसम्म रहेको उक्त विद्यालय दाताहरुको सहयोगबाटै सञ्चालन हँुदै आएको होपका कार्यक्रम संयोजक डंगोलले बताए।
कार्यक्रममा इवामुरा कलेज अफ हेल्थ साइन्सका संयोजक शैलैन्द्र बुढाथोकी, सञ्चालकद्वय राजुमृग्रेन्द्र जोशी र उत्तमकृष्ण कर्माचार्यले पनि आशा विद्या आश्रमको लागि सक्दो आर्थिक सहयोग उपलब्ध गराउने बचन दिए।
सञ्चालक कर्माचार्यले कार्यक्रममै विद्या आश्रमलाई २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।