मनसुन निष्क्रिय, तत्काल खतरा टर्यो
काठमाडौं : बुधबार सक्रिय भएको मनसुन सोमबारदेखि क्रमिक रूपमा निष्क्रिय हुन थालेको छ । देशको पूर्वी र मध्य भूभागको मौसममा सुधार आएको छ भने सुदूरपश्चिमी भूभागमा सामान्य वर्षा हुने मौसमविद्ले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान कार्यालयका मौसमविद् वरुण पौडेलले मनसुन प्रणाली क्रमिक रूपमा निष्क्रिय हुन थालेकाले भारी वर्षाको सम्भावना नरहेको तर सामान्य बदली भने हुने बताए ।
नेपाल प्रवेश गरेको मनसुनी न्यूनचापीय प्रणाली कमजोर भएसँगै वर्षा रोकिने संकेत देखिएको हो । मनसुनको नयाँ प्रणाली विकास हुन दुई साताभन्दा बढी लाग्ने भएकाले तत्काल भारी वर्षा नहुने तर मनसुनी अवधि अझै डेढ महिना बाँकी हुँदा सामान्य वर्षा हुने उनले बताए । 'अब खतरा टरेको छ । बाढी, पहिरो, डुबान तत्काल हुने सम्भावना घटेको छ', उनले भने ।
शुक्रबार र शनिबार देशको पूर्वी भूभागमा सक्रिय मनसुन आइतबारदेखि मध्य र पश्चिमी भूभागमा सरेको थियो । सोमबारदेखि नै मध्य र पश्चिमी भूभागमा मौसम सफा हुन थालेकाले सुदूरपश्चिममा पनि विस्तारै सुधार हुने क्रममा छ । जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान शाखाका अनुसार वर्षा रोकिएसँगै अधिकांश नदीमा पानीको सतह घटेको छ । खतराको सतह पार गरेको पश्चिम राप्ती, बबई, नारायणीलगायत नदीको सतह घटेको छ ।
बंगालको खाडीबाट न्यूनचापीय मनसुनी वायु ४ महिनासम्म चल्दा नेपालमा मनसुन प्रणाली सक्रिय हुने र वर्षा हुने मौसमविद् बताउँछन् । सामान्यतया जेठ २७ मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष दुई दिन ढिला सक्रिय भएको थियो । असोज ७ देखि मनसुन नेपालबाट बाहिरिन्छ । मनसुनको मुख्य समय मानिने असार, साउन र भदौमा सामान्यदेखि भारी वर्षा हुने गरेको मौसमविद् पौडेलले बताए ।