तनहुँमा सीटीईभीटीको डिप्लोमा कोर्स
दमौली: तनहुँका विभिन्न भागमा प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा कोर्स सञ्चालन गरेको छ।
परिषद्ले आफूमातहत रहेको भीमाद कृषि तालिम केन्द्रलाई तनहुँ प्राविधिक शिक्षालयमा परिणत गरी प्राविधिक शिक्षातर्फको शैक्षिक अध्ययन सुरु गरेको हो। परिषद्का सदस्यसचिव पुष्परमण वाग्लेले यसअघि प्राविधिक कोर्समात्र सञ्चालन गर्दै आएकामा अब शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्न थालिएको जानकारी दिए।
यसअघि केन्द्रले प्लम्बिङ, कृषिलगायत विषयमा आवधिक कोर्स सञ्चालन गर्ने गरेको थियो। शिक्षालयमा परिणत भइसकेपछि कृषिमा आईएससी पठनपाठन थालिएको वाग्लेले जानकारी दिए। ‘कृषिको सम्भावना भएको जिल्लामा शैक्षिक कार्यक्रम लागू हुन नसकेको अवस्था थियो', उनले भने, ‘अब यहीँ त्यो सुविधा सुरु भएको छ।'
सीटीईभीटीले तनहुँको गजरकोट पुट्टारमा आंगिक प्राविधि शिक्षालय स्थापनाको अनुमति दिएको छ। कालिगण्डकी प्राविधिक शिक्षालय सञ्चालनको अनुमति दिएको र अब त्यसमार्फत वन विज्ञान अध्ययनको कार्यक्रम सुरु हुने उनले जानकारी दिए। तनहुँमा प्राविधिक शिक्षाको माग बढिरहेको भन्दै आंगिक शिक्षालय थप्ने उनले जानकारी दिए।