संसदभित्र नारावाजी: अमेरिकाको नाश होस्
तेहरान : इरानको संसद्मा सांसदहरूले अमेरिकाको नाश होस् भन्ने नारा लगाएका छन्। अमेरिकाले हालै इरानमाथि नयाँ प्रतिबन्ध लगाएको विरोधमा उनीहरूले यस्तो नारावाजी गरेका हुन्।
इरानको सरकारी समाचार समिति इर्नाका अनुसार आइतबार संसद्मा छलफल भइरहेका बेला अमेरिकाविरोधी नारा लगाइएका थिए । संसद्ले आणविक क्षेप्यास्त्र कार्यक्रम र रिभोल्युसनरी गार्डका लागि ५० करोड अमेरिकी डलरभन्दा बढी रकम विनियोजन गरेको छ।
यसैगरी संसद् रिभोल्युसनरी गार्डको के विदेशी अभियान (द कुर्दस् फोर्स)का लागि २६ करोड अमेरिकी डलर थप रकम छु्टयाउन सहमत भएको छ। इराकको रिभोल्युसनरी गार्डको कुर्दस् फोर्स सिरिया र इराकमा इरानको सैन्य अभियानको कार्यमा खटाइएको छ। इरानी संसद्का सभामुख अली लारिजानीले भने, ‘अमेरिकाले यो थाहा पाओस् कि यो हाम्रो पहिलो कदम हो।'
अमेरिकी गतिविधि र आतंकविरोधी अभियानका लागि उक्त आर्थिक प्याकेज अनुमोदन गरेपछि उनले यस्तो धारणा अभिव्यक्त गरेका हुन्। २४४ सदस्य रहेको इरानी संसद्मा सहभागी २४० सांसदले आर्थिक प्याकेजको पक्षमा समर्थन गरेका थिए। त्यसलगत्तै उनीहरूले अमेरिकाको नाश हो भन्दै नारा लगाएका थिए।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बहाली भएपछि दुई देशबीच तनाव बढ्दै गएको छ। अमेरिकाले जुलाईमा इरानविरुद्ध परमाणु कार्यक्रम जारी राखेको भन्दै नयाँ प्रतिबन्ध लगाएको थियो। अमेरिकाले गत जुलाईमा आफूमाथि लगाएको नाकाबन्दी सन् २०१५ मा सम्पन्न इरान सम्झौता विरुद्ध भएको इरानी भनाइ छ। त्यसैको बदलामा इरानी संसद्ले बजेट वृद्धि गर्ने निर्णय गरेको हो।
लामो विवादपछि आणविक शक्ति सम्पन्न राष्ट्रहरूसँग इरानले उक्त सम्झौता गरेको थियो। त्यस सम्झौतामा इरानमाथि प्रतिबन्ध विस्तारै हटाउने उल्लेख छ। त्यसविपरीत अमेरिकाले नाकाबन्दी लगाएको इरानको कथन छ। ट्रम्पले भने इरानसँग भएको उक्त सम्झौतालाई अहिलेसम्मकै खराब सम्झौता भनेर आलोचना गर्दै आएका छन्।
इरानी उपविदेशमन्त्री अब्बास अराघचीले भने, ‘इरानसँग शत्रुतापूर्ण व्यवहार गर्ने अमेरिकी कारबाहीको सामना गर्नेछ।' अमेरिका र इरानबीच सन् १९८० देखि कूटनीतिक सम्बन्ध विच्छेद छ। पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँग वार्ताको प्रयास गरेका थिए। ट्रम्पले इरानसँग कुनै पनि खाले वार्ता गर्न अस्वीकार गरेका छन्।