अमेरिकामाथि क्षेप्यास्त्र आक्रमणबारे किमले प्योङयाङमा गरे ‘ब्रिफिङ’
एजेन्सी : उत्तर कोरियाली नेता ‘किम जोन उन’ले अमेरिकी सेना तैनाथ रहेको समुद्री क्षेत्र ‘गुअम्’ मा मिसाइ आक्रमण गर्न सेनाले गरेको तयारीकोे प्रसंशा गरेका छन् । तर उनले हाल आक्रमण गर्ने कार्यलाई थाती राख्न आग्रह गरेको जनाइएको छ। कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार सोमबार कोरियन जनमुक्ति सेनाको रणनीतिक फोर्सले ‘गुअम्’ आक्रमणका लागि गरेको तयारीबारे निरीक्षण गरेपछि उनले सेनाको प्रसंशा गरेका हुन् ।
सेनाको कार्यको निरीक्षण गर्ने क्रममा किमले अमेरिकाले तनाव कम गर्नका लागि आफूहरुलाई उक्साउने र एकतर्फी माग राख्न बन्द गर्नु पर्ने बताए । उनले भने ‘यदि अमेरिकाले कोरियाली प्रायद्वीप र यस आसपासमा खतरनाक र लापर्वाहीपूर्ण गतिविधि गरी हाम्रो संयमताको परीक्षण लिइरहने कार्य जारी राखे, पूर्व घोषित अनुसार हामी महत्वपूर्ण निर्णय लिन बाध्य हुनेछौं।’ नेता किमले जुनसुकै बेला आक्रमण गर्नका लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएको केसीएनएको रिपोर्टमा जनाइएको छ ।
पछिल्लो समय अमेरिका र उत्तर कोरियाले एक अर्का विरुद्ध चेतावनी पूर्ण वक्तव्यबाजी जारी राखेका छन् । ८ अगष्टमा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘फायर एण्ड फरी’ को रुपमा चर्चित बक्तव्य दिएका थिए । जसमा उनले अमेरिकासँग निहुँ खोजे उत्तर कोरिया ध्वस्त हुने चेतावनी दिएका थिए । त्यसको दुई दिनपछि उत्तर कोरियाले अमेरिकी धम्कीको प्रतिरोधमा अमेरिकी सेना तैनाथ रहेको ‘गुअम’ क्षेत्रमा मिसाइल हमलाको तयारी गरिएको र जुनसुकै बेला आक्रमण गर्न सक्ने चेतावनी दिएको थियो । त्यस यता दुवै पक्षबाट आक्रमक अभिव्यक्तिहरु आइहेका छन् ।