सुजुकीले सञ्चालन गर्यो ट्याक्सी सेवा केन्द्र
काठमाडौं: सुजुकीले काठमाडौं जोरपाटीमा ट्याक्सीधनीलाई लक्षित गर्दै सुजुकी सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सुजुकी ट्याक्सीधनीलाई सर्भिस सुविधा उपलब्ध गराई सेवाका लागि कुर्नुपर्दा तिनलाई पर्ने घाटा न्यूनीकरण गरी उनीहरूको नाफा बढाउने उद्देश्यसहित केन्द्र सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
अत्याधुनिक प्रविधि जडान गरिएको उक्त केन्द्रमा सम्पूर्ण समस्या पत्ता लगाई मर्मत सेवा उपलब्ध गराउन आवश्यक सुविधा उपलब्ध छ । केन्द्रमा तालिमप्राप्त अनुभवी प्राविधिकको व्यवस्थासमेत छ । केन्द्रमा सेवाप्रदायकलाई आरामदायी वेटिङ लाउन्ज, रिफ्रेसमेन्ट सुविधा र प्रशस्त पार्किङ स्पेसको व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवा केन्द्रले बिहान सातदेखि बेलुकी सात बजेसम्म सुविधा उपलब्ध गराउनेछ । ट्याक्सीधनीका लागि कम्पनीले आवश्यक सामग्रीमा १५ प्रतिशतसम्मको छुट पनि उपलब्ध गराएको छ ।
एमएसआईएलका महाप्रबन्धक (सर्भिस) ए राघवन, एमएसआईएलका कन्ट्री म्यानेजर (सर्भिस) गुरकिरात सिं, सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक तथा अध्यक्ष अरुण चौधरी र सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको उपस्थितिमा सेवा केन्द्रको उद्घाटन भएको छ । कार्यक्रममा कारदेखि ट्याक्सीसम्मको बिक्रीमा देशकै अग्रणी वितरक भएका आधारमा खरिदकर्तालाई उत्कृष्ट र छरितो सेवा उपलब्ध गराई तिनको आम्दानीमा वृद्धि गराउन टेवा पु¥याउनु आफ्नो दायित्व भएको अध्यक्ष चौधरीले बताए ।
ट्याक्सीधनीलाई विश्वस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धतास्वरूप यस्तो पहल गरिएको कारमाण्डू मोटर्सको सेवा केन्द्रका निर्देशक सुरज गिरीको भनाइ छ ।