बाढीपीडितको उद्धारमा जेसिज सदस्य
काठमाडौं: अविरल वर्षाका कारण तराईका जिल्लामा आएको बाढीबाट पीडित बनेकाको उद्धार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आह्वान गरेको छ । एक सय ३८ शाखाका पाँच हजारभन्दा धेरै सदस्य बाढीपीडितको सहयोग तथा उद्धारमामा लागिसकेको उसको भनाइ छ।
ती सदस्यले खाद्यान्न, कपडा, त्रिपाल र पिउने पानीको व्यवस्थासमेत गरिरहेका छन् । झापा, मोरङ, सुनसरी, टीकापुर, चितवन, हेटौंडालगायत क्षेत्रमा आफ्ना सदस्य उद्धार कार्यमा लागिरहेको नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीले बताए । काठमाडौंमा रहेको जेसिजका शाखा र विभिन्न संघसंस्थासँग समन्वय गरेर राहत संकलन र वितरण सुरु गरिएको उनको भनाइ छ।
नेपाल जेसिजबाट पाउने सुविधाको रकमबाट बाढीपीडितका लागि खर्च गर्ने घोषणा गर्दै अध्यक्ष अधिकारीले तनमनबाट बाढीपिडितको सहयोगमा लाग्न जेसिज सदस्यलाई आग्रह गरे । केन्द्रीय पदाधिकारीले उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित स्थानमै खटिएर कार्य गरिरहेका छन् । बाढीपीडितका लागि सक्दो सहयोग गर्न नेपाल जेसिजले सर्वसाधारणलाई समेत आग्रह गरेको छ।
नेपाल जेसिजले यसअघि भूकम्पपीडितलाई स्वतस्फूर्त संकलन भएको तीन करोडबराबरको सामान उपलब्ध गराएको थियो ।