नेपाल लाइफ इन्सुरेन्सद्वारा बिमा रकम हस्तान्तरण
काठमाडौं: नेपाल लाइफ इन्सुरेन्स कम्पनीले केही दिनदेखिको अबिरल वर्षाले गएको पहिरोमा परी असामयिक निधन भएका सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ६ बस्ने बिमित दुर्गाकुमारी खड्काको परिवारलाई १० लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
कम्पनीले मृत्यु दावी भुक्तानीलाई सर्वसुलभ ढंगले सम्पन्न गरी आम मानिसमा जीवन बिमाप्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयासस्वरूप शनिबार निधन भएको परिवारलाई २४ घन्टाभित्र उक्त रकम हस्तान्तरण गरेको हो । कम्पनीका सहायक प्रबन्धक विरोध भट्टले मृतकका श्रीमान् उदयबहादुर खड्कालाई रकम हस्तान्तरण गरेका थिए ।
मृतकले पाँच लाख बिमांकको जीवन बिमाबापत २४ हजार तीन सय चार रुपैयाँमात्र बिमा शुल्क बुझाएकी थिइन् । कम्पनीले बाढीपहिरोमा परी असामयिक निधन भएका मृतकका आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।