ओमद्वारा राहत कोष स्थापना
काठमाडौं: ओम डेभलपमेन्ट बैंक लिमिटेडले बाढीपीडितको सहयोगार्थ पोखरा लेखनाथ महानगरपालिकासँग सहकार्य गरी बाढीपीडित राहत कोष स्थापना गरेको छ । बैंकले आफ्नो तर्फबाट एक लाख ५० हजार खातामा जम्मा गरी पोखरामा राहत कोष सञ्चालनमा ल्याएको जनाएको छ।
त्यसैगरी बैंकले चितवनमा पनि अर्काे एक लाख ५० हजार रकम जम्मा गरी राहत कोष खाता सञ्चालनमा ल्याएको छ। बाढीपीडितलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई ओम डेभलपमेन्ट बैंकको पोखरा र नारायगढमा खोलिएको राहत कोष खातामा सहयोग गर्न सकिने बैंकले जनाएको छ ।
अहिले बैंकको तर्फबाट दुईवटा खातामार्फत तीन लाख सहयोग गरिएको र बैंकका सञ्चालक समिति सदस्य, संस्थापक, ग्राहक तथा कर्मचारीबाट यथासक्य सहयोगको अपेक्षा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकारी विश्वमोहन अधिकारीले जानकारी दिए । उनले सबै देशबासीलाई यस विपत्तिमा सक्दो सहयोग गर्न आग्रहसमेत गरेका छन् ।