परीक्षा सार्न आयोग पुगे सचिव

परीक्षा सार्न आयोग पुगे सचिव

काठमाडौं: भदौ ३ गतेलाई निर्धारण गरिएको अस्थायी शिक्षकका खुला प्रतियोगितात्मक लिखित परीक्षा केही दिन पर सार्न शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगलाई अनुरोध गरेको छ।

शिक्षा मन्त्रालयका सचिव शान्तवहादुर श्रेष्ठ, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल र मन्त्रालयकै सहसचिव हरि लम्सालले आयोग अध्यक्ष ताना गौतमलाई सोमबार भेटेर यस्तो आग्रह गरेका हुन्। कार्यरत अस्थायी शिक्षकमध्ये आन्तरिक प्रतिस्पर्धामा सहभागी भएर पनि अनुत्तीर्ण भएकालाई समेत सेवा-सुविधा दिनुपर्ने अस्थायी शिक्षकका माग पूरा गर्न समय लाग्ने भएकाले तत्कालका लागि परीक्षा सार्न मन्त्रालयका अधिकारीले यस्तो अनुरोध गरेका हुन्।

आफूहरूको माग पूरा गर्न दबाब दिने उद्देश्यले अस्थायी शिक्षक भद्रकालीमा आमरण अनशनमा छन्। उनीहरूको माग पूरा गराउनेतर्फ मन्त्रालय सकारात्मक रहे पनि शिक्षा ऐन संशोधन गर्नुपर्ने र यो काम भदौ ३ गतेअघि सम्पन्न गर्न कठिन रहेकाले परीक्षाको मिति सार्नु नै उचित विकल्प रहेको मन्त्रालयको बुझाइ छ।

आमरण अनशनमा बसेका शिक्षकले पनि यस विषयमा विगतमा सम्झौता भइसकेको र उक्त सम्झौता कार्यान्वयन नभई परीक्षा सम्पन्न भए माग ओझेलमा पर्ने बताउँदै माग पूरा नहुँदासम्म परीक्षाको मिति पर सार्न माग गर्दै आएका छन् । शिक्षामन्त्रीको अनुरोध लिएर गौतमलाई भट्न गएका मन्त्रालयका अधिकारीले अनशनरत शिक्षकका जीवन रक्षाका लागि भए पनि परीक्षा सार्न अनुरोध गरेका थिए ।

अस्थायी शिक्षकका माग पूरा गर्ने बहानामा परीक्षा स्थगन गर्दा नकारात्मक सन्देश जाने हुँदा मुलुकका विभिन्न भूभागमा आएको हालैको बाढी पहिरोका कारण भदौ ३ गतेको परीक्षामा सबै शिक्षक सहभागी हुन कठिन हुने कारण देखाएर परीक्षा सारिएको सूचना जारी गर्न आयोगलाई सुझाएका थिए।

मन्त्रालयका प्रवक्तासमेत रहेका लम्सालले भने, ‘हामीले आयोगलाई अनुरोध गरेका छौं। स्थगन गर्ने वा नगर्ने भन्ने उहाँहरूको अधिकार हो।' आयोगका अध्यक्षले भने पटक-पटक परीक्षा सार्दा आयोगको विश्वसनियतामाथि प्रश्न उठ्ने भन्दै परीक्षा सार्न कठिन हुने बताएका थिए।

यसअघि पनि असार २४ गतेलाई निर्धारण गरिएको परीक्षा स्थानीय तहको चुनावको कारण देखाउँदै भदौ ३ गतेलाई सारिएको थियो। यसपटक भने परीक्षाको प्रश्नपत्र तथा उत्तरपुस्तिका छपाइ, परीक्षा केन्द्र निर्धारणलगायत परीक्षासँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भइसकेको आयोग सदस्य ज्ञानी यादवले बताए। ‘सचिवज्यूहरूले आफ्नो कुरा राख्नुभयो। तर, हामीले पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा गर्नुपर्नेमा जोड दियौं', यादवले भने।

यसअघि पनि आफूहरूको माग पूरा गराउन दबाब दिने उद्देश्यले आमरण अनशनमा बसेका शिक्षकसँग शिक्षा मन्त्रालयले असार ९ गते सम्झौता गरेपछि अनशन तोडेका थिए। तर, सम्झौताअनुसार काम नभएको भन्दै उनीहरू दोस्रो पटक आमरण अनशनमा बसेका हुन्।

तर, उनीहरूको माग पूरा गराउने बहानामा परीक्षा सार्न लागिएकोप्रति नेपाल शिक्षक महासंघलगायत विभिन्न दलनिकट शिक्षक संगठनका प्रतिनिधिले भने असन्तुष्टि जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.