९६ बर्षमा नागरिकता
मंगलसेन: १०० बर्ष उमेर पुग्न चार बर्ष मात्र बाँकी छ। बान्नीगढी जयगढ गाउपालिका-३ बर्दादेबीको बेलपाटाकी हंशदेवी थापाले भर्खरै मात्र नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छिन।
जिल्ला प्रशासन कार्यालयले जयगढमै नागरिकता शिविर संचालन गरेपछि हंशदेवीले उत्तरार्धमा आएर नागरिकता लिएकी हुन्। सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले हंशदेवीलाई नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन्। ‘युवा अवस्थामा नागरिकता बनाउने कुनै काम नै परेन, बृद्धा अवस्थामा सदरमुकाम जान सकिएन' नागरिकताको प्रमाण पत्र प्राप्त गरिसकेपछि हंशले भनिन्-‘आफ्नै गाउँमा नागरिकता टोली आएपछि छोरा नातीले पिठ्यूमा बोकेर ल्याएर अनि नागरिकता पाए।'
बुबा चन्द्रसिंह ठकुल्ला र आमा मना ठकुल्लाको कोखबाट विसं. १९७८/०५/१० गतेका दिन जन्मिएकी हंशका तीन छोरा र दुई दुई छोरी छन्। जयगढमा संचालित नागरिकता शिविरबाट हाल सम्म एक सय १५ महिला र ३२ पुरुष गरी एक सय ४७ ले नागरिकताको प्रमाण पत्र लिएको सहायक प्रजिअ काउचाले जानकारी दिए। यस्तै यस अघि मेल्लेख गाउपालिकामा दुई दिन सम्म संचालित शिविरमा पनि पाँच सय ३८ ले नागरिकता लिए छन्।
मेल्लेख भन्दा अघि दुई दिन साँफेबगरमा संचालित शिविरमा पाँच सय ८४ ले नागरिकताको प्रमाण पत्र लिएका छन्। शिविरमा नागरिकता लिनेमा पुरुष भन्दा महिलाको संख्या अत्यधिक रहेको छ। ग्रामिण क्षेत्रमा अत्यावश्यक काम परेका वाहेक अन्य मानिसले नागरिकता बनाउन खासै साचो दिने गरेको पाईदैन।
सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि नागरिकता अनिवार्य भएपछि उक्त उमेर पुगेमा महिलाले नागरिकता बनाउन थालेपछि शिविरमा महिलाको संख्या अत्यधिक बढेको नागरिकता वितरण टोलीमा संलग्न कर्मचारीहरु बताउछन्।