बाढीका कारण मृत्यु हुनेको संख्या १११ पुग्यो
काठमाडौँ: गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई-मधेशका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिएका छन्।
व्यवस्थापिका-संसद्को आजको बैठकमा उहाँले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौं जनता विस्थापित भएको जानकारी दिँदै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको छ।
गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई रु दुई लाख र घर मर्मत गर्न रु दश हजार वितरणसमेत सुरु भएको भएको जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट गरे।'सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव छ' उनले भने।
मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको बताए। रासस