रुकुममा सकियो लाखे जात्रा (फोटोफिचर)
मुसीकोट : साउन कृष्ण औंसीदेखी भाद्र कृष्ण नवमीसम्म सदरमुकाम मुसिकोट खलंगा बजारमा नाचिने दलित जातिको सांस्कृतिक पर्व ‘लाखे जात्रा’ मंगबार सकिएको छ।
बजागाजाको साथमा सदरमुकाम खलंगा बजार क्षेत्रका घर आँगनमा पुगेर नाच्दै रमाउने यो जात्राले आपसी सद्भाव र सहिष्णुता कायम गर्न सहयोग गरेको स्थानीय बताउँछन्। यो नाच २०४० सालदेखी हरेक बर्ष नाच्दै आएको रुकुमका दलित अगुवा टेकबहादुर नेपालीको भनाइ छ। ‘ लाखे जात्रा हाम्रो आफ्नो सांस्कृतिक पहिचान हो’, उनी भन्छन्, ‘यसले दलितहरुप्रति गैरदलितले गर्ने व्यवहारमा परिवर्तन ल्याउन सहयोग गर्छ र आपसी सद्भाव कायम गर्छ।’
श्रीमद्भागवतको कथालाई अधार बनाई कृष्ण चरित्रमा आधारित यो नाचको मुख्य भूमिकामा लाखे संस्कृतिमा आधारित एकजना लाखे, एकजना स्वाके र एकजना छोटामारोरी गरी तीन जनाले नृत्य गर्छन्।
खेतको काम सकेर उम्किएपछि त्यो बेलाको धुलो, मैलो पखाल्नेगरी साउने झरी पर्ने र त्यो झरीले कुनै पनि हानी नोक्सानी नगरोस् भन्ने कामना गर्दै बर्खायामको समयलाई रमाइलो गरी यो नाच महिनाभरी नाच्ने प्रचलन रहेको रुकुम लाखे जात्रा व्यवस्थापन समूहका अध्यक्ष चूडामणी नेपालीले बताए।
भाद्र कृष्ण अष्टमीका दिन मथुरामा माता देवकीको आठौं गर्भबाट श्रीकृष्ण भगवानको जन्म भएपछि र उक्त खुसीमा नाचगान गर्दै रमाउदै कृष्ण जन्माष्टमीलाई उत्सवको रुपमा बनाउने गरिन्छ। कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान कृष्णले आफूलाई मार्न खोज्ने आफ्नै मामा कंशको अन्याय र अत्याचारलाई अन्त्य गर्दै हत्या गरेको दृष्यलाई लाखे जात्रा समापनको दिन कलाकारले कलात्मक शैलीमा प्रस्तुत गर्ने गरेका छन्।
समापनको दिन यो जात्रा हेर्न सदरमुकाम खलंगामा जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण आउने गर्छन्।