चीनद्वारा नेपालको सन्तुलित विदेश नीतिको प्रशंसा

चीनद्वारा नेपालको सन्तुलित विदेश नीतिको प्रशंसा

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको सन्तुलित विदेश नीतिको प्रशंसा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मंगलबार भएका अलग-अलग भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले नेपालको सन्तुलित विदेश नीतिप्रति खुसी व्यक्त गरे । नेपालले पछिल्लो समय सन्तुलित विदेशनीति अपनाउँदै आएको छ । डोक्लाम क्षेत्रबारे चीन, भुटान र भारतबीच देखिएको विवादमा नेपालले लिएको तटस्थ नीतिप्रति संकेत गर्दै उनले परराष्ट्र नीतिको प्रशंसा गरेका हुन् ।

‘नेपालले चीनको स्थिरता र विकासको सन्दर्भमा लिएको सन्तुलित नीतिको उपप्रधानमन्त्रीले प्रशंसा गर्नुभयो', एमाले नेता विष्णु रिमालले अन्नपूर्णसँग भने, ‘तर उहाँले डोक्लाम क्षेत्रमा उत्पन्न समस्याबारे बोल्नुभएन । हामीले पनि कुरा उठाउनु उचित ठानेनौं ।'

एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा दुईपक्षीय सम्बन्ध, चीनसँग विगतमा सम्झौताको कार्यान्वयन, चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ्स्मा नेपालको भूमिका, नेपालको आर्थिक विकासमा चिनियाँ लगानी बढाउनेबारे कुराकानी भएको एमाले नेता प्रदीप ज्ञवालीले बताए ।

‘चीनसँग जोडिएका थप उत्तरी नाका खोलेर नेपालको कनेक्टिभिटी विस्तार गर्ने र आर्थिक विकासमा चिनियाँ सहयोगलाई अझ बढी फराकिलो पार्ने सन्दर्भमा कुराकानी भयो', ज्ञवालीले भने । ओलीले नयाँ संविधान निर्माण, चीनसँगको सम्बन्ध विस्तारमा गरेको योगदान र एमालेले दुई चरणका निर्वाचनमा प्राप्त गरेका सफलतालाई चिनियाँ उपप्रधानमन्त्रीले प्रशंसा गरेको उनले बताए ।

‘नेपालको आर्थिक विकास र समृद्धिका लागि चीन सदैव खुला दिलले सहयोग गर्न तयार रहेको बताउनुभयो', उनले भने । चीन शक्तिशाली बने पनि नेपालजस्ता साना छिमेकीका लागि कहिल्यै चुनौती नबन्ने, जहिल्यै सहयोगी र मित्रतापूर्ण बन्ने विश्वास दिलाएको ज्ञवालीले बताए । पारवहन यातायात सम्झौता, तेलको उत्खनन, क्रस बोर्डर रेलवे चीनको उच्च प्राथमिकतामा परेको, चीनको १३ औं पञ्चवर्षीय योजनामा राखेर बजेट छुट्ट्याएको चिनियाँ उपप्रधानमन्त्रीले जानकारी गराएका थिए ।

कोरलालगायत नाका खोल्न तत्कालै विदेश मन्त्रालयलाई निर्देशन दिने र त्यसअनुसार काम अघि बढाउने चिनियाँ उपप्रधानमन्त्रीले बताए । सीमापार रेल र अन्य नयाँ नाका खोल्न चाहेको चिनियाँ उपप्रधानमन्त्रीले बताए । पूर्व प्रधानमन्त्री दाहालसँगको छुट्टै भेटमा चिनियाँ उपप्रधानमन्त्रीले नेपालले विगतमा गरेका सहमति÷सम्झौताको दृढतापूर्वक कार्यान्वयन र राजनीतिक स्थिरताबारे चासो देखाए ।

भेटमा माओवादी अध्यक्ष दाहालले बेल्ट एन्ड रोड चिनियाँ अवधारणामा नेपालले हस्ताक्षर गरिसकेको भन्दै आफूहरू चीनसँगको सम्बन्ध थप मजबुत र फराकिलो बनाएर जान चाहेको बताए । ‘बेल्ट एन्ड रोड अवधारणालाई हामीले समर्थन गरेका छौं, यसलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा साथ दिन्छौं, सार्कमा तपाईंहरू पनि पर्यवेक्षककै रुपमा हुनुहुन्छ । राष्ट्रसंघीय मञ्चमा पनि हामी तपाईहरूसँगै छौं', दाहालको भनाइ उद्धृत गर्दै नेता मणि थापाले अन्नपूर्णसँग भने, ‘नेपाल र चीन बीचको सम्बन्ध असाध्यै फराकिलो छ । यसलाई अझ हामीले सबै हिसाबले प्रगाढ बनाउन चाहन्छौं ।'

दाहालले चीनले भूकम्पका बेलादेखि अहिले तराई-मधेसमा आएको बाढीबाट पीडित नेपालीको राहत र उद्धारका लागि चीनले गरेको सहयोग सराहनीय र नेपालले चाहेर पनि बिर्सन नसक्ने खालको रहेको भन्दै आभार व्यक्त गरेका थिए । चिनियाँ उपप्रधानमन्त्री याङले भने नेपालसँग सम्बन्ध थप विकास गरेर जान चीन तयार रहेको बताए ।

ओलीसँग एक्लै भेट

चिनियाँ उपप्रधानमन्त्री वाङले एमाले अध्यक्ष ओलीसँग एक्लै ३५ मिनेट भेट गरेका छन् ।चीनका उच्च अधिकारीले नेपालका नेतालाई एक्लै भेटेका विरलै उदाहरण छन् । होटल सोल्टीमा अपराह्न एमाले पदाधिकारीसँगको संयुक्त भेटपछि ओलीले छुट्टै वाङ्लाई भेटका हुन् ।‘अध्यक्षले म एक्लै चिनियाँ उपप्रधानमन्त्रीसँग कुरा गर्छु, तपार्इंहरू बाहिर जानुस् भन्नुभएपछि हामी बाहिर निस्कियौं । लगभग ३ ५ मिनेट उहाँहरूबीच कुराकानी भयो । के छलफल भयो त्यो थाहा भएन', ओलीनिकट एमाले नेता विष्णु रिमालले भने ।

गच्छदारसँग द्विपक्षीय वार्ता

उपप्रधानमन्त्री वाङले उपप्रधानमन्त्री विजय गच्छदारसँग होटल सोल्टीमा मंगलबार द्विपक्षीय वार्ता गरेका छन् । वार्तामा नेपाल-चीनबीचको समग्र द्विपक्षीय मुद्दा र सहकार्यका क्षेत्रबारे समीक्षा गरिएको थियो । गच्छदारले नेपालले कुनै पनि छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने बताउँदै एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । गच्छदारले चिनियाँ उच्च टोलीको सम्मानमा दिवाभोज पनि दिएका थिए ।

तीन सम्झौतापत्रमा हस्ताक्षर

वार्तापछि नेपाल-चीनबीच तीन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थसचिव शान्तराज सुवेदी र चीनका आपूर्ति मन्त्रालयका उपमन्त्री यु जियानहुवाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

१. चीन र नेपालबीच आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार चीनले नेपाललाई एक अर्ब चिनियाँ आरएमबी तातोपानी नाकाको सुदृढीकरण, अरनिको राजमार्ग स्तरोन्नति र रसुवाको टिमुरेमा पुल निर्माणका लागि अनुदानस्वरूप उपलब्ध गराउनेछ ।
२. चीन-नेपालबीच नेपालमा तेल र ग्यास अन्वेषणका लागि सवा २ अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
३. चीन र नेपालबीच लगानी प्रवद्र्धन र आर्थिक सहकार्यका लागि ढाँचा समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबाट चिनियाँ लगानीलाई आकर्षण गर्ने सरकारको नीति छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.