गोली र गालीले समस्या समाधान हुँदैन : मोदी
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा भएको बताएका छन् ।आफ्नौ ७० औं स्वतन्त्रता दिवस मनाउन मंगलबार लाल किल्लामा उपस्थित हजारौँ भारतीय नागरिकलाई सम्बोधन गर्दै उनले यस्तो स्पष्ट पारेका हुन् । उनले नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित भएको धारणा अभिव्यक्त गरे ।
मोदीले भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मचाउन प्रयास गर्ने जो सुकै विदेशी होस् वा स्वदेशीलाई पनि भारतले नछोड्ने चेतावनी दिएका थिए । त्यस्तो शक्तिका विरुद्धमा लडन् भारत पूरै सक्षम रहेको उनले बताए । भारतका सञ्चारमाध्यमहरूले चीन र भारतका बीचमा पछिल्लो समयमा सीमा क्षेत्रमा तनाव बढिरहेको भनिएका बेला मोदीको यो अभिव्यक्ति आएको भनी टिप्पणी गरेका छन् ।
उनले ‘गोली र गाली’ बाट कश्मीरको समस्या समाधान नहुने पनि स्पष्ट पारे । उनले पृथकतावादीहरूले कश्मीरमा ‘षड्यन्त्र रचिरहेको’ पनि बताए । प्रधानमन्त्री मोदीले धर्मका नाममा हिंसा गराउने कतिपय समुदायलाई सम्बोधनमा व्यंग्य गरेका थिए । उनले भने, ‘जातिवाद र साम्प्रदायिक हिंसा मच्चाइनु राष्ट्रको उत्थानमा समस्या खडा गर्नु हो ।’ उनले मिलेर कश्मीरमा देखिएका समस्याको समाधान गर्नुपर्नेमा पनि जोड दिए ।
उनले आरोप वा हतियारको भरमा समस्या समाधान नहुने भन्दै त्यस्ता कामले कसैको पनि हित नहुने स्पष्ट पारे । कश्मीरको समस्याको पहिचान गर्न सम्बद्ध सबै पक्षको इमान्दार प्रयास चाहिने उनको भनाइ थियो । कश्मीरीहरूसँग मिलेर उक्त स्थानलाई ‘पुनः स्वर्ग जस्तै बनाउनुपर्ने’मा मोदीले जोड दिए । मुसलमान समुदायको बसोवास रहेको कश्मीरमा भारत र पाकिस्तानबीच दशकौंदेखि कायम सीमा विवादको केन्द्रमा रहँदै आएको छ ।
मोदीले उत्तरी भारतमा अक्सिजनको अभावमा ज्यान गुमाएका ६० बालबालिकाको मृत्युको विषयमा बोल्दै देशलाई उनीहरूका परिवारको पीडामा एकताबद्ध हुन पनि आह्वान गरे । उनको सम्बोधनलाई भारतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रशारण गरेका थिए । सम्बोधनस्थलमा पनि ठूलो भीड स्वतन्त्रता दिवस मनाउन सहभागी बनेको थियो र्।
‘समुद्र होस् वा सीमा, साइबर होस् वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि हामी सक्षम छौँ र जुनसुकैका विरुद्धमा पनि हामी लडन् सक्छौँ’, मोदीले सम्बोधनका क्रममा भने । उनको यस अभिव्यक्तिलाई हाल चीनसँग भएको भनिएको विवादका बीच दिएको र उक्त सम्बोधन चीनतर्फ पनि लक्षित रहेको केही विश्लेषकहरूको दाबी छ । पाकिस्तानसँग पनि सन् १९४७ देखि नै भारतको सीमा विवाद रही आएको छ । जसका कारण पाकिस्तानसँग पनि भारतले युद्ध गरिसकेको छ । भारतले पाकिस्तानलाई आतंककारीहरू आफ्नो देशतर्फ पठाएको आरोप लगाउने गरेको छ । पाकिस्तानले यसलाई अस्वीकार गर्दै आएको छ ।
मंगलबार पनि भारतका विभिन्न क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । नयाँ दिल्लीका बस पार्कहरू, रेलमार्ग र स्टेसनहरू तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको थियो । नयाँ दिल्ली गेट वरिपरि लाल किल्लालगायतका क्षेत्रमा पनि सुरक्षाको कडा प्रबन्ध गरिएको थियो । प्रहरीको विशेष कमान्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको थियो ।
मंगलबार रातिसम्म नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । भारत सन् १९४७ को अगस्त १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो । बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगस्त १५ लाई भारतले स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ ।