निर्माण लागत कम गर्न अन्तर्राष्ट्रिय प्रविधि
काठमाडौं : निर्माण लागत तथा समय कम गर्न नेपालमा अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउने विषयमा मलेसियामा आयोजित पेनाङ सिग्नेचर गोल्ड फेयरमा छलफल भएको छ । मलेसियामा आयोजित उक्त फेयरका अवसरमा आयोजित पे्रसिडेन्ट मिटिङमा सहभागी भएर मंगलबार स्वदेश फर्किने क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले यस्तो बताएका हुन् ।
बैठकमा नेपालका अतिरिक्त मलेसिया, चीन, ताइवान, यूएई, भारत, थाइल्यान्ड र इरानका राष्ट्रिय स्तरका ज्वेलरी एसोसिएसनका अध्यक्ष सम्मिलित थिए । बैठकमा सहभागी राष्ट्रका ज्वेलरी उद्योगको वर्तमान अवस्था, आयातनिर्यात आदिबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । सोही क्रममा अध्यक्ष महर्जनले नेपालको ज्वेलरी उद्योगको विद्यमान अवस्था, यसका सबल पक्ष, विस्तारका सम्भावनालगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
छलफलमा नेपालका उच्चगुणस्तरका मौलिक गहनाको बजार विस्तारका लागि सहभागी राष्ट्रका प्रतिनिधि उत्साहित बनेको महर्जनले बताए । साथै नीतिगत र कानुनी स्थायित्वको प्रत्याभूति दिन सके नेपालमा पुँजी एवं प्रविधि लगानी गर्ने विषयमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनले बताए ।