राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भेट गरेका छन्।
अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार राष्ट्रपतिले उद्धार तथा राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न र त्यस निम्ति स्काउट, राष्ट्रिय सेवा दल, सामुदायिक संघसंस्था र निजी क्षेत्रलाई परिचालन गर्न आग्रह गरिन्।
साथै राष्ट्रपतिले विपद् व्यवस्थापनका लागि तत्कालीन एवं दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिँदै भविष्यमा यस्ता प्राकृतिक विपत्तिका बेला सजग र सर्तक रहन आवश्यक पर्ने उपाय अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाएको शर्माले बताए। रासस