ढ्याङ्ग्रो ठटाउँदै मकैबारीमा रातभर किसानको बास
भक्तपुर: जब रात पर्छ तब चाँगुनारायण नगरपालिका-५ छालिङस्थित त्रिशूल डाँडामा ढ्याङ्ग्राको आवाज सुनिन थाल्छ।
त्रिशूल डाँडामा मान्छेको आवाजसँगै बज्ने ढ्याङ्ग्रोले पाहुना लाग्न त्यस क्षेत्रमा जानेका लागि अनौठो लागे पनि स्थानीयवासीका लागि भने अचेल यसो गर्नु दिनचर्या जस्तै भएको छ।
बँदेलले मकैसँगै कोदो, बदाम, पिँडालु, बेसार, अदुवा, खुसार्नी लगायतका अन्नबाली खान र नष्ट गर्न थालेपछि विगत एक महिनादेखि यहाँका किसानले आफ्नो बालीको रक्षा गर्न रात परेपछि बारीमै गएर यसरी ढ्याङ्ग्रो बजाउने गरेको त्रिशूल डाँडाकी सानुमैया पुरीले बताए।
सबै घरका मानिस रात परेपछि छिटो खाना खाएर हातमा ढ्याङ्ग्रो, नाङ्लो, थाल लिएर बारीमा जान्छन् र बँदेललाई लखेट्न बजाउन थाल्छन्।
यसवर्ष बँदेलले यहाँका अधिकांश किसानको मकैबाली नष्ट गरेको छ। बँदेलले मकैबाली नष्ट गरेपछि केही किसानले बचेका हरिया मकै घरमा लान थालेको छन्।
हुलमा आउँने बँदेलले मकैको बोट भाँचेर घोगा मात्रै खाने गरेको बताउँदै पुरीले भने-“बँदेलले खाएर बाँकी रहेका हरिया मकै र छरिएका मकैका गेडा टिपेर घर लैजाने गरेका छौ।”
बँदेलले अदुवा, खोर्सानी, बेसार, पिडालु, बदाम र कोदोको बोट लगायत कृषि बाली नष्ट गरेको बेदना पोख्दै स्थानीय सुनिता पुरीले यहाँका अधिकांश किसानको अन्न बाली बँदेलले नष्ट गर्न थालेको छ।
स्थानीय रामबाबु थापाले बँदेल लखेट्न किसानले राती १ बजेसम्म बारीमा बसेर ढ्याङ्ग्रो ठटाए पनि मान्छे नभएको मौकामा एकै पटक ५०-६० वटा बँदेलको हुलले मकै नष्ट गर्ने गरेको बताए। स्थानीय राजकुमार नगरकोटीले गतवर्षदेखि बँदेलले दुःख दिन थालेको बताउँदै बँदेलले मकै मात्रै नभई जेठमा गहुँ र मंसिरमा धान समेत नष्ट गर्ने गरेको बताए। यता सूर्यविनायक नगरपालिकाको काँक्राबारी, आशापुरी, नैचाल र सिपाडोलको ठूलोबस्तीमा पनि बँदेल तथा मृगले मकै, सिमी, काँक्रो लगायतका बाली नष्ट गरेको छ।
“वर्षदिनसम्म खाने अन्नबाली बँदेलले खाएपछि अब कसरी बाच्नु-सूर्यविनायक नगरपालिका ८, सिपाडोल काँक्राबारीका अर्जुन लामाले भने। आशापुरीका कान्छा तामाङले बँदेलले बाली नष्ट गरेको बारेमा जिल्ला कृषि कार्यालय र जिल्ला वन कार्यालय जानकारी गराएपछि समस्या समाधानको उपाय भने नगरेको बताए।
जिल्ला कृषि कार्यालयका प्रमुख पूर्ण ढुंगानाले गतवर्षदेखि नै बँदेलले जिल्लाका बिभिन्न ठाउँमा कृषि बाली नष्ट गरेको गुनासो र उजुरी आए पनि कार्यालयले क्षतिपूर्ति दिने व्यवस्था नभएको बताए। जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सञ्जीव आचार्यले बँदेलले बाली नष्ट गरे क्षतिपूर्ति दिने व्यवस्था ऐनमा नभएको तर मानीवय क्षति भए मात्रै क्षतिपूर्ती दिने व्यबस्था गरेको बताए। रासस