दाउन्ने सडक खोल्न दुईसय सुरक्षाकर्मी परिचालन
नवलपरासी: करीब एकसातादेखि अवरुद्ध रहेको पूर्वपश्चिम राजमार्गको नवलपरासीस्थित दाउन्ने सडक पूर्णरुपमा सञ्चालनमा आउन अझै दुई-तीन दिन लाग्ने भएको छ। लामो समयदेखि सडक अवरुद्ध भएपछि बुधबार दिउँसोदेखि २ सय बढी सुरक्षाकर्मी परिचालन गरेर सडक मर्मतको काम सुरु गरिएको छ।
जेसीभी र डोजरले मात्र सडक मर्मत गर्न समय लाग्ने भएकाले बुधबारदेखि परासीस्थित कालिध्वज गणका नेपाली सेनासहित पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र बुटवलबाट सुरक्षाकर्मी खटाएर सडक सुचारुको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।
बुटवल-नारायणगढ सडकको दाउन्ने पहाडमा ३५ मिटर सडक भाँसिएपछि गत शुक्रबारदेखि सवारीसाधन ठप्प छन्। भाँसिएको क्षेत्रको पहाडतर्फबाट सडक फोडेर तारजाली र ढुंगा राखेर सडक सञ्चालनको तयारी गरेको प्रमुख जिल्ला अधिकारी रानामगरले बताए। बिहिबार दिउँसोसम्म एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आउन भएपनि दोहोरो सञ्चालनका लागि भने दुई-तीन दिन लाग्ने छ।
मंगलबार रातिदेखि यात्रुबहाक बसलाई पार गराएपछि बुधबार दिउँसोदेखि सुरक्षाकर्मी परिचालन गरेर सडक सञ्चालनको काम सुरु गरिएको कालिध्वज गणका मेजर खगेन्द्र लिम्बुले बताए। सडक अवरुद्ध भएपछि अहिले सो सडक खण्डमा करिब ४ सय बढी मालबहाक ट्रक रोकिएका छन्।