सिजनल फ्लुले बारपाकमा तीन वर्षीया बालिकाको मृत्यु
गोरखा: बिगत १० दिनदेखि फैलिएको मौसमी ज्वारो (सिजनल फ्लु)का कारण गोरखाको बारपाकमा एक बालिकाको मृत्यु भएको छ। तीनसय जना भन्दा धेरै बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
बिगत १५ दिनदेखि बिरामी भएकी बारपाककी तीन बर्षकी बालिका सुप्रिया गुरुङको बुधबार मृत्यु भएको कार्यालयले पुष्टि गरेको हो। स्रोतका अनुसार उनलाई रुघाखोकी, ज्वारोले सताएको थियो। विगत १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ।
बिरामी हुनेमा अधिकांश बालबालिका रहेका छन्। अरु बिभिन्न उमेर समूहका पनि बिरामीको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखा प्रमुख नानीबाबु दानीले जानकारी दिए। बिरामीको संख्या निकै बढेपछि जिल्ला स्वास्थ्य कार्यालयबाट थप स्वास्थ्यकर्मीको टोली खटाइएको दानीले बताए।
‘बिरामीको संख्या बढ्दै गएपछि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीबाट दुईजना डाक्टर बारपाक पठाइएको छ' दानीले भने ‘डाक्टर विनोद दवाडी र डाक्टर सुजाता नगरकोटी मंगलबार बारपाक पुगेर बिरामीको स्वास्थ्य परीक्षणमा खटिरहेका छन्।'
बारपाक स्वास्थ्य चौकीमा उपचार गर्न दैनिक ८० जना भन्दा धेरै आउने गरेको स्थानीय स्वास्थ्य चौकीलाई उद्धृत गर्दै दानीले बताए । जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सकको टोली खटाएको जनाएपनि स्थानीय स्वास्थ्यकर्मीका अनुसार खटाइएको भनिएको चिकित्सक गाउँमा पुगेका छैनन्।
औषधीको समेत चरम अभाव भएको स्थानीय स्वास्थ्यकर्मी सर्मिला घलेले जानकारी दिइन् । ‘अस्तिसम्म त हेल्थपोष्टका प्रमुख सर पनि हुनुहुन्थेन । अहिले कुनै नयाँ डाक्टर पनि आएका छैनन्' घलेले भनिन् ‘सिटामोल पनि नभएर हामी त बिरामी जाँच्दै मेडिकल पठाउँदै गर्थ्यो।
अहिले हेल्थपोष्ट इन्चार्जले अलिअलि औषधी लिएर आइपुग्नु भएको त छ तर औषधीको अभाव छ।' स्वास्थ्यचौकी प्रमुख अनील शाहलाई पटक पटक सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । दैनिक ८० जनाभन्दा बढी बिरामीको उपचारमा आउने गरेको घलेको भनाइ छ।
बिरामीहरु सरकारी स्वास्थ्य संस्था, नीजि मेडिकल भरिभराउ रहेको स्थानीय गौतम गुरुङ बताउँछन्। '१० दिनजति भयो, जताततै बिरामी नै बिरामी छन्' उनले भने ‘हेल्थपोष्ट, मेडिकल, झाँक्रीको घर जताततै बिरामी नै बिरामी छन्।' बिरामीहरु धामीझाँक्रीको भर पर्ने परेको पनि उनले बताए।