जंगली हात्तीको बथानले तीन घर भत्कायो
कञ्चनपुर: भारतको दुधुवा नेशनल पार्कबाट आएको हात्तीको बथानले कञ्चनपुरको पुनर्वास नगरपालिका– ६ ङ गाउँका बासिन्दाका तीन घर भत्काएको छ।
गएराति आएको हात्तीको बथानले स्थानीय हरिकला कामी, पूर्णमाया विक र दिनेश विकको घर भत्काई घरभित्र राखेको अन्नपात सबै खन्याएर नोक्सानी पुर्याएको छ। 'लत्ताकपडा, भाँडाकुँडासमेतमा नोक्सानी पुर्याउँदा बिचल्लीमा परेका छौँ”-पीडित हरिकलाले भने।
रातिका बेला बस्ती छिरेको हात्तीको बथानले एक दर्जन भन्दा बढी किसानले करिब १० बिगाहा जग्गामा लगाएको धान, मकै र तीलबाली खाएर नोक्सानी गरेको छ। हात्ती बस्तीमा पसेर धमाधम घर भत्काउन थालेपछि धेरै जनाले भागेर ज्यान जोगाएको दिनेश विकले बताए।
हात्तीले घर भत्काएका परिवारको अवस्थाबारे बुझ्न आउनुभएका पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले पीडित परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने आश्वासन दिएको थियो । रासस