'ए' डिभिजन लिग फुटबल मंसिरमा
काठमाडौं: 'ए' डिभिजन लिग फुटबल आगामी मंसिर १४ गतेदेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको कार्यसमिति बैठकले तीन वर्षदेखि अवरुद्ध 'ए' डिभिजन लिग मंसिरमा आयोजना गर्ने निर्णय गरेको हो।
एन्फाको बैठकले एएफसी एसियन कप च्याम्पियनसिपको प्ले अफ खेल्नबाट वञ्चित भएबापत थ्रीस्टार क्लबलाई दिनुपर्ने क्षतिपूर्तिको विषयमा भने अझै ठोस निर्णय लिन सकेन।बैठकले थ्रीस्टारलाई दिनुपर्ने क्षतिपूर्तिको विषयमा थप छानबिन गरेर निर्णयमा पुग्नका लागि उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको छ।
समितिमा एन्फाका सदस्य गणेशबहादुर चन्द र दिनेश व्यञ्जनकार छन्। समितिले १० दिनभित्र एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलाई प्रतिवेदन बुझाउनुपर्नेछ।बैठकले एन्फाको विशेष साधारणसभा असोज २३ गते र चुनाव पुस २३ गते गर्नका लागि एसियाली फुटबल महासंघ (एएफसी)मा पत्राचार गर्ने निर्णय पनि गरेको छ।
एन्फा पदाधिकारीको चारवर्षे कार्यकाल आगामी असोजमा सकिँदैछ। बैठकले एन्फाको दायित्व र आम्दानीको स्रोत जुटाउने लगायतका विषय साधारणसभामै छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ।
एन्फाका प्रवक्ता इन्द्रमान तुलाधरले बैठममा थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नजिक पुगे पनि आवश्यक कानुनी प्रक्रिया र क्षतिपूर्तिबापत दिइने रकमको किस्ता निर्धारण गर्न बाँकी रहेको बताए।
‘थ्रीस्टारलाई डेढ करोड दिने सहमति भएको छ तर त्यसअघि थ्रीस्टारसँग उपाध्यक्ष कुँवरको समितिले छलफल गरेर अध्यक्षलाई प्रतिवेदन बुझाउनेछ। थ्रीस्टारलाई पनि के गर्दा राम्रो हुन्छ भनेर मौका दिन लागिएको हो। साधारणसभासम्म यसको अन्तिम टुंगो लाग्नेछ', उनले भने।
यसैगरी बैठकले नेपालमा सेप्टेम्बर २० देखि २४ सम्म आयोजना हुने समूह 'डी'को एएफसी यू-१६ च्याम्पियनसिप, सन् २०१९ मा आयोजना हुने एएफसी एसिया कप छनोट खेल, भुटानमा सन् २०१८ मा हुने यू-१८ साफ च्याम्पियनसिप, काजकिस्तानमा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप छनोट, एन्फा फुटसल लिग, इरानमा आयोजना हुने एएफसी फुटबल च्याम्पियनसिपमा नेपालको सहभागिता र त्यसका लागि आवश्यक पर्ने रकमको विषयमा पनि निर्णय गरेको छ।
यसैगरी बैठकले काठमाडौं, नवलपरासी र मकवानपुरमा तीनवटा मिनी रंगशाला बनाउने र एएफसी विकास कार्यक्रमअन्तर्गत बंगलादेशमा आयोजना हुने एएफसी यू–१५ छात्रा च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ।