रासस समाचारको अनधिकृत प्रयोग नगर्न काउन्सिलको आग्रह
काठमाडौँ: प्रेस काउन्सिल नेपालले राष्ट्रिय समाचार समिति (रासस) का समाचार अनधिकृत रुपमा प्रयोग नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ। पत्रपत्रिका वर्गीकरणका क्रममा त्यसरी अनधिकृत समाचार प्रयोग गर्ने सञ्चारमाध्यमले पाउने प्राप्ताङ्क घटुवा हुने पनि काउन्सिलले जनाएको छ।
काउन्सिल र राससको आयोजनामा आज रासस केन्द्रीय कार्यालयमा भएको पत्रकार आचारसंहिता जागरण अभियान-२०७४ कार्यक्रममा राससको ग्राहक नबनी समाचार प्रयोग गर्ने वा ग्राहक भएर पनि स्रोत उल्लेख नगरी समाचार दिने सञ्चार माध्यमको संस्कार पत्रकार आचारसंहिता अनुकूल नभएको बताइएको हो।
काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले भने, 'राससको समाचार, तस्वीर र श्रव्य सामग्री प्रयोग गर्ने तर स्रोत उल्लेख नगर्ने सञ्चारमाध्यमको वर्गीकरण मूल्याँकन गर्दा केही प्राप्ताङ्क घटाइनेछ।”
कार्यक्रममा राससका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्लेले रासस समाचारको अनधिकृत प्रयोग रोकिनुपर्ने र त्यसको अनुगमनमा काउन्सिलले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो। 'अनलाइन सञ्चारमाध्यमले राससका समाचारको स्रोत उल्लेख गरेको पाइन्छ तर, त्यही समाचार अर्को माध्यमले तलमाथि तोडमरोड गरेर प्रयोग गर्छ”– उनले भने, 'यस्तो कार्य रोक्न काउन्सिलले तदारुकताका अपनाउनुपर्छ । हामीले पटक पटक उजुरी दिएका छौँ।'
राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससका समाचारको अनधिकृत प्रयोगले व्यावसायिक पत्रकारितालाई प्रवद्र्धन नगर्ने बताउनुभयो । उहाँले ७५ प्रतिशत राससका समाचार अनधिकृतरुपमा प्रयोग गर्ने गरेको उल्लेख गर्दै काउन्सिलले त्यस्ता समाचार प्रयोग गर्नेलाई कारबाही गर्नुपर्ने धारणा राखे।
काउन्सिलका सदस्य चेतनाथ धमलाले स्रोत उल्लेख नगरी राससका समाचार प्रयोग गर्नु प्रतिलिपि अधिकार र बौद्धिक सम्पत्तिमाथिको अधिकारको पनि हनन भएको उल्लेख गरे।
काउन्सिलका सूचना अधिकारी दीपक खनालले पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढेको बताउँदै त्यसलाई नियन्त्रण गर्न काउन्सिल लागेको बताए। खनालका अनुसार आव २०७२/७३ मा १०२ र आव २०७३/७४ मा ११२ वटा आचारसंहिता उल्लंघनका घटना भएका छन्।
कार्यक्रममा राससका सञ्चालक समिति सदस्य गोविन्दसिंह भण्डारी र दयाराम दाहाल, प्रशासन शाखाका प्रमुख सोमनाथ लामिछाने, उपप्रमुख उत्तम सिलवाल, प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, नेपाल पत्रकार महासंघ रासस शाखाका अध्यक्ष नारायण घिमिरे, प्रेस चौतारी नेपाल, रासस शाखाका पूर्वअध्यक्ष प्रकाश सिलवाल लगायतले रासस समाचारको स्रोत र मुहान भएकाले यसको मान्यतालाई कायम राख्न सम्बन्धित निकाय र काउन्सिलको भूमिका हुनुपर्ने आवश्यकता औँल्याएको थियो। रासस