सुनहरि ननाची सिद्धियो नाच

  सुनहरि ननाची सिद्धियो नाच

बोडे : मध्यपुर थिमी नपा-८ बोडेका ७४ बर्से सुनहरि बालाले नाच्न नपाउँदै यस वर्षको नीलबाराही नाच सकिएको छ। भाद्र शुक्ल द्वितीयादेखि एक साता चल्ने नाचमा बालाले नरसिंहको मुकुन्डो लगाएर नाच्नुपर्ने थियो। उनी नाचको पोसाक र गरगहनामा सजिएर सातै दिन अखाः (नाच सिकाउने ठाउँ) मा बसे पनि शरीरले नसकेपछि उनी नाच्न सकेनन्। ०१५ सालमा नाच सिकेका बालाले एक वर्षपछि नरसिंह भएर नाचेका थिए। उनले ०१६ सालदेखि ०७३ सालसम्म ५७ वर्ष निरन्तर नाचेका थिए।

तर, उनीसँगै नाच्न थालेका १० जनाले भने यस वर्ष पनि नाचलाई निरन्तरता दिए। उनीहरूले यस वर्ष पनि देवगणमध्ये भैरव एक, बाराही तीन, गणेश एक, कुमारी दुई, नरसिंह दुई र द्वारपाल एकका रूपमा नाचे। १९ जना देवगणमध्ये बाराही र द्वारपाल एक/एक, गणेश तीन र कुमारी तथा बाराही दुई/दुई जना भने फेरिइसकेका छन्।

‘नमरेसम्म नाच्नुपर्छ'

नीलबाराही नाचमा एकपटक देवगण बनेर नाचेपछि नमरेसम्म नाच्नुपर्छ। उनका छोरा-नाति जवान भए पनि नाचमा बाबुबाजेको ठाउँ लिन पाइन्न।
नमरेसम्म नाचमा सहभागी भइरहनुपर्ने नियमले नाचमा युवा पुस्ता आकर्षित हुन नसकेको नाचका मुख्य गुरु कान्छा घो बताउँछन्। ‘देवगण बूढो भए भन्दैमा नाच छाड्न पाइँदैन', उनी भन्छन्, ‘नाच्न नसके अखाःमा बसेर भए पनि नाचका नियम पालन गर्नुपर्छ।'

उनका अनुसार नाचमा सहभागी हुँदा केही पनि खान हुँदैन। बोल्न र बस्नसमेत हुन्न। त्यसैले प्रत्येक देवगणलाई एक/एक जना ज्वकालु (सहयोगी) बस्नुपर्ने स्थानीय संस्कृतिकर्मी सजीव श्रेष्ठ बताउँछन्। उनका अनुसार मानसिक सन्तुलन बिग्रेमा पनि नाचमा सहभागी हुन पाउँदैन। ‘मानसिक सन्तुलन बिग्रेको निर्णय देवगणले गर्छ', श्रेष्ठ भन्छन्, ‘भागेर पनि पार पाउँदैन, खोजेर ल्याइन्छ।'

कुमारी देवगणका ज्वकालु पूर्ण तुछें श्रेष्ठका अनुसार ज्वकालुले देवगणको इसारा बुझेर उनले भनेका सबै काम पूरा गरिदिनुपर्छ। ज्वकालुले देवगणको इसाराअनुसार काम गर्ने मात्र होइन, उनको मुकुन्डो समाउने, जात्रालुलाई नमस्कार गर्न लगाउनेलगायत पथप्रदर्शकको काम गर्नुपर्ने उनी बताउँछन्।
यो नाच पाँचौं शताब्दीदेखि सुरु भएको मानिन्छ। बोडेको टिगनीमा रहेको नीलबाराहीले नै परापूर्वकालमा बोडेका नेवार (घों थरका) लाई चार दिनसम्म सिकाएर पठाएको जनविश्वासअनुसार नाच चल्दै आएको छ।

नीलबाराही देवीले नै सिकाएर पठाएका हुनाले नाचका नियम कडा र नाच्ने गणका सदस्यलाई पालना गर्न कठिन रहेको बताइन्छ। गत वर्ष केही युवा देवगणले नियम पालना नगर्दा नाच्नै नसकेको ज्वकालु तुछें श्रेष्ठ बताउँछन्। ‘नाच सिक्ने क्रममा देवगणले सुख्खा चिउरासँग लसुन र खुर्सानी मात्रै खानुपर्छ। केही युवा देवगणले अरू तरकारी पनि खाए', उनले भने, ‘तर प्रदर्शनका बेला नाच्न सकेनन्।' सुनहरिसँगै कुमारीको मुकुन्डो लगाएर नाच्नुपर्ने पुण्यकुमार किला पनि नाचमा सहभागी भएनन्। नाचमा सघाउने आफन्त नहुँदा उनी अखाःमा मुकुन्डो राखेर फरार भए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.