‘ए' डिभिजन लिग मंसिरमा
काठमाडौं : ‘ए' डिभिजन लिग फुटबल आगामी मंसिर १४ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको कार्यसमिति बैठकले तीन वर्षदेखि अवरुद्ध ‘ए' डिभिजन लिग मंसिरमा आयोजना गर्ने निर्णय गरेको हो । एन्फाको बैठकले एएफसी एसियन कप च्याम्पियनसिपको प्ले अफ खेल्नबाट वञ्चित भएबापत थ्रीस्टार क्लबलाई दिनुपर्ने क्षतिपूर्तिको विषयमा भने अझै ठोस निर्णय लिन सकेन ।
बैठकले थ्रीस्टारलाई दिनुपर्ने क्षतिपूर्तिको विषयमा थप छानबिन गरेर निर्णयमा पुग्नका लागि उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको छ । समितिमा एन्फाका सदस्य गणेशबहादुर चन्द र दिनेश व्यञ्जनकार छन् । समितिले १० दिनभित्र एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।
बैठकले एन्फाको विशेष साधारणसभा असोज २३ गते र चुनाव पुस २३ गते गर्नका लागि एसियाली फुटबल महासंघ (एएफसी)मा पत्राचार गर्ने निर्णय पनि गरेको छ । एन्फा पदाधिकारीको चारवर्षे कार्यकाल आगामी असोजमा सकिँदैछ । बैठकले एन्फाको दायित्व र आम्दानीको स्रोत जुटाउने लगायतका विषय साधारणसभामै छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।
एन्फाका प्रवक्ता इन्द्रमान तुलाधरले बैठममा थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नजिक पुगे पनि आवश्यक कानुनी प्रक्रिया र क्षतिपूर्तिबापत दिइने रकमको किस्ता निर्धारण गर्न बाँकी रहेको बताए । ‘थ्रीस्टारलाई डेढ करोड दिने सहमति भएको छ तर त्यसअघि थ्रीस्टारसँग उपाध्यक्ष कुँवरको समितिले छलफल गरेर अध्यक्षलाई प्रतिवेदन बुझाउनेछ । थ्रीस्टारलाई पनि के गर्दा राम्रो हुन्छ भनेर मौका दिन लागिएको हो । साधारणसभासम्म यसको अन्तिम टुंगो लाग्नेछ', उनले भने ।
यसैगरी बैठकले नेपालमा सेप्टेम्बर २० देखि २४ सम्म आयोजना हुने समूह ‘डी'को एएफसी यू-१६ च्याम्पियनसिप, सन् २०१९ मा आयोजना हुने एएफसी एसिया कप छनोट खेल, भुटानमा सन् २०१८ मा हुने यू-१८ साफ च्याम्पियनसिप, काजकिस्तानमा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप छनोट, एन्फा फुटसल लिग, इरानमा आयोजना हुने एएफसी फुटबल च्याम्पियनसिपमा नेपालको सहभागिता र त्यसका लागि आवश्यक पर्ने रकमको विषयमा पनि निर्णय गरेको छ ।
यसैगरी बैठकले काठमाडौं, नवलपरासी र मकवानपुरमा तीनवटा मिनी रंगशाला बनाउने र एएफसी विकास कार्यक्रमअन्तर्गत बंगलादेशमा आयोजना हुने एएफसी यू-१५ छात्रा च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ ।