ब्यारेजका सबै ढोका नखोल्दा उदयपुरमा पाँच सय घरपरिवार विस्थापित
गाईघाट: बाढीपहिरोका कारण उदयपुरमा करिब पाँच सय घरपरिवार विस्थापित भएका छन्। ७२ घन्टादेखिको लगातार वर्षाले घर-खेत डुबानमा परेपछि सबैभन्दा बढी असर बेलका र त्रियुगा नगरपालिकामा देखिएको छ।
बेलका वडा नम्बर २ को भागलपुर, त्रियुगा वडा नम्बर २ को खैजनपुर, ३ को मोतिगडा, हात्तीमारा र प्रभातटोल आसपासका स्थानीयवासी विस्थापित भएका हुन् । भागलपुरका करिब तीन सय घर सप्तकोसीको भँगालोले डुबाएको छ भने खैजनपुरका ६५, मोतिगडाका ४५, हात्तीमारा र प्रभातटोलका ५० भन्दा बढी परिवार विस्थापित भएको जनाइएको छ।
खैजनपुरमा बबिया, लुहाले र सुकनाही खोलाको बाढीपछि ६५ घर र स्थानीयको १५० बिघा खेतीयोग्य जमिन बालुवाले पुरेको र केही भाग कटान गर्दा ३ अर्बभन्दा बढीको क्षति भएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए।
विस्थापितलाई सम्बन्धित नगरपालिका, स्थानीय प्रशासन र जिल्ला दैवी प्रकोप उद्धार समितिले तत्काल उद्धार गरी विद्यालय, क्याम्पस र सार्वजनिक भवनमा राखेको छ। त्रियुगा नगर क्षेत्रका डुबानपीडितलाई त्रियुगा जनता बहुमुखी क्याम्पस, रामजानकी मावि र मोडर्न इन्स्टिच्युट अफ हेल्थ साइन्सको भवनमा राखिएको मेयर बलदेव चौधरीले बताए।
क्याम्पसमा ५०÷५५ जना, विद्यालय र इन्स्टिच्युटमा पनि उत्तिकै संख्यामा विस्थापितलाई राखिएको उनले सुनाए। विस्थापितलाई मेयर चौधरी नेतृत्वको टोलीले सोमबार खाद्यान्न, त्रिपाल, लत्ताकपडा वितरण गरेको छ । भागलपुर क्षेत्रका विस्थापितलाई विद्यालय र वन समूहहरूको भवनमा स्थानान्तरण गरिएको बेलकाका मेयर दुर्गाकुमार थापाले जानकारी दिए।
जिल्ला प्रहरी प्रमुख नवराज भट्टले विभिन्न ठाउँमा अविरल वर्षाका कारण अलपत्र परेका बटुवालाई पनि सुरक्षित स्थानमा सारिएको जानकारी दिए।
०००
'ब्यारेजका सबै ढोका नखोल्दा डुबान'
उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले सुनसरी र सप्तरीको सिमानामा रहेको सप्तकोसी ब्यारेजका सबै ढोका नखोल्दा भागलपुर क्षेत्र डुबानमा परेको बताएका छन्।
'कोसी ब्यारेजका सबै ढोका नखोल्नु नै यहाँका बासिन्दाका लागि अभिशाप हो', मेयर थापाले भने, 'विभिन्न खहरे खोलाबाट सप्तकोसीमा जाने पानी बग्न पाएको छैन, उल्टै फर्किएको छ, जसले गर्दा जनता विस्थापित भए।' उक्त ठाउँमा प्रत्येक वर्ष सप्तकोसीकै कारण डुबान हुने गरेको स्थानीयको भनाइ छ।