पत्रकार महासंघलाई रेडक्रसको सहयोग
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले १६ सय थान प्राथमिक उपचार र सरसफाइ किट नेपाल पत्रकार महासंघका सचिव घ्रुव लम्साललाई हस्तान्तरण गरेका छन् । पत्रकार महासंघको यही भदौ ४ र ५ गते काठमाडौंमा हुन लागेको केन्द्रीय महाधिवेशनका प्रतिनिधि एवं सहभागीलाई वितरण गर्ने उद्देश्यले उक्त किट उपलब्ध गराइएको हो ।
उक्त प्राथमिक उपचार तथा सरसफाइ किटको मूल्य प्रतिथान दुई सय १० रहेको नेपाल रेडक्रसका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । किटमा साबुन, दाँत माझ्ने मन्जन र ब्रस, मास्क, पानी शुद्धीकरण ट्याब्लेट, जीवनजल, हेन्डिप्लास्टलगायत सामग्री छन् ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थापाले पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सफलताको शुभकामना र सहयोगस्वरूप स्वास्थ्य किट उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्दै यसले दुई संस्थाबीच रहेको पारस्परिक सहयोग तथा आदानप्रदान थप बलियो हुने उल्लेख गरे ।
महासंघका सचिव लम्सालले नेपाल रेडक्रसले भूकम्पका बेला पनि पत्रकारका लागि त्रिपाल उपलब्ध गराई गुन लगाएको स्मरण गर्दै रेडक्रसबाट प्राप्त यी किट महाधिवेशन प्रतिनिधिसम्म पुर्याइने प्रतिबद्धता व्यक्त गरे ।