संकतग्रस्त क्षेत्र घोषणा माग
राजविराज : जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । बैठकले सप्तरीमा ठूलो मात्रामा क्षति भएकोले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न समेत सरकारसँग माग गरेको हो ।
चार दिनअघि मृत्यु भएका तिलाठी कोइलाडी ४ का आठ वर्षीय कमलु सदाको बाढीबाट मृत्यु भएको निष्कर्ष निकाल्दै संकटग्रस्त क्षेत्र घोषणाको माग गरिएको हो । समितिका अध्यक्ष भागिरथ पाण्डेयको अध्यक्षतामा बसेको वैठकले सो निर्णय गरेको हो । बाढीबाट भिजेर थप बिरामी भई उपचार अभावमा बालकको गत आइतबार मृत्यु भएको थियो ।
त्यसअघि गत बिहीबार खाँडो खोलाले भत्काएको राजबिराज नगरपालिका १५ देउरी भरुवास्थित पश्चिमतर्फको बाँधको डिल बाँध्ने क्रममा स्थानीय ६० वर्षीय डोमी यादवलाई पानीको भेलले बेपत्ता बनाएको थियो ।
विश्व खाद्य कार्यक्रमलगायत सहयोगी संस्थालाई सहयोगका लागि आह्वान गर्दै बैठकले बाढीले प्रभावित क्षेत्रमा विभिन्न संघ संस्था तथा व्यक्तिले वितरण गर्ने राहतलाई व्यवस्थित गर्न एकद्धार प्रणाली लागू गर्ने भएको छ ।
राहत वितरण गर्न आउने व्यक्ति र संघ संस्थालाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सम्पर्क गरी मात्र राहत वितरण गर्न आग्रह गरेको छ । स्थानीय निकायका कार्यकारी अधिकृत वा सचिवको संयोजकत्वमा गठित समूहले यथाशीघ्र तथ्यांक संकलन गर्नुका साथै माथिल्लो निकायमा बजेट माग गरी काम अघि बढाउन र विषयगत कार्यालयहरुलाई आ-आफ्नो क्षेत्रमा कर्मचारी खटाउन बैठकले निर्देशन गरेको छ ।