संशोधन प्रस्तावमा एमाले पनि सहमत: मन्त्री बलायर
हेटौंडा: भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तत्काल मधेशको मुद्दालाई निकास दिन संविधान संशोधन गर्नेतर्फ प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई सहमत गराएको बताएका छन्।
उनले नेपाली कांग्रेस, मकवानपुरद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई विहीबार बिहान सम्बोधन गर्दै आगामी मंसिर महिनाभित्रै प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउनेतर्फ सरकार कटिबद्ध भई अघि बढेको उल्लेख गरे। कांग्रेस कार्यकर्ताले कुनै गुटउपगुटमा नलागी जनताको घरदैलोमा पुगेको उनकाे भनाइ थियाे।
मन्त्री बलायरले राष्ट्रलाई संकट पर्दा प्रमुख प्रतिपक्षले पनि आफ्नो दलगत स्वार्थलाई त्यागेर राष्ट्रवादी भावना व्यवहारमा पनि देखिनुपर्ने स्पष्ट पारे।
सो कार्यक्रममा कांग्रेस, मकवानपुरका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद लामिछाने र कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जिल्लामा भइरहेका विकास निर्माणको गतिविधि र पार्टी संगठनलाई चुस्त बनाउन जिल्ला समितिले गरेको निर्णयलाई जनताको घरदैलोमा पुर्याउन कार्यकर्ता एकजुट हुनुपर्ने धारणा व्यक्त गरे। रासस