बबई नदीमा छिट्टै तटवन्धन–देउवा
बर्दिया : प्रधानमन्त्री शेरबहादुर देउवाले बबई नदीमा छिट्टै तटबन्धन गरिने प्रतिवद्वता व्यक्त गरेका छन्। बबईमा बर्षेनी बाढीबाट पीडित बन्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि तटवन्धन गरिने विस्वास दिलाए।
बबई नदीको वाढीबाट विस्थापित बनेका बर्दियाका बाढीपिडितलाई खाद्यान्न वितरण गर्न बर्दिया आएका देउवाले बबई नदीमा तटबन्धन गर्ने सरकारको प्राथमिकतामा रहेको बताएका हुन्। उनले मृतकका परिवारलाई दुईलाखका दरले रकम उपलब्ध गराइने पनि जानकारी दिए। राहत र सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने बताउँदै बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले भने,‘बाढीमा राहत र उद्धारमा संलग्न हुनु भएका सुरक्षाकर्मी लगायत स्वयंसेवकलाई धन्यवाद दिन चाहान्छु' उनले भने।
घाइते तथा अपाङ्गलाई पनि राहत उपलब्ध गराइने प्रधानमन्त्रीको भनाई थियो। पूर्ण र आशिंक क्षती भएका घरलाई मर्मत र निर्माणका लागि रकम उपलब्ध गराइने बताउँदै देउवाले थपे,‘बाढी पीडितको सहयोगको लागि सरकारले पूरा प्रयास गर्छ।'
प्रधानमन्त्रीले भने,‘हामीले अस्थायी शिविरमा बस्दै आएकालाई खाद्यान्न र त्रिपालको पूर्ण व्यवस्था गर्छौ।' बाढीका कारण हुनसक्ने सम्भावित महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिई सकेको उनले बताए। प्रधानमन्त्री देउवाले आपूर्ति मन्त्रालय अन्र्तगतको प्रारम्भीक राहत लगायतको खाद्यान्न चामल गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवलाई हस्तान्तरण गरेका थिए।
प्रधानमन्त्रीको साथमा सिँचाई मन्त्री संजय गौतम पनि आएका छन्। बाँकेको फत्तेपुर अवलोकन गरी बर्दिया आएका प्रधानमन्त्रीको टोली कैलाली पुगी काठमांडौ फर्कने कार्यक्रम रहेको जनाइएको छ।