मरेका पशुपंक्षी नहटाइँदा महामारीकाे डर

मरेका पशुपंक्षी नहटाइँदा महामारीकाे डर

विराटनगर: विराटनगर ४ पुलचौकका खटर उराउ बिहीबार नाक थुनेर आफ्नो बिरामी छोराको स्याहार गरिरहेका थिए। ज्वरोले थलिएका ३ वर्षीय छोरा निश्चलको स्याहारमा खटिएका उनी वरपरबाट आउने दुर्गन्धले हैरान भएको गुनासो गरिरहेका थिए।

‘गत शनिबार र आइतबारको बाढीले बगाएर ल्याएका मरेका पुश पक्षी कुहिएर सबैतिर दुर्गन्ध फैलिएको छ,' उनले भने, ‘दुर्गन्ध खप्न नसकेर धेरै जना बिरामी परिसकेका छन।' बाढीको पीडासंगै कुहिएका चौपायाको दुर्गन्धले वरपर बसिनसक्नु भएको उनले बताए। दुर्गन्ध फैलिएर धेरै जना बिरामी हुँदा सम्म पनि बाढीमा परेर मरेका चौपाया व्यवस्थापन गर्नेतर्फ कसैको ध्यान जान नसकेको उराउको गुनासो छ।

विराटनगर ४ कै ३५ वर्षीय यशोदा खड्का पनि नाक थुनेर सुतिरहेकी थिइन्। बाढीपछि ज्वरोले थलिएकी उनले मरेको चौपाया कुहिएर फैलिएको दुर्गन्ध खप्न नसकेर तीन दिनदेखि नाकमा रुमाल बाँधेर बस्नु परिहेको बताइन। ‘त्यही दुर्गन्ध खप्न नसकेर म बिरामी परें,' उनले भनिन्, ‘अरु पनि धेरै जना बिरामी परेर थलिएका छन्।' उनका अनुसार बाढीपछि शुद्ध पिउने पानी र स्वस्थ्य खानाको अभाव एवं मरेका चौपायाको दुर्गन्धका कारण बाढी पीडितहरु बिरामी पर्ने क्रम बढेर गएको छ।

बाढीले गाई गोरु, सुँगुर, बाख्रा, खसी, कुखुरा लगायतका पशुपंक्षी बगाएर ल्याएको छ। मरेका पशु पक्षी हटाउनेतर्फ कसैको ध्यान जान नसक्दा कुहिएर दुर्गन्ध फैलँदा बाढीबाट विस्थापित भएकाहरु र स्थानीय बासिन्दा बिरामी पर्न थालेको खड्काले बताइन्। उनका अनुसार बाढीमा परेर कुहिएका चामल, गहुँ, तरकारी लगायतका सामान पनि जथाभावी फ्यालेका कारण वरपर धेरै दुर्गन्ध फैलिएको छ।

स्थानीय श्यामनारायण यादव बाढीले बगाएर ल्याएका मरेका चौपाया कुहिएर फैलिएको दुर्गन्धले महामारी फैलन थालेको बताए। ‘बाढीले बगाएर ल्याएका पशुपंक्षीको दुर्गन्ध बाढी प्रभावित क्षेत्रमा फैलिएको छ,' उनले भने, ‘त्यसलाई हटाउनका लागि कहींकतैबाट पनि पहल नहुँदा झाडापखाला, ज्वरो र रुघाखोकीको समस्या थपिएको छ।' यादवले तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएकाहरु अहिले कुहिएका चौपायको दुर्गन्धको पीडामा रहेको बताए।

‘बाढीले दिएको पीडा त छँदैछ,' उनले भने, ‘दुर्गन्धले पीडितहरुमा महामारी फैलन थालेको छ।' यादवले विशेष गरेर विस्थापित भएपछि खोलाको छेउ, खुल्ला ठाउँ र नहरको डिलमा बसोबास गर्दै आएकाहरु दुर्गन्धको चपेटामा परेर बिरामी हुन थालेको बताए। ‘दुर्गन्ध खप्न नसकेर स्थानीय बासिन्दाले बासस्थान नै छाड्नु पर्ने अवस्था आएको छ,' उनले भने, ‘बाढीबाट प्रभावित भएकाहरु धमाधम बिरामी पर्न थालेका छन्।'

प्रहरीका अनुसार बाढीबाट मोरङमा आठ हजार पाँच सय घर डुबानमा परेका छन्। बाढीले ६० घर बगाएको छ। १७ जनाको मृत्यु भएको छ। तीन हजार दुई सय एक घरका ११ हजार चार सय २० जना विस्थापित भएका छन्। विस्थापितहरु खुल्ला चउर, खोलाको छेउ, नहरको डिल, सार्वजनिक स्थल, विद्यालय र सामुदायिक भवनमा कष्कर रुपमा समय काटिरहेका छन्।

बाढीले बगाएर ल्याएका पुशपंक्षी कुहिएर फैलिएको दुर्गन्धले महामारीको रुप लिन थालेको चिकित्कसहरुले बताएका छन्। ‘कुहिएका पशुपंक्षीको दुर्गन्धले विशेष गरेर बालबालिका, महिला र बृद्धबृद्धादेखि सबैमा असर गरिरहेको छ,' कोसी अञ्चल अस्पताल विराटनगरका बरिष्ठ बाल रोग विशेषज्ञ डा. विमल अग्रवालले भने, ‘त्यस्ता चिजलाई तत्काल व्यवस्थापन गर्न नसकिए ठूलो समस्या निम्तन्छ।' बेलैमा होस पुर्याएर कुहिएका पशु पक्षीको व्यवस्थान गर्न सकिऐ महामारीको खतरा टर्ने उनले बताए।

अग्रवालका अनुसार शुद्ध पिउने पानी र खानेकुराको अभाव भइरहेका बेला दुर्गन्धले बाढी पीडितहरुमा महामारी फैलन थालेको र धेरै जना बिरामी भएर आउन थालेका छन्। बिरामी भएर दैनिक ५० बढी बाढी पीडित बालबालिका उपचारका लागि आउने गरेको बताउँदै उनले भने, ‘यो महामारीको सुरुवाती चरण हो। यसले ठूलो रुप लियो भने धेरैले अकालमा ज्यान गुमाउनु पर्ने हुन सक्छ।'

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पुश पक्षीको दुर्गन्धले फैलन सक्ने महामारी प्रति सचेत रहन सबैमा आग्रह गर्दै कुहिएका वस्तु तत्काल हटाउन सम्बन्धीत निकायहरुलाई निर्देशन दिएका छन्। मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले कुहिएका पशु पक्षीको व्यवस्थापनका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बताए।

‘मोरङ भरी बाढीले बगाएर ल्याएका पाँच हजार पाँच सय बढी पशु पक्षीहरु गाडीसकिएको छ,' उनले भने, ‘अरु ठाउँमा रहेका पनि खोजेर गाड्ने काम भइरहेको छ ।' स्थानीय बासिन्दा र बाढी पीडितहरुले दिएको जानकारीका आधारमा कुहिएर दुर्गन्ध फैलिएका पशु पक्षी हटाउने र गाड्ने काम भइरहेको एसपी बिसीले बताए ।

संक्रमण र महामारीलाई रोक्न जिल्ला जनस्वास्थ्य कार्यालयले पनि उच्च सतर्कता अपनाइएको जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले बाढी प्रभावित क्षेत्रमा दुर्गन्धका कारण फैलन थालेको महामारी रोक्नका लागि औषधि सहितको चिकित्सक टोली परिचालन गरिसकिएको बताए।

‘बाढीका कारण विस्थापित भएकाहरु बिरामी पर्न थालेपछि उपचारको व्यवस्था गर्ने गरी स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ,' उनले भने, ‘सबै ठाउँका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई समेत तयारी अवस्थामा राखिएको छ।' विस्थापित बसेका ठाउँमा मोवाइल हेल्थ क्याम्पको व्यवस्था गरिएको बताउँदै उनले भने, ‘विस्थापितमा कुनै त्यस्तो जटिल स्वास्थ्य समस्या देखा पर्यो भने उद्धार गरेर उपचारका लागि ठूला स्वास्थ्य संस्थामा लैजानका लागि ‘र्यापीड रेस्पोन्स टिम' तयारी अवस्थामा छ।' मोरङका विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य सेवा र विस्थापितहरु बसेकै ठाउँमा स्वास्थ्य शिविरहरु संचालन गरिएको उनले बताए। 

मेहताले कुहिएका चौपाय लगायत पशु पक्षी तत्काल नहटाउने हो भने विभिन्न रोगको महामारीले ठूलो रुप लिने बताए। विस्थापित भएकाहरू मध्ये धेरै बालवालिकाहरूमा ज्वरो, झाडापखाला, छालाको संक्रमण देखिन थालेको मेहताले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.