पैरेवेशीको वस्ती हटाइयो
नुवाकोट: पहिरोको कारण रसुवाको दक्षिणी भेगमा रहेको पैरेवेशी बस्ती मानवविहीन वनाइएको छ। दुई साता अगाडि गएको पहिरोले रसुवाको उत्तरगया गाउँपालिका पैरेवेशीका ४० घरपरिवार विस्थापित भएपछि त्यहाँ रहेका सबै बस्ती नै खाली गरिएको हो।
गत साउन २२ गते आइतवार रातिको पहिरोमा परेर पैरेबेंसीमा भीषण पहिरो गएको थियो। अहिले उनीहरुलाई नुवाकोटको किस्पाङ गाउँपालिका शन्तिवजार नजिकै रहेको निर्माणाधीन माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत आयोजनाको कोलोनीमा सारिएको छ। पैरेवेशीका ४० घरपरिवार सारिएपछि अहिले गाउँ नै बस्तीविहीन भएको उत्तरगया गापा अध्यक्ष उपेन्द्र लम्सालले वताए। अहिले उक्त गाउँमा चौपायाबाहेक अरु कोही छैनन्।
निर्माणाधीन माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत आयोजनाको कोलोनीमा पहिरो पीडित पैरेवेशीका ४० घरका दुई सय जना, कुवापानी, रावलस्वारा, ढकालटोल, भोगटेघारीकासमेत गरि एकसय २१ घरपरिवारका तीनसय चार जना बसिरहेका छन्।
पहिरो पीडितहरुलाई ६ वटा भवनमा राखिएको छ। पहिरोमा परेर रसुवाको पैरेवेशीमा एकै घरका चार जनाको मृत्यु भएको थियो भने ११ घर पहिरोले पुर्नका साथै ४० घर परिवार पूर्ण रुपमा विस्थापित भएका थिए।