हनुमान ढोका दरवार र तलेजु मन्दिर पुनर्निर्माणमा जापानको चासो
काठमाडौंः जापानले भूकम्पका कारण क्षतिग्रस्त काठमाण्डौको हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माणमा बिशेष चासो देखाएको छ।
बिहीबार सिंहदरवारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलसँगको भेटवार्तामा नेपालका लागि जापानी राजदूत मासाचि ओगावाले ऐतिहासिक सम्पदाका रुपमा रहेका हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरलाई तीव्रताका साथ पुनर्निर्माण गर्नेबारे छलफल गरेका हुन्।
राजदूत ओगावाले ती सम्पदा पुनर्निर्माणलाई तीव्रता दिन आवश्यक पर्ने बजेटलाई द्रूत प्रक्रियाबाट खर्च गर्नेबारे प्राधिकरणका सिइओ पोखरेलसँग जिज्ञासा राखेका थिए। सो क्रममा सिइओ पोखरेलले अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गरेर जापानले दिने भनिएको सहयोगलाई द्रूत प्रक्रियाबाट सम्पदा पुनर्निर्माणमा खर्चे गर्ने गरी आवश्यक कार्यविधि बनाउन सकिने जानकारी गराए।
भेटमा राजदुत ओगावाले सिंहदरवारको पश्चिमी मोहडातर्फको भागको प्रवलीकरण तथा पुनर्निर्माणमा भइरहेको प्रगतिबारे चासो राख्दै आवश्यक परे आपूmहरु पनि सहयोग गर्न इच्छुक रहेको बताए।