नयाँ क्षेत्रमा करिअर
इभेन्ट म्यानेजमेन्ट विश्वमा स्थापित व्यवसाय हो । तर, यो व्यवसाय निकै चुनौतीपूर्ण मानिन्छ । नेपालमा पनि पछिल्लो समय यस क्षेत्रबाट भविष्य खोज्नेहरू देखिन थालेका छन् । अmझ रमाइलो पक्ष महिला पनि इभेन्ट म्यानेजमेन्टमा आकर्षित हुन थालेका छन् । कोही फेसन सो, कोही सौन्दर्य प्रतियोगिता त कोही कन्सर्ट, प्रदर्शनी एवं महोत्सव आयोजना तथा व्यवस्थापनमा समेत लागिपरेका छन् ।
१४ वर्षदेखि इभेन्ट म्यानेजमेन्टमा क्रियाशील हेमा मानन्धर यस क्षेत्रमा चिनिएको नाम हो । पर्यटकीय नगरी पोखरामा सन् २००३ मा पहिलोपटक किड क्विन पोखरा आयोजना तथा व्यवस्थापन गरी उनले यो क्षेत्रमा हात हालेकी हुन् । त्यसपछि विराटनगर, वीरगन्ज, नारायणगढ, धरान हुँदै काठमाडौं आएपछि यो पेसालाई उनले व्यावसायिक रूपमा अँगालेकी हुन् । उनले नेप्लिज फेसन होममार्फत मिस टिन शेर्पा, मिस टिन गुरुङ, मिस नेवाःजस्ता सौन्दर्य प्रतियोगिता सञ्चालन गर्दै आएकी छन् ।
उनको अनुभवमा नेपाल भाषा, संस्कृति र संस्कारमा सम्पन्न देश भए पनि नयाँ पुस्ताको झुकाव विदेशी भाषा एवं संस्कृतिमा बढ्दै गएकाले यस्ता प्रतियोगितामार्फत उनीहरूलाई मौलिकताका पक्षमा प्रेरित गर्न सकिन्छ । यस्ता कार्यक्रममार्फत नयाँ प्रतिभाको आत्मविश्वास बढ्नुका साथै उनीहरूमा नेतृत्वदायी क्षमताको विकास पनि हुन्छ । हिजोको तुलनामा आजका बालबालिका अझै प्रतिभाशाली भएको उनको अनुभव छ । यस्ता कार्यक्रमबाट कोरियोग्राफर, साउन्ड सिस्टम, एमसी, स्टेज निर्माण, फ्लेक्स प्रिन्ट आदिलाई फाइदा भए पनि आयोजकलाई भने खासै फाइदा नहुने उनी बताउँछिन । 'एक दिन खोलामा बाढी आएजस्तो हुन्छ, भोलिपल्ट हात खाली हुन्छ', हेमाले भनिन् ।
पेसाले गायिका र रेकर्डिङ स्टुडियो सञ्चालक हुन्, चन्दा घिसिङ । उनको पहिलो एकल एल्बम 'मंगोलियन गर्ल'मा समेटिएको 'झुम्का गिर्यो रे' बोलको गीतले युट्युबमा ३२ लाखभन्दा बढी भ्युवर्स पाएको छ । युट्युबमा यति धेरै भ्युवर्स पाउने थोरै नेपाली पपगीतमा यो गीत पनि पर्छ । अहिले नयाँ एल्बमको तयारीमा जुटेकी गायिका चन्दा 'पार्ट टाइम जब'का रूपमा इभेन्ट म्यानेजमेन्ट पनि गर्छिन् । एक्सन इन्टरटेनमेन्टअन्तर्गत उनले सन् २००९ देखि मिस मंगोल नेपाल, मिस लिटिल आइडलजस्ता कार्यक्रम आयोजना गर्दै आएकी छन् ।
थोरै तर स्तरीय कार्यक्रम आयोजना गर्दै आएकी उनी आगामी वर्ष दुईवटा नयाँ कार्यक्रम थप गर्ने योजनामा छिन् । 'एक्सन इन्टरटेनमेन्टको ब्यानरमा हुने प्रतियोगिताको विशेषता भव्यता हो', उनले भनिन् । प्रतियोगिताको स्तरीयता र पारदर्शिताकै कारण मिस लिटिल आइडलमा गत वर्षदेखि प्याब्सन काठमाडौंले सहकार्य सुरु गरेको छ । यस वर्षको यो प्रतियोगिता भदौ १० गते राजधानीमा आयोजना हुँदैछ ।
मिडिया ल्यान्ड नामक संस्थामार्फत सात वर्षदेखि मिडियासँग सम्बन्धित काम गर्दै आएकी छन् प्रतिमा श्रेष्ठ । यस संस्थामार्फत उनले 'सुल्तान अफ द स्ट्रिङ ः अनिल शाही' नामक गितार कन्सर्ट समेत गरेकी छन् । त्यसैगरी स्कुले विद्यार्थीका लागि चाइल्ड आइकन र जुनियर ब्याटल नामक दुई सौन्दर्य प्रतियोगिता सञ्चालन गर्दै आएकी उनी हरेक बालबालिकामा कुनै न कुनै प्रतिभा हुने भएकाले प्रतिभालाई उजागरका लागि कार्यक्रम आयोजना गर्दै आएको बताउँछिन् । उनले आयोजना गरेका प्रतियोगिताका विजेताले बुल्गेरिया एवं टर्कीमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई जितेर आएका छन् ।
पछिल्लो समय इभेन्ट म्यानेजमेन्टमा लागेकी अर्की महिला हुन् अनिला श्रेष्ठ । विगत १२ वर्षदेखि विभिन्न कार्यक्रममा कोरियोग्राफी गर्दै आएकी उनी पनि कार्यक्रम व्यवस्थापनमा लागेकी हुन् । ग्रिन आर्ट मिडियामार्फत कलेज एम्बासडर, लिटिल स्टार, हेरिटेज पेजेन्ट र मिस इको इन्टरनेसनल आयोजना तथा व्यावस्थापन गर्दै आएकी उनी आफ्नो कार्यक्रममा आफैं कोरियोग्राफी गर्ने गर्छिन् । मिस इको इन्टरनेसनलकी विजेता रोनाली अमात्यले हालै इजिप्टमा भएको एक प्रतियोगितामा 'मिस कन्जुआनिलिटी' उपाधि हात पारेकी छन् ।
त्यसैगरी हेरिटेज पेजेन्ट विजेताले पनि श्रीलंकामा आयोजित कार्यक्रममा सहभागी भई पिस एम्बासेडर, इन्भाइरोमेन्ट एम्बासेडर र कल्चरल एम्बासडर उपाधि जितेका छन् । धेरै कार्यक्रममा घाटानाफाको हिसाब नगरी नामकै लागि निरन्तरता दिने गरेको अनिलाको भनाइ छ । दस वर्षपहिले कार्यक्रम गर्दा प्रतियोगी खोजीखोजी आउने गरे पनि अहिले अवस्था उल्टो भएको उनको भोगाइ छ । यद्यपि राम्रो काम गरेर ब्रान्ड बनाइसकेपछि सानातिना अप्ठ्यारा आए पनि टिकाउकै समस्या भने नपर्ने उनले बताइन् ।
कार्यक्रम आयोजना तथा व्यवस्थापनमा लागेकी अर्की कोरियोग्राफर हुन् रोहिया महर्जन । 'पैसा भनेको कहिले धेरै त कहिले थोरै, तर यो मेरो सोख र व्यवसाय दुवै भएकाले यसमा सन्तुष्ट छु', उनले भनिन् । विगत १५ वर्षदेखि कोरियोग्राफी गर्दै आएकी रोहियाले आफ्नो संस्था नेपाल डान्स एकेडेमीमार्फत विभिन्न नृत्यका कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । यही शनिबार आयोजना गर्ने होप नामक कार्यक्रममार्फत आफ्नो बाबुलाई कलेजो दान दिने सरिता महर्जनका लागि बुटिक स्थापना गर्न कोष जम्मा गरिने उनले जानकारी दिइन् । उनको एकेडेमीले बेलाबेलामा भारत, कोरियालगायत विभिन्न देशबाट विज्ञ बोलाएर नृत्य प्रशिक्षणसमेत दिने गरेको छ ।
सन् २००५ मा मिस तामाङ प्रतियोगितामा भाग लिएर उत्कृष्ट पाँचमा पुगेकी रञ्जिता लामा पनि इभेन्ट म्यानेजमेन्टमा चिनिएको नाम हो । एभरेस्ट फेसन होममार्फत मिस नेसनल, मिस तामाङ र मिस टिन वल्र्ड नेपालजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । असोज ५ मा हुने मिस टिन वल्र्ड नेपालको तयारीमा जुटेकी उनले डेढ दर्जनभन्दा बढी तामाङ भाषी चलचित्रमा अभिनय पनि गरेकी छन् । इभेन्ट गरेर पैसा नकमाए पनि कार्यक्रमलाई निरन्तरता दिन पुग्ने उनको भनाई छ । कार्यक्रममा सहभागी भएर जित हासिल गर्नेहरू खुसी भएर गए पनि नजित्नेहरूले रिसाएर अनेकौं गाली र आक्रोश पोख्ने प्रवृत्तिप्रति उनलाई दुःख लाग्छ ।
अमेजोन इन्टरटेनमेन्टकी हिमानी सुब्बा अहिले मिसेस नेपाल आइडलको तयारीमा जुटेकी छन् । यस प्रतियोगितामा विभिन्न जिल्ला र पेसामा आबद्ध महिला सहभागी छन् । युवतीकेन्द्रित कार्यक्रम धेरै भए पनि विवाहिता महिला केन्द्रित कार्यक्रम नभएकाले सौन्दर्य प्रतियोगितामार्फत महिला सशक्तीकरणको अभियानमा टेवा पुर्याउने उद्देश्यले मिसेस केन्द्रित कार्यक्रम गरेको उनले बताइन् । उनको संस्थाले मिसेस मंगोल नेपाल, मिसेस हिमालयन नेपाललगायत वर्षमा १२ वटा कार्यक्रम गर्ने गरेको छ । मोफसलमा उनले मिस एन्ड मिसेस धादिङ, मिस एन्ड मिसेस लमजुङ, मिस एन्ड मिस काभ्रे र मिसेस पूर्वाञ्चल आयोजना गर्दै आएकी छन् ।