९६ वर्षमा नागरिकता
मंगलसेन : उनी सय वर्ष उमेर पुग्न चार वर्ष बाँकी छ । उनी अर्थात् बान्नीगढी जयगढ गाउँपालिका-३, बर्दादेपीको बेलपाटाकी ९६ वर्षीया हंसदेवी थापाले भर्खरै मात्र नेपाली नागरिकता प्राप्त गरेकी छन् ।
जिल्ला प्रशासन कार्यालयले जयगढमै नागरिकता शिविर सञ्चालन गरेपछि हंसदेवीले यो उमेरमा नागरिकता पाएकी हुन् । सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर काउचाले उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरे । ‘युवा अवस्थामा नागरिकता बनाउन काम नै परेन, वृद्धावस्थामा सदरमुकाम जान सकिएन', हंसदेवीले भनिन्, ‘आफ्नै गाउँमा नागरिकता टोली आएपछि छोरा-नातिले बोकेर ल्याए अनि नागरिकता पाएँ ।'
१९७८ भदौ १० गते जन्मिएकी उनका तीन छोरा र दुई दुई छोरी छन् । जयगढमा सञ्चालित शिविरबाट एक सय १५ महिला र ३२ पुरुष गरीले नागरिकता लिएको सहायक प्रजिअ काउचाले जानकारी दिए । यसअघि मेल्लेख गाउँपालिकामा दुई दिन सञ्चालित शिविरमा पनि पाँच सय ३८ जनाले नागरिकता लिएका थिए । मेल्लेखअघि दुई दिन साँफेबगरमा सञ्चालित शिविरमा पाँच सय ८४ जनाले नागरिकता लिए ।
शिविरबाट नागरिकता लिनेमा पुरुषभन्दा महिलाको संख्या बढी देखिएको छ । ग्रामीण क्षेत्रमा अत्यावश्यक काम परेकाबाहेक अन्यले नागरिकता बनाउन चासो दिने गरेको पाइँदैन । सामाजिक सुरक्षा भत्ताका लागि वृद्धावस्थामा नागरिकता बनाउन थालेपछि शिविरमा महिलाको संख्या बढी रहेको नागरिकता वितरण टोलीमा संलग्न कर्मचारी बताउँछन् ।