मै चेली अभागी, कसको माइत जाऊँ ..

मै चेली अभागी, कसको माइत जाऊँ ..

‘तीजै आयो भन्छन्, सबै माइत जान्छन् 
मै चेली अभागी, कसको माइत जाऊँ ...’ 
हरेक वर्षको तीजमा कृष्णकुमारी मिश्र (८९) लाई माइती शब्द पीडा बनेर आउँछ । अनि, उनी धेरै वर्ष पुरानो यही तीजको भाकाबाट मन बहलाउँछिन् । श्रीमान्ले खान, बस्न नदिएपछि भोको पेट लिएर उनी माइत गइन् । उमेर छँदा माइतमै चुलोचौका र मेलापात सबै भ्याइन् । माइतको आँंगनमा ऊर्जाशील जिन्दगी बित्यो । जब काम गर्न नसक्ने अवस्थामा पुगिन्, तब ‘प्यारो माइती’ले नै उनलाई पशुपति वृद्धाश्रममा पुर्‍यायो । भनिन्छ, विवाहित चेलीलाई माइतीको कुकुर पनि प्यारो हुन्छ । बाआमा, दाजुभाइ, दिदीबहिनीसँग तीजमा हुने जमघटबाट चेलीलाई संसारकै खुशी मिल्छ । तर, कृष्णकुमारीका लागि माइती नै बिरानो भएको छ । आमासँंग तीजमा पानीसमेत नखाएर निराहार ब्रत बसेको उनलाई अझै झलझली याद आउँछ । भन्छिन्, ‘रातो साडी लगाएर मन्दिरमा तीजको नाचगान गरेको भाका कहाँ बिर्सिन सकिन्छ र ?’

काठमाडौं बानेश्वरकी लक्ष्मीदेवी थापा (८५) ले सानै उमेरदेखि जीवनका धेरै वर्ष अर्काको घरमा काम गरेर बिताइन् । उनलाई बाआमा र दाजुबहिनीको कुनै सम्झना छैन । जहाँ–जहाँ काम गरिन्, त्यहीँ मीठो दर खाइन् । जीवनको उत्तराद्र्धमा माग्दै हिँडेको बेला केशव नामका व्यक्तिले पशुपति वृद्धाश्रममा बस्ने चाँजोपाँजो मिलाइदिए । यही वृद्धाश्रम उनका लागि डेढ दशकदेखि सहारा बनेको छ । उनी एकल महिला भत्ता दुई हजार र कुनै मनकारीले दिएको पैंसाले गुुजारा चलाउँंदै आएकी छन् । आश्रममा आफैँ खाना पकाउँंछिन् । पशुपति वृद्धाश्रमले तीजको अघिल्लो दिन दर खुवाउँछ । ‘यस्ता कार्यक्रमले आफूलाई खासै रमाइलो लाग्दैन,’ उनले अनुभव सुनाइन् ।

teej2

तीन वर्षदेखि वृद्धाश्रममा आश्रय लिइरहेकी चित्रकुमारी अधिकारी (७२) लाई तीजको कुनै मतलब हुँदैन । परिवारसँंग बस्न नपाएर खाएको दरको पनि अर्थ लाग्दैन रे । ‘सबैलाई खुवाइन्थ्यो । आफू पनि खाइन्थ्यो । कति रमाइला थिए, ती दिन,’ उनले विगत सम्झिन्, ‘हामीजस्ता गरिब, दुःखी र अशक्तलाई चाडवाडले छुँदो रहेनछ ।’ ‘नाडीभरि राता चुरा, रातै साडी लगाएर बिहानै मन्दिर गई पूजापाठपछि नाचगान गरिन्थ्यो । साह्रै रमाइलो हुन्थ्यो,’ यसो भनिरहँदा उनी भक्कानिन्छिन्, ‘एक्ली भएपछि छोराबुहारीले हेप्दा रहेछन् । बुढेसकालमा आफ्नो भन्ने कोही हुँंदोरहेनछ ।’ तीन सन्तानकी आमा चित्रकुमारी श्रीमान्को मृत्युपछि एक्लो जीवन बिताउन वृद्धाश्रममा सहारा लिन पुगिन् ।

सीता कार्की (७०) को कथा सुन्दा त जोकोहीको आङ सिरिङ हुन्छ । तीजमा विवाहिताहरू श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै र अविवाहिताहरू असल र सुयोग्य वरका लागि निराहार ब्रत बस्छन् । तिनै नारी श्रीमान्बाट अपहेलित हुन्छन् भन्ने उदाहरण हुन्, सीता । दुई सन्तानकी आमा उनीमाथि श्रीमान्ले चार वटी सौता भिœयाएपछि माइतीमै बस्न थालिन् । बाआमाको मृत्युपछि उनको बसाइ मावलीमा सर्‍यो । भाइबुहारीसँंग बस्न थालिन् । बुढेसकालमा भाइबुहारीबाट पनि अहपेलित भइन् । सीताकी आमाको इच्छाबमोजिम छोरीले थप दुःख नपाओस् भनेर पशुपति वृद्धाश्रम लैजानु भनेकाले भाइ (मामाका छोरा) ले वृद्धाश्रममा छोडेका रहेछन् ।

महोत्तरी घर बताउने कार्कीले उमेर छँदा तीजमा साथीसँंगीसँंग रमाइलो गरिन् । दरमा खीर, दही चिउरा, सेलरोटी खान खुबै मन पथ्र्यो । अहिले चार वर्षदेखि वृद्धाश्रम उनको साथी बनेको छ । उनले तीजको ब्रतबारे भनिन्, ‘उमेर छँदा र श्रीमान् साथमा हुँंदा संसारै आफ्नो हुँंदोरहेछ । चाडपर्वको के कुरा गर्नु ?’ जसको लागि भनेर ब्रत बसिन्, उसैबाट तिरस्कृत भइन् । भन्छिन्, ‘श्रीमान्को दीर्घायु र सुस्वाथ्यका लागि ब्रत पनि बसियो । त्यही श्रीमान्ले लात हान्यो ।’ रातो पहिरनमा सजिन उनलाई उत्तिकै मन पर्छ । तर, अझै पनि खान र लाउन उमेरले छेकेको छैन । दुई–चार दिनअघि सीताकी एक परिचित बहिनीले तीजका लागि रातो साडी दिएकी छन् । यसपालिको तीजमा त्यही साडी लगाएर ब्रत बस्ने सोच छ ।

बिवाहित चेलीलाई माइती घरको कुकुर पनि प्यारो हुन्छ । बाआमा, दाजुभाइ, दिदीबहिनीसँग तीजमा हुने जमघटबाट संसारकै खुसी मिल्छ।

टिभीमा तीजका गीत घन्किँदा भने सीताको मुटु भक्कानिँदो रहेछ । बुढेसकालले छोए पनि चाडपर्र्व आउँंदा आफूले जन्माएका सन्तान र माइतको सम्झनाले आफूलाई पिरोल्ने गरेको उनले बताइन् । काठमाडौं बौद्धमा जन्मेकी भूमिमाया तामाङ (६१) सँंग तीजको राम्रो अनुभव छ । तीन वर्षदेखि वृद्धाश्रममा आश्रय लिइरहेकी उनी तामाङकी छोरी भए पनि तीजमा ब्रत बस्छिन् । १४ वर्षअघि श्रीमान् र छोरीको मृत्युपछि एक्लो जीवन बिताइरहेकी उनका लागि पशुपति वृद्धाश्रम बुढेसकालको सहारा बनेको छ । चित्रकुमारीलाई जस्तै तीज आएको भने उनलाई पनि कुनै मतलब नै छैन । भन्छिन्, ‘यही भगवान्को काखमा मर्न पाए पुग्यो । अब त चाडवाड नआएकै बेस ।’ प्यारालाइलिसबाट पीडित भूमिमाया विगतमा आफ्नी बहिनीको सहयोग पाए पनि आफू बिरामी हुँंदा कसैको सहयोग नपाएको गुनासो गर्छिन् ।

यतिबेला गाउँंशहरका कति विवाहिता चेली माइतीको आँंगनमा पाइला टेक्दै होलान् । कोही माइत जाने तर्खरमा छन् । कति आमाको हातले पकाएको मीठो दर खान आतुर होलान् । शहरका चेली तीजको दरमा साथीसँंगीसँग मस्त छन् । उनीहरू रातो पहिरन, गरगहनामा सजिएर विभिन्न होटल, पार्टी प्यालेसमा तीजको तिर्सना मेटाउँंदै छन् । अर्थात्, नेपाली चेलीलाई तीजले छपक्कै छोपिसकेको छ । तर, कृष्णकुमारी, लक्ष्मीदेवी, चित्रकुमारी, सीता र भूमिमाया मात्र होइन, काठमाडौंको देवपतनस्थित पशुपतिनाथको मन्दिर परिसरमै रहेको पशुपति वृद्धाश्रममा आश्रय लिइरहेका अधिकांश वृद्ध महिलालाई तीजको रमझमले भने छोएको छैन ।

शहर बजारमा तीजको दरका नाममा तड्कभड्क शुरु भइसक्दा वृद्ध उनीहरूलाई तीजको अत्तोपत्तो छैन । वृद्धाश्रमका कार्यालय प्रमुख मनोजकुमार बस्नेत न्यास्रो मेटाउन प्रायः सबै चाडपर्व मनाउँंदै आएको बताउँछन् । दर कार्यक्रम तीजको अघिल्लो दिन ‘खीर, फलफूल, मिठाइ र चिल्लो पिरोरहित खाना’को रूपमा व्यवस्था गर्छ, वृद्धाश्रमले । पशुपति वृद्धाश्रम महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयद्वारा विसं १९३८ बाट सञ्चालनमा ल्याइएको हो । दुई सय ३० जनाको क्षमता रहेको वृद्धाश्रममा एक सय ९० वृद्धवृद्धाहरू आश्रित छन् । जसमा एक सय १० जना वृद्ध महिला छन् । उनीहरू विगत सम्झँदै रुँदै तीज मनाउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.