विन्ध्यवासिनी मन्दिरको भेटी पुजारीको मुठीबाट खोसियो

विन्ध्यवासिनी मन्दिरको भेटी पुजारीको मुठीबाट खोसियो

पोखरा : लामो प्रयासपछि प्रसिद्ध विन्ध्यवासिनी मन्दिरको भेटी पुजारीको मुठीबाट खोसिएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पुजारीहरुलाई तलबमा राख्न थालेको छ । १ भदौदेखि ४ जना पुजारी नियुत्त भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

मूलपुजारीलाई ३५ र अरुलाई २० हजार रुपैयाँ मासिक तलब तोकिएको पनि श्रेष्ठले बताए । मूल पुजारी रुद्रनाथ पौडेल हुन् भने अरु पुजारीमा सुशील शर्मा, माधव पौडेल र कृष्णप्रसाद पौडेल छन् । समितिले भेटी आफ्नो जिम्मेवारीमा लिने प्रयास गर्दा पुजारी परिवारले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । तर हालै मुद्दा फिर्ता लिई सहमतिमा आउन राजी भएपछि भने नियुक्ति नै दिएर उनीहरुलाई तलबमा राख्न सुरु गरेको सचिव श्रेष्ठले बताए ।

मन्दिर समितिले भेटी आफ्नो मातहत ल्याउन वर्षौँदेखि प्रयास गरेको थियो । गएको कात्तिकमा धार्मिक क्षेत्र व्यवस्थापन सम्बन्धी कार्यविधि सरकारले ल्याएपछि उसको प्रयासले बल्ल आएर मूर्त रुप लिन सकेको हो । लुम्बिनी र पशुपतिनाथ मन्दिरको बारेमा भने छुटटै ऐन छ । तर मासिक २० हजार रुपैयाँभन्दा बढी भेटी उठ्न सक्ने मन्दिर, चर्च र गुम्बा तथा मस्सिदलाई लक्ष्य गरी सरकारले कार्यविधि ल्याएको हो । विन्ध्यवासिनी मन्दिरमा भने महिनाकै ४ लाख रुपैयाँको हाराहारीमा भेटी संकलन हुने अनुमान छ । ‘अहिल्यै यकिन भन्न त सक्दैनौं, भेटी कति हुन्छ भनेर’, सचिव श्रेष्ठले भने, ‘प्रत्येक ३÷३ महिनामा हिसाब किताब सार्वजनिक गर्छौँ, प्रत्येक दिन उठेको भेटी पनि मन्दिर परिसरमा डिस्प्लेबोर्डमा देखाउँछौं ।’

कार्यविधिले धार्मिक क्षेत्र विकास समितिले भेटी संकलन गर्न प्रशासन वा संस्कृति मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रावधान राखेको छ । त्यही अनुसारको अनुमति लिन पनि समय लागेको थियो । समितिले स्वीकृति लिई पुजारीहरुको आचारसंहितासमेत बनाएर उनीहरुलाई नियुत्ति दिई तलबमा राखेको हो ।

३ सय वर्ष हाराहारी पुरानो र पुरातात्विक महत्वको विन्ध्यवासिनी मन्दिर परिसरमै गणेश र शिव मन्दिर पनि छन् । तिनमै एक लाख रुपैयाँ भेटी महिनैपिच्छे संकलन हुँदै आएको हुँदा पनि विन्ध्यवासिनीको भेटी अझै बढी हुने अनुमान छ । ‘भेटी सामाजिक सेवा लगाइनेछ,’ श्रेष्ठले भने ।

समितिले अहिले पनि ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्दै आएको छ । पूर्वाधार निर्माणको काम समितिले नै गर्दै आएको छ । त्यसका लागि समिति दान चन्दाको भर पर्दै आएको थियो ।

१८४४ सालमा कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले महेन्द्र पाध्या पौडेललाई लालमोहर दिइ पुजारीको जिम्मेवारी सुम्पेका थिए । त्यही लालमोहरका आधारमा पाध्याका सन्तानले मन्दिरको पूजाआजा गर्दै दक्षिणा पनि आफैं लिने गरेका थिए ।

पोखरा उपमहानगर पालिका विन्ध्यवासिनी मन्दिर गुठीको ५४ रोपनी जमिन छ । यसमा पनि पुजारी परिवारको भोगचलन छ । धार्मिक क्षेत्र विकास समितिले त्यसबारेक कुनै कदम चालेको छैन । गुठीको जमिन भाडामा पनि लगाउन नपाइने नियम हुँदा केही गर्न नसकेको सचिव तीर्थ बताउँछन् । भन्छन्, ‘त्यो जमिनमा स्कुल, क्याम्पस वा मेडिकल कलेज खोलेर गरिब नेपालीका छोराछोरी पढाउने हाम्रो योजना छ ।’

फेवातालको तालबाराही मन्दिरको भेटी भने पुजारीकै पोल्टामा जाँदै आएको छ । त्यहाँ कति भेटी उठ्छ भन्ने मन्दिरको गुठी व्यवस्थापन समितिलाई थाहा छैन । विन्ध्यवासिनीभन्दा तालबाराहीमा जाने भक्तजन बढी हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.