सहरी तीजको उत्तप्त-लहर

 सहरी तीजको उत्तप्त-लहर

तीज आउन कहिले हो कहिले, महिनौं अगाडिदेखि तीजका गीतका भिडियो र आडियो रिलिज हुन थाल्छन् । पत्रपत्रिका र सामाजिक सञ्जालका भित्ताहरू तीज गीत विमोचनका समाचार र फोटोहरूले भरिन थाल्छन् । बजारमा भित्रिएका नयाँ डिजाइनका रातो, हरियो सारी, नयाँ डिजाइनका छड्के तिलहरी र गरगहनामा सजिएर नाच्दै गरेका महिलाको फोटो र भिडियोको भीषण ‘दृश्य बमबार्डमेन्ट'ले गर्दा हिन्दु संस्कार नमान्ने महिलाहरू पनि नजानिँदो पाराले तीजको रंगमा रंगिन थालेका छन् । बजारतन्त्रको प्रभावले घरपरिवारभित्र मनाउने तीज अब सामुदायिक ‘कार्निवल' बन्दै गएको छ ।

शिश्न-सत्तालाई सघाउ पुराउने पौराणिक कथाका व्याख्यालाई निस्तेज पार्दै बजारीकरण भएको सहरी तीजले हिन्दु र गैरहिन्दु दुवै थरीका महिलालाई आफ्नो रङमा रंगाउँदै गएको छ । लुगा पसलमा ठडिएका निर्जीव ‘डमी'हरू पनि रातो पहिरनमा सजिएका देखिन्छन् । सहरमा लागेका तीज मेलामा चुरा, टीका, पोते, धागो आदि किन्न युवतीको लर्को देख्दा ‘कमोडिटी क्रेज'को अनुमान गर्न गाह्रो हुँदैन । झन् तीजलाई ‘नेपाली नारीहरूको महान् चाड' भनेर व्याख्या गरेको हुनाले राष्ट्रियताको आकर्षण पनि थपिएको छ, जसले हिन्दु नेपाली महिलामात्रै होइन, गैरहिन्दु महिला पनि यस चाडलाई उत्साहपूर्वक मान्न लागेका छन् । ‘नेपालीपन', राष्ट्र र राष्ट्रियताको सवाल जो छ ।

प्रत्येक वर्ष मार्च ८ मा कुम्भकर्ण निद्राबाट ब्यूँझेजस्तै तीजको हल्लीखल्लीले ब्यूँझिन्छन् चिरनिद्रामा सुतेका नारी अधिकार र स्वाभिमानका महत्ववपूर्ण पक्षहरू । अनि पुनरावृत्ति हुन थाल्छ त्यही पुराना तर्कवितर्कको । ‘आधुनिकता'का नयाँ कर्मकाण्डबाट त्रसित परम्परावादी कर्मकाण्डीको आक्रोश सहरी महिलाहरूमाथि पोखिन सुरु हुन्छ, ‘छाडा महिलाले गर्दा समाजबाट संस्कृति र आस्था हराउँदै गयो । विकृति बढ्यो । सहरिया विकृतिले गर्दा महिलाले सनातन संस्कार बिर्से । परापूर्वकालीन परम्परालाई त्यागेर तडकभडकलाई पछ्याउन थाले । तीज आउनु महिनौं अघिदेखि नै भड्किला र महँगा दर कार्यक्रम गरे आदि इत्यादि ।'

अर्कोतर्फ पारम्परिक तीज आस्थामा निहित शिश्न देवत्वारोपण, पवित्रता र अपवित्रताको धारणा, सधवा र ‘विधवा' विभेदको विरुद्धमा आधुनिकवादीको तर्क हुन्छ, ‘नारीलाई दास मानसिकता र हीनताबोध गराउने परम्पराको निरन्तरता हो तीजको व्रत र पूजाआजा । लोग्नेको दीर्घायु कामना गर्दै व्रत बस्नु भनेको अन्धविश्वास र रूढिवादी सोचलाई निरन्तरता दिनु हो । यो लैंगिक हिंसा हो ।' मार्च महिनामा नारीसम्बन्धी विषयले मिडियामा विशेष स्थान पाएजस्तै तीजको उत्तप्त-लहरले मिडियाका हेडलाइनमा विशेष ठाउँ पाउँछन् । तर, तीज सकिनासाथ ती विषय मौसमी तरकारीजस्तै अलप हुन्छन् । मानौं, तीज सकिएलगत्तै अचानक नारी सम्मान, समानता र गरिमाका विषयहरू थाङ्ने हुन्छन् । मानौं, तीजको बजारीकरण मात्रै सामाजिक विकृति हो ।
०००

सामाजिक संस्कृतिलाई परापूर्वकालदेखि चलिआएका स्थानीय लोककथा र मिथकले प्रभाव पारेका हुन्छन् । तीज पर्व पनि हिन्दु धर्ममा अन्तर्निहित छ । परम्परावादी हिन्दुशास्त्रअनुसार विवाहपश्चात् महिलाले पतिको घरमा पत्नीधर्म पालना गर्नुपर्छ । आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाजलाई चटक्क छाडेर पतिको घरमा नयाँ जीवन सुरु गर्नुपर्छ । पति नै उसको देवता र जीवन बन्छ ।

तसर्थ तीजको पारम्परिक विश्वासअनुसार हिन्दु पत्नीलाई पतिको दीर्घायुको कामना गर्दै ‘सधवा शृंगार'मा सजिएर शिवलिंग (लिंग र योनी समागम मैथुनमूर्ति) पूजा गर्न सिकाइन्छ । भनिन्छ, यसले पतिपत्नीमा माया बढ्छ । अविवाहित युवतीलाई पनि शिवजस्तो पतिको इच्छामा व्रत राख्न प्रोत्साहित गरिन्छ । धेरैलाई आश्चर्य नलाग्ला, आज पनि केही पतिव्रता पत्नी आफ्नो पतिको गोडा धोएको पानी खान्छन् । थाहा छैन कतिले करबलले खान्छन्, कतिले माया र विश्वासले । अथवा, अरू कतिका लागि पतिको गोडा पखालेको पानीलाई पञ्चामृत मानेर खानु किंवदन्तीमात्रै हो ।

अर्धनास्तिक सहरी परिवारमा हुर्केकी मलाई कट्टरवादी तीज र ऋषिपञ्चमीका व्रतको प्रत्यक्ष अनुभव नरहेकोले रूढिवादी अभ्यास र पूजा अनुष्ठानको अनुभव भएन । सानी हुँदा आफ्नो परिवारमा तीजको गीत गाएर नाचेको पनि कसैलाई देखिनँ । उबेलाका काठमाडौंका रैथाने (क्षेत्री बाहुन) परिवारमा तीजमा महिलालाई मन फुकाएर गाउने र नाच्ने छुट पनि थिएन रैछ जस्तो लाग्छ । बरु तीजको दर खाने दिन घरमा आएका दिदीबहिनीसित भेट हुँदा रमाइलो लाग्थ्यो । सबैभन्दा रमाइलो त अग्रजहरूले ‘तीजको दर' भनेर दिएको पैसा पाउँदा हुन्थ्यो ।


शिवको अर्धनारीश्वर स्वरूपलाई शिवशक्ति मानेपछि शक्ति उपासक धार्मिक पुर्खा पुरुषहरूले आफ्ना आमा, बहिनी र पत्नीहरूमा शक्ति स्वरूप किन भेटेनन् होला ?

‘चुरा किनेर लगाउनू' भनेर दिएको पैसाले कहिल्यै पनि चुरा किनेर लगाइनँ किनकि आफ्नो हातमा भन्दा अरूको हातमा लगाएको रातो चुरा हेर्दा राम्रो लाग्थ्यो । धेरैपछि पशुपति परिसरमा लाम लागेका महिलालाई मिडियाकर्मीले सोधेका प्रश्नको उत्तर सुनेपछि मात्रै मैले तीजको रमाइलोभित्र लुकेको रूढिवादी अर्थबारे थाहा पाएकी थिएँ । मिडियाकर्मीले थुप्रै महिलालाई एउटै प्रश्न सोधे र जवाफ पनि एउटै सुनियो, ‘तपाईं किन व्रत बस्नुहुन्छ ? '

‘पतिको सकुशलताका लागि ।' अचम्म लागेको थियो, अन्धविश्वास चिर्न मिडियाकर्मीले किन अर्को प्रश्न गरेनन् ? कहिलेकाहीँ लाग्छ, धार्मिक अन्धविश्वास र व्रतविश्वासलाई मिडियाबाजीको अपरिपक्व प्रस्तुतिले झन् ‘पपुलर' त बनाएन् ? ‘स्टिरियोटाइप' प्रश्न र उत्तरको सुगा रटाइको निरन्तरताले हिजोआजका युवतीको मनमा पनि ‘पतिको दीर्घायु कामना'को अन्धविश्वासले जरा गाड्दै लगेको छ । साँच्चै भन्ने हो भने मिडियामा प्रसारित रूढिवादी प्रवृत्ति-प्रवद्र्धनले गर्दा नै तीजको ‘धार्मिक परफारमेन्स' र ‘पतिव्रता नारित्व परफारमेन्स' फस्टाएको छ ।

मनमा प्रश्न उठ्छ— नारी अवचेतनको आत्मनिर्णय र आत्मविवेकलाई जडवत् गर्न प्रचलित तीजको ‘एकदिने रमाइलो'भित्र लैंगिक र प्रजनन राजनीति र पति नहुने महिलाको यौन चाहनामा नियन्त्रणको लगाम कस्ने मास्टरमाइन्ड को होला ? ‘सधवा' महिलाले पतिको दीर्घायु कामना गर्ने । यहाँसम्म कि भर्खरका युवतीले पनि शिवजस्तो पतिको कामना गर्दै व्रत बस्ने, तर पतिको मृत्यु भएकी महिलालाई तीजको पूजा बर्जित ? पतिको मृत्यु भएकी महिलाको यौन चाहनालाई प्रतिबन्ध ? धर्मनिरपेक्ष नेपालको संविधानले समलैंगिक नागरिकको हक र अधिकार सुनिश्चित गरेको छ ।

तर, धार्मिक तीजको इतरलिंगी चाहनाको (हेटेरोसेक्सुअल डिजायर) मूलप्रवाहीकरणले गर्दा समलंैगिक चाहना भएका व्यक्तिलाई के कस्तो असर पर्छ होला ? किनकि, सार्वजनिक वृत्तमा तीजको धार्मिक प्रदर्शनले पतिको दीर्घायु कामना र मैथुनमूर्ति पूजाको अभ्यासलाई प्रोत्साहन दिएको छ । यसले एकातिर इतरलिंगी चाहलाई प्राकृतिक र स्वाभाविक भनेर अथ्र्याएको छ भने अर्कोतिर प्रजनन प्रक्रियालाई पनि जोड दिएको छ । त्यसैले इतरलिंगी चाहको सामन्यीकरणले समलिंगी चाह, जसमा प्रजननको सम्भावना हुँदैन, अप्राकृतिक र असामान्य भनेर बुझिने हो किी ?

सायद हाम्रा पूर्वजले आफ्नो आवश्यकताअनुसार धार्मिक चाडपर्वको कल्पना गरे होलान् र कल्पनाअनुसारको सांस्कृतिक चाडपर्वको सिर्जना गरे होलान् । मनमा अर्को प्रश्न उठ्छ— के हाम्रा धार्मिक र सांस्कृतिक अवधारणा निर्माण गर्ने क्रममा पुर्खा हजुरआमाहरूको सहमति र सहयोग थियो होला ? आफ्ना मर्जीका मालिक स्वामीले (पहिला पतिलाई स्वामी भन्ने चलन थियो) जब मन लाग्यो नयाँ गाई गोठमा ल्याएजस्तै नयाँ पत्नी भित्वयाउँदै आफ्नी स्वास्नीमाथि सौता हाल्थे । आफूभन्दा उमेरमा जेठा स्वामीको मृत्यु हुँदा जीवित पत्नीहरू मृत शरीर बोकेर आगोमा खरानी हुनुपथ्र्यो । छोरा नपाएमा अपहेलित हुने समाजमा बाँचेकी ती पूर्वज हजुरआमाहरूले आफ्नै सकुशलता र दीर्घायु कामना गर्दै व्रत बस्नुपर्ने होइन र ?

रूढिवादी आचारसंहितामा अडेको समाजमा पुत्र र पतिको मान देउतासरह नै थियो । पुरुष नै परमेश्वर घोषित भएको समाजमा पत्नीले राखेको व्रतले पतिलाई थप के दिन सक्थ्यो र ? भाँग धतुरोको नशामा लठ्ठ हुने लठ्ठक पुरुषसम्मको देवत्वकरणको राजनीतिमा पूर्वज हजुरआमाहरूको सहमति कसरी रह्यो होला ? शिवको अर्धनारीश्वर स्वरूपलाई शिवशक्ति मानेपछि शक्ति उपासक धार्मिक पुर्खा पुरुषहरूले आफ्ना आमा, बहिनी र पत्नीहरूमा शक्ति स्वरूप किन भेटेनन् होला ? शक्तिस्वरूपा पत्नीको दीर्घायु कामना गर्दै पूर्वज पुरुषले किन निर्जला व्रत राखेनन् होला ? पतिले व्रत राख्दा पनि त दम्पतीप्रेम बढ्ने नै होला !

झन् परम्परावादी तीजको अर्को आशय प्रजनन हो भने त गर्भधारण गर्ने पत्नीका लागि पतिले व्रत बस्दा अझ बेस हुने हो । धर्मका मठाधीशहरूले गरेको धार्मिक ग्रन्थको व्याख्याअनुसार रजस्वला दौरान प्रत्येक नारी ‘चण्डालनी', ‘ब्रह्मघातिनी' र ‘धोबिनी'मा परिणित हुन्छ भने ‘पवित्र' मानिने हिन्दु संस्कृति र परम्पराको भारी प्रत्येक महिना अपवित्र हुने महिलामाथि किन थोपर्नु परेको होला ? सधैं ‘पवित्र' रहने वरदान पाएका पुरुषहरूले परम्पराको भारी आफंै बोक्दा पनि त हुने हो ! यी सबै प्रश्नको उत्तर पनि प्रश्नमै भेटिन्छ ।

अरु देशमा बुद्ध, क्रिस्चियन, बहाई र अन्य धर्मको अध्ययन गर्ने नारीवादी धर्मशास्त्रीहरूले धर्मका मठाधीशको व्याख्या तथा धर्म, संस्कृति र परम्पराले महिलाका जीवनमा पारेका प्रभावबारे विश्लेषण गर्छन् । आस्तिक रहे पनि उनीहरू लोकतान्त्रिक अभ्यासका पक्षधरमात्र नभई अल्पसंख्यक समुदायका (महिला, गे, लेस्बियन र अरू समुदायका) समेत हुन सक्छन् । कट्टरवादी धार्मिक दृष्टिकोणलाई चुनौती दिँदै उनीहरू अल्पसंख्यक अनुभवका दृष्टिकोणबाट धार्मिक सिद्धान्त र अभ्यासलाई केलाउँदै फरक अनुभव र फरक ‘सत्य'लाई अगाडि सार्छन् ।

उनीहरू धार्मिक ग्रन्थको वस्तुगत विश्लेषणभन्दा पनि अल्पसंख्यक जमातको आत्मपरक अनुभूतिका आधारमा धार्मिक हिंसा, विभेद, अन्याय, पीडा र असहजताका सन्दर्भ केलाउँछन् र ग्रन्थहरूको पुनव्र्याख्या गर्छन् । नेपालमा नारीवादी धर्मशास्त्रीय दृष्टिकोणको विकास भएको छैन । तथापि तीजलाई पश्चिमी नारीवादीको सिद्धान्तभन्दा पनि नेपालका फरक ठाउँ, वर्ग, क्षेत्र, उमेरका महिलाहरूको अनुभव र अनुभूतिका आधारमा विश्लेषण गर्नुपर्ने आवश्यकता छ ।
०००

‘गाउँको तीज पो रमाइलो । याँ त के रमाइलो ? याँ पैसा खेलाउन पाइन्छ तर गाउँघरमा जस्ता साथी छैनन् । गाउँमा त साथीहरूसित मन्दिर गयो, नाच्यो । दिनभरि भोकै बसेर नाच्दा पनि थाहै नहुने । खै याँको तीज त खल्लो लाग्छ ।' नयाँ किनेको चुराका बट्टाहरू मिलाउँदै गीताले जवाफ दिई । सहरिया तीजको तडकभडकमात्र देखेकी मलाई गाउँघरको तीजको अनुभव नभएकाले उसको कुरा सुनेर बसेँ ।

‘हाम्रा पालामा यसरी नाच्ने, गाउने चलन थिएन । अहिलेका बुहारीहरू त व्रतमा पनि फलफूल खान्छन् । हाम्रा पालामा त पानी पनि खान दिँदैनथे । अरू दिनभन्दा तीजको दिन केही फरक थिएन । दर खान आधा रातमा ब्यूँझेर घ्यू हालेको खिर खाएर सुतिन्थ्यो । व्रत बस्ने दिन त पानी पनि खाइन्नथ्यो ।' काठमाडौंमा जन्मे, हुर्केकी एउटी वृद्धाको प्रतिक्रिया थियो । निर्जला व्रत बस्दा पनि विवाह गरेको दस वर्षपछि उनका पति पखाला चलेर बिते । मृत्यु आउने ठूलो कारण पनि नचाहिने रहेछ । उनीसित निर्जला व्रतको महिमा र पतिको दीर्घायुबारे थप प्रश्न सोध्नु दुखेको घाउमा नुनचुक दल्नुसरह थियो । निर्जला व्रतको महिमा कथा फेल खाएका यस्ता उदाहरण बग्रेल्ती भेटिन्छन् तर पनि धर्मका पट्टी बाँधेका आँखा केही गरी खुल्दैनन् ।

‘व्रत बस्दा के गाह्रो हुन्थ्यो र ? बुहारी भएसी सधैं मकैको च्याँख्ला र ढिँडो खाने त हो । त्यो पनि पेटभरि त काँ खान पाउनु नि, कठै ! तीज आएपछि त भोक न सोक । साथी बटुलेर नाच्न र गाउन हिँडेपछि सबै पीरमर्का आफैं हराउँथे । तीज त सधैं आओस्जस्तो लाग्ने...।' लुगा सिउने मेसिनमा हात चलाउँदै तेह्रथुमबाट काठमाडौं बसाइँ सरेकी सानीमायालाई तीज भनेकै दुःखका भारी बिसाउने चाड लाग्छ । तीज उसका लागि सबैभन्दा रमाइलो चाड हो ।

‘तीजमा सबैले लगाएका गहना सुनका हुने भए त नेपाल सुनको खानी भने नि भो । कहाँबाट पाएर सुनका गहना लगाउने ? म त ‘पैसा तिर्न कर छैन, हराएमा डर छैन' पसलका गहना किनेर लगाउँछु । हेर्दा पनि ठ्याक्कै सुनजस्तै । रङ गयो भने जलप पनि लगाउन पाइन्छ ।' भर्खर बैंकमा काम सुरु गरेकी जागृतिको तीज प्रतिक्रिया थियो ।

‘तिमीहरू पो स्वतन्त्र छौं । आफूखुसी जहिले मन लाग्यो रमाइलो गर्छौ । अनि तिमीलाई किन चाहियो तीज । तिम्रो लागि त दिनदिनै तीज छ ।' संयुक्त परिवारमा बुहारी भएर सबैलाई रिझाउने प्रयत्नमा हरदम प्रयासरत दुई छोराकी आमालाई तीजको लिंग विभेद र तीजको सकारात्मक रूपान्तरणको प्रस्ताव ननिको लाग्यो । संयुक्त परिवारकी एक्ली गोठालेलाई कुनै दिन कामबाट छुट्टी छैन । र, कुनै तलब पनि छैन । तीज उसको लागि पनि एकदिने मुक्तिपर्व बनेको छ।

सबैका तीजका अनुभव सुन्दै जाँदा लाग्यो, विभिन्न परिवेशमा हुर्केका महिलाहरूका फरक अनुभवले तीज पनि एउटा होइन फरक छ । कसैका लागि रमाइलो चाड । कसैका लागि शिश्न श्रेष्ठताको आडम्बर । कसैको लागि फगत रमाइलो, त कसैका लागि अप्रासंगिक सन्दर्भ । कुनै घरका ज्येष्ठ नागरिकका लागि तीज विश्वास र आस्था, कसैका लागि वर्ष दिनसम्म गुम्सिएका गुनासा बिसाउने चाड । जे जस्तो ‘म्याथोडोलोजी'बाट तीजको विश्लेषण गरे पनि, फरक सत्यहरू भेटे पनि, निष्कर्ष एउटै निस्कन्छ - प्रायः महिलाका लागि तीज एकदिने मुक्तिपर्व बनेको छ । त्यस मुक्तिपर्वको आवरणभित्र लुकेको विभेदीय अवधारणाबारे धेरैलाई चासो पनि छैन । तीजको धार्मिकता, अन्धविश्वास, लैंगिक राजनीति, पवित्रता र अपवित्रताको खाडल, छुवाछूत, व्रत अनुष्ठानको आडम्बर र यौनिक नियन्त्रणको परम्परागत व्याख्यालाई मेटाएर तीजलाई महिलालाई एकताको सूत्रमा बाध्ने नयाँ पर्वका रूपमा रूपान्तरण गर्न सम्भव छ होला ?

आफ्नो आवश्यकता पूर्तिका लागि मानिसले धर्म, संस्कृति, चाडपर्व र अनुष्ठानहरूको निर्माण गरेको हुन्छ । यी सबैको उद्देश्य मानवता, सृजनशीलता, ‘नैतिकता', ज्ञान र विवेक वृद्धि गर्दै मानवलाई सामाजिक प्राणी बनाउने हो । तर, विभेदीय धार्मिक परम्पराको आडमा हुर्केका लिंग, वर्ण, जातपात, छुवाछूत, पवित्र र अपवित्र, सधवा र ‘विधवा' विभेदमा आधारित आदर्श र नैतिकताका भ्रमित मानकले गर्दा चाडपर्व पनि हिंसा र उत्पीडनका नमुना बनेका छन् ।

झन् तीजलाई ‘नेपाली महिलाको महान् चाड' भनेर परिभाषित गर्दा नजानिँदो पाराले यो पर्व धर्मनिरपेक्ष नेपालको राष्ट्रियतासित गाँसिन पुगेको छ । झन् ऋषिपञ्चमीको दिन महिलालाई सरकारी बिदा दिइने परिपाटीले ऋषिपञ्चमीको पारम्परिक पूजा गर (सप्तऋषिको पूजा गरेर रजस्वलाको पाप पखाल्ने दिन) जस्तो लाग्छ । अर्को शब्दमा भन्दा, ऋषिपञ्चमीको सरकारी बिदाले पितृसत्ताको मूलमन्त्र शिश्न- श्रेष्ठतालाई वैधानिकता दिएसरह हुन्छ । एक दिनको क्षणिक रमाइलोको लोभमा परेर महिलाहरूले गर्ने पूजा अनुष्ठान, व्रत र विश्वासको आवरणभित्र लुकेको लैंगिक नियन्त्रणको लगाम अझ कसिलो हुँदै गएको थाहै पाउँदैनन् ।

कहिलेकाहीँ लाग्छ, सायद सहरी तीजको रमझमले रूढिग्रत अन्धविश्वास र भाग्यवादी मर्मलाई विस्थापित गर्दै लगेको छ । झुलुक्क हेर्दा सहरमा पतिपरमेश्वरको देवत्वमहिमा घटेजस्तो देखिए पनि उपभोक्ता संस्कृतिको तडकभडक विकराल हुँदै गएको छ । पसलमा सजिएका ‘डमी'झैं सहरी महिलाका शरीरमा प्रचलित फेसनका रातो लुगा र गहनाका विज्ञापन सजिन थालेका छन् । पार्टी प्यालेसका महँगा दर कार्यक्रमले सहरी महिलाको सम्पन्नता बढेको जस्तो देखिन्छ ।

तीजको दिन पशुपति परिसरमा पूजाका थाली बोकेर गरगहनाले सुसज्जित भएका रातो महिलासागर हेर्दा एकमनमा लाग्छ, यी सबै एकजुट भए भने रूढिवादी आस्थाको आधारशीला भत्काउन केही समय पनि लाग्दैन होला । तर वर्षौंदेखि दिमागमा जरा गाडेर बसेका विभेदकारी संस्कार यति सजिलो त के गरी जान्थे होलान् र ! फरक महिलाका फरक तीज अनुभव रहे पनि दुईमत छैन, जुन दिन महिलाले ‘एकदिने रमाइलो चाड'को विरुद्ध शंखघोष गर्दै तीन सय चौंसट्ठी दिनमा आफूखुसी बाँच्ने आधार भेट्न थाल्छन् त्यही दिनदेखि धर्मान्ध तीजको अन्त्य हुनेछ । एक दिनको रमाइलोको भ्रमजालोबाट बाहिरिन सजिलो छैन । यसमा सामूहिक प्रयास चाहिन्छ ।

आफ्नो किताब ‘द फायर नेक्स्ट टाइम'को एक लेखमा धार्मिक विश्वासबारे लेखक जेम्स बाल्डिन लेख्छन्, ‘हाम्रो ईश्वरले हाम्रो मानसिकता र सोचलाई अझ फराकिलो बनाउँदै हामीलाई द्वेषमुक्त बनाउन मद्दत गर्नुपर्छ । नत्र मानसिकतालाई संकुचित बनाउने ईश्वरसित हामीले छुटकारा लिनु नै बेस !' हाम्रा चाडपर्व र अनुष्ठानलाई भेदभावरहित, लिंग विभेदरहित, पूर्वाग्रहरहित, जातपात र छुवाछूतरहित बनाउन सकारात्मक रूपान्तरणको प्रयास आवश्यक छ । नत्र क्षणिक रमाइलोको लोभमा र परम्परा धान्ने भ्रममा तीजलाई पतिको दीर्घायु कामना गर्ने पर्व भन्दै, इतरलिंगी चाहमा आधारित तीजको लिंग विभेद र यौनिक नियन्त्रणलाई स्वीकारोक्ति दिन्छौं । अथवा, सहरिया तीजको उत्तप्त लहरमा बग्दै ‘उखरमाउलो बैंस छोप्ने चीजै भएन...', ‘चोरी खान पल्केको ढाडे बिरालो' र ‘पोइल जान पाम...'जस्ता गीतमा कम्मर मर्काउँदै उपभोक्ता संस्कृतिको दास बन्दै जानेछौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.