गणतन्त्र उत्तरआधुनिकतातिर अभिमुुख छ

गणतन्त्र उत्तरआधुनिकतातिर अभिमुुख छ

उत्तरआधुनिकतावादमाथि नेपाली साहित्यमा बहस चलाइरहेका प्राध्यापक कृष्ण गौतम ‘रानीवन' नामक उपन्यास लिएर बजारमा आएका छन् । त्रिचन्द्र कलेज र पद्मकन्या कलेज गरी चार दशकदेखि प्राध्यापन कर्ममा लागिपरेका गौतम नेपाली प्राज्ञिक क्षेत्रमा उत्तरआधुनिकताका व्याख्याताका रूपमा परिचित छन् । ‘आधुनिक आलोचना : अनेक रूप अनेक पठन', ‘उत्तरआधुनिक जिज्ञासा', ‘उत्तरआधुनिक संवाद', ‘प्राच्य महाकाव्य', ‘पाश्चात्य महाकाव्य', ‘देवकोटाका प्रबन्ध काव्य', ‘रचनाको रोमाञ्च', ‘सिर्जनाको सुवास'जस्ता समालोचनाका किताब बजारमा ल्याइसकेका गौतमको कथासंग्रह ‘नाच' र उपन्यास ‘स्वर्णविम्ब' प्रकाशित छन् । नेपाली समीक्षाको समकालीन स्थिति र उत्तरआधुनिकतावादमाथि केन्द्रित रहेर प्राध्यापक गौतमसँग दीपक सापकोटाले गरेको संवाद -


नेपाली साहित्यको समालोचना/समीक्षाको वर्तमान अवस्था कस्तो छ ?
- अहिले नेपाली साहित्यमा समीक्षा, समालोचना पहिलाभन्दा ज्यादा झाँगिएको छ । मिडियाका विभिन्न रूपको विकास भएको हुँदा तिनीहरूले समालोचनाको खोज गरे । शिक्षाको उन्नयन, पाठकहरूको संख्यामा अभिवृद्धि, प्रतिस्पर्धात्मक चेतनाको उत्थानमा जागरुकता आदि कारणले समालोचनाको अपेक्षा बढ्दै गयो । सर्सर्ती पढेर पुस्तक थन्क्याउनु सुगा पाठकलाई सुहाउँछ । सचेत पाठक त्यति मात्रमा सन्तुष्ट हुँदैन । ऊ त समालोचना विश्लेषण, तुलना, आगमन, निगमनजस्ता विधिहरूको उपयोग गर्छ र साहित्यिक कृतिको सूक्ष्म बोधको विस्तार गर्छ ।


समालोचनामा लेखक/साहित्यकारको ‘महान्' बनेको विम्बलाई पुनर्मूल्यांकन वा फरक कोण/चस्माबाट हेर्ने, प्रश्न उठाउने काम भएको छ कि छैन ? यसो गर्नु कति जरुरी छ ?
- लेखक/साहित्यकारहरूको मूल्यांकन/पुनर्मूल्यांकन भइरहन्छ र हुनुपर्छ, मूल्यांकनमा व्यक्तिगत निर्णयले ठूलो भूमिका खेल्छ । महान् भनिएका साहित्यकारमाथि प्रश्नचिह्न लाग्नसक्छ । पाठक/समालोचकहरूको कम्युनिटीले/समूहले कुनै साहित्यकारलाई माथि राख्ने र कुनैलाई तल राख्ने, पन्छाउने, महत्वव नदिने काम गर्दै आएको देखिन्छ । केही न केही तटस्थता नराख्ने हो भने मूल्यांकनको कुनै अर्थ रहँदैन । देवकोटीय ‘मुनामदन', पारिजातीय ‘शिरीषको फूल', मोहन कोइरालीय ‘फर्सीको जरा'जस्ता कृतिहरूको उत्कृष्टतामा प्रश्नचिह्ज लाग्न सक्दैन । ‘मै हुँ' भन्ने कुनै लेखकले लगाइहाल्यो भने बरु त्यसैमा प्रश्नचिह्न लाग्नसक्छ ।

शैली र सोच दुवै दृष्टिबाट नेपाली साहित्यले साँच्चै आधुनिकता ग्रहण गरेको छ वा ‘नेपाली साहित्य आधुनिक छ' भनेर यहाँ हल्लामात्रै गरिएको हो ?
- नेपाली साहित्यमा आधुनिकताको प्रवेश ‘शारदा' युगदेखि नै अर्थात् विक्रमीय १९९० का वर्षहरूदेखि नै भएको हो । आाधुनिकताका केही विम्ब त त्योभन्दा पहिलेदेखि नै पाइन्छन् ।


 आधुनिक र पुरातन केले छुट्याउँछ ?
- आधुनिकता त्यो हो जसले मध्ययुगीन प्रवृत्तिलाई ध्वस्त गर्‍यो र नयाँ प्रवृत्तिलाई अनुमोदन दियो । मध्ययुगमा बुद्धिवादलाई अबुद्धिवादले दबाउँथ्यो, धर्तीको भन्दा स्वर्गको, मान्छेको भन्दा देवताको ठूलो मूल्य थियो । अन्धविश्वास, अपशकुन र उडन्ते कुराहरूमा मान्छे विश्वास गर्थे । आधुनिकतामा बुद्धिवाद खारियो जसमा विज्ञानको ठूलो सहयोेग थियो । आधुनिकता/वाद शैली र सोच दुवैमा सन्तुलन खोज्छ र जीवनलाई नयाँ ऊर्जा दिने प्रयत्न गर्छ ।


 उत्तरआधुनिकता भनेको के हो ?
- मोडर्निजमलाई हामीले नेपालीमा आधुनिकतावाद भन्यौं, पोस्ट मोडर्निजमलाई उत्तरआधुनिकतावाद । पोस्टको अर्थ पछि भन्ने हो । आधुनिकतावादपछि आएका प्रवृति, विचार, मान्यता सबै सिद्धान्तहरू उत्तरआधुनिकता/वादमा समेटिन्छन् । त्यस्ता प्रवृत्ति पहिलाको साहित्यमा उपलब्ध भएमा साहित्यको आधार लिएर निरुपण गर्न सकिन्छ । उत्तरसंरचनावादमा आधुनिकपछि भन्ने अर्थ छैन । डेरिडाले डिकन्स्ट्रक्सनको अवधारणा इसापूर्वका प्लेटो आदिबाट सहयोग लिएका थिए । एकातिर विश्व व्यवस्थामा परिवर्तन आएकाले र अर्कोतिर जिज्ञासुहरूका आकांक्षा बदलिएकाले उत्तरआधुनिकतावाद जरुरत पर्‍यो । उत्तरआधुनिकको सिद्धान्तले अहिलेका जटिल समस्याहरू केलाउनका लागि हामीलाई ठोस उपायको जानकारी दिन्छ ।


केही टिप्पणीकारले यसलाई कुनै ‘गुदी नभएको बोक्रे' सिद्धान्त मात्रै हो, भन्छन् नि ?
- उत्तरआधुनिकता/वाद यथार्थवाद, आदर्शवाद, पर्यावरणवाद आदिजस्तै कला, साहित्य एवं संस्कृतिको अध्ययनमा आवश्यक पर्ने सिद्धान्त हो । यसले हाम्रा परिवर्तित आकांक्षा र परिवर्तित विश्व व्यवस्थालाई सम्बोधन गर्छ । हामी यथास्थितिमा खुम्चेर बस्न सक्दैनौं । अहिलेको पुस्ता परिवर्तनमा ज्यादा सचेत छ । नयाँ चाख, रुचि र इच्छाहरूले हामी निरन्तर सम्बोधित भइरहन्छौं । उही मान्छे पनि समयक्रमले नयाँ कौतुकमा प्रवेश गर्छ । उत्तरआधुनिकता/वाद बदलिएको अवस्थाको आवश्यकता भएकोले यसलाई हामी अपरिहार्य ठान्दछौं ।


 नेपालमा ‘उत्तरआधुनिकता'को अध्ययन, व्याख्या कसरी भइरहेको छ ? उत्तरआधुनिकताको व्याख्या गरिरहेका ‘पण्डित'हरूले यसलाई साँच्चै बुझेका छन् कि उनीहरू पनि यसलाई बुझ्ने, बुझाउने नाममा सतहमै तैरिरहेका छन् ?
- उत्तरआधुनिकको सिद्धान्तीकरण पश्चिममा विश्वविद्यालयका प्रध्यापकहरूबाट भएको हो । फुको, डेरिडा, बार्थ, ल्योटार्डहरू सब पढाउँथे, विभिन्न संस्थाहरूमा व्याख्यान दिन्थे । नेपाली विश्वविद्यालयका पाठ्यक्रममा उत्तरआधुनिकता/वाद रहिसक्यो । पढाउने काम शिक्षकहरूको हो । नबुझीकन पढाउने कुरा आउँदैन । यत्ति हो कि हर एकको बुझाइ एउटै स्तरको हुँदैन । उत्तरआधुनिक विषयमा मैले लेखेका पुस्तकहरूको प्रयोजन पनि नयाँ ज्ञानको बोधको विस्तार गर्नु हो । नयाँ ज्ञानको सम्प्रेषण हो ।


उत्तरआधुनिकताले ल्याएका अवधारणा कत्तिको जायज छन् ?
- उत्तरआधुनिकताले नयाँ विषय ल्यायो । नयाँ समस्या उठायो, नयाँ चिन्तन दियो । इहाब हसनले यसका धेरै विशेषताहरूको चर्चा गरेका थिए । मैले ‘उत्तरआधुनिक जिज्ञासा'मा त्यसका २० विषेशताहरूको उल्लेख गरेको छु । त्यहाँ आधुनिक र उत्तरआधुनिक मान्यताको तुलनात्मक चर्चा छ । जस्तो आधुनिकता केन्द्रवादी सिद्धान्त हो जब कि उत्तरआधुनिकताले केन्द्र भंग गर्छ । नेपाली राजनीतिको उल्लेख्य केन्द्र राजतन्त्र हो जसको खण्डन गणतन्त्रले गर्‍यो । संवैधानिक राजतन्त्रलाई आधुनिक भन्नु उचित हुन्छ । जब कि गणतन्त्र उत्तरआधुनिकतातिर अभिमुख छ, बहुलवादलाई प्र श्रय दिन्छ । खासखास ठाउँमा खासखास लक्षणको प्रयोजनीयता रहने भएकाले कुनै लक्षणको ठाडो खारेजी असंगत हुन्छ ।


 ‘आधुनिकता मरिसक्यो, हामी उथलपुथलको युगमा छौं' भन्नेहरूले गर्न खोजेको संकेत के हो ?
- आधुनिकताले काम नचल्ने भएपछि त्यसको मृत्यु भयो भनिएको हो । पश्चिममा आधुनिकताको उर्वर शतक अठारौं शतक हो, जसलाई प्रबोधको ज्ञानोदयको शतक पनि मानिन्छ । प्रबोधको त्यही स्पिरिटलाई उन्नाइसौं शतकका हिगेल, माक्र्स, डार्विनहरूले विस्तृतीकरण गरे । बीसौं शतकको पूर्वाद्र्धसम्म पनि प्रबोधको स्पिरिटले काम गर्‍यो । द्वितीय विश्वयुद्ध त्यस्तो भयावह दुर्घटना थियो जहाँ आधुनिकताका मान्यताहरू खरानीमा परिणत भए । आशावाद, मानववाद, इतिहासको प्रगतिशीलता, मौलिकता, सार्वभौमसत्ता, वस्तुपरकताजस्ता आधुनिक अवधारणाहरू काम नलाग्ने भए जसले गर्दा उत्तरआधुनिकताले हामीलाई सचेत पार्नु उचित देख्यो ।


केही टिप्पणीकारहरू उत्तरआधुनिकतावादलाई माक्र्सवादको आलोचना गर्न ल्याइएको पुँजीवादी अस्त्रको रूपमा व्याख्या गर्छन् । के त्यसै हो ?
- उत्तरआधुनिकता, आधुनिकवाद, विचार र सिद्धान्तहरूको आलोचना गर्छ । माक्र्सवाद आधुनिक भएकाले त्यसको उत्तरआधुनिक आलोचना सहज थियो । उत्तरआधुनिक त माक्र्सवादलगायत कैयौं वादहरूको मृत्यु भएको मान्दछ । वर्गको, ऐतिहासिक भौतिकवादको अवधारणा विकसित पुँजीवादी समाजमा निरर्थक देखियो । बर्लिनको पर्खाल भत्कनाले, सोभियत सङ्घको विघटनले, चीनद्वारा बजार अर्थतन्त्रको अवलम्बनले माक्र्सवादी डिस्कोर्समा ठूलो धक्का पुग्यो । डेरिडाले ‘माक्र्सवादका भूतहरू' भन्ने पुस्तक लेखे । पश्चिममा माक्र्सवादलाई उत्तर माक्र्सवादमा जीवित राख्ने प्रयत्न भएको छ जहाँ माक्र्सवादमा स्थिर मान्यताहरू उत्तरसंरचनावादको चटुलतामा नृत्य गर्छन् । यस सन्दर्भमा लवलाऊ र मफेको नाम अविस्मरणीय छ ।


 उत्तरआधुनिकता पछाडि के हुन्छ ? कि त्यसलाई ‘उत्तर-उत्तर' आधुनिकता भन्नुपर्‍यो, होइन ?
- आधुनिकताको मृत्यु भएजस्तै उत्तरआधुनिकताको पनि मृत्यु भइसक्यो भन्नेहरू छन् । इस्वीको एक्काइसौं शतकको प्रारम्भमदेखि पश्चिममा उत्तरआधुनिकता खस्कँदै गएको अनुभव गरिएको छ । डेरिडाको २००४ मा र बद्री लडको २००७ मा मृत्यु भएपछि कुनै उल्लेखय उत्तरआधुनिक शुक्रतारा रहेन । तर, सिद्धान्तीकरणमा शक्तिशाली नयाँ ताराहरूको उदय नभइसकेकाले उत्तरआधुनिकता पन्छिहाल्ने स्थितिमा छैन । जब नयाँ प्रवृत्ति, सोच एवं विचारहरू झांगिनेछन् र चिन्तकहरूले सिद्धान्तीकरण गर्नेछन् तब उचित नामको पौरोहित्य प्रस्टिनेछ ।


 उत्तरआधुनिकताका प्रमुख व्याख्याता ज्याक डेरिडाले भनेका रहेछन्, ‘साहित्य, दर्शन र संस्कृतिबारेका मान्यताहरू केही अवधारणको ‘प्रभुत्व' तथा अन्यको ‘दमन' वा विस्थापनमा आधारित भएका छन् ।' डेरिडाले भनेअनुसार उत्तरआधुनिकताको एउटा बलियो आधार ‘प्रभुत्व' र ‘दमन' हो भन्ने बुझिन्छ । तपाईंको बुझाइ के छ ?
- डेरिडाले संरचनावादको आलोचना किन गरेका थिए भने त्यो युग्मकमा आधारित छ तर युग्मकको सनातनता वा तात्विकता भने छैन । केवल त्यसलाई शब्दकेन्द्रवादले तात्विकताको भ्रम दिन्छ । जस्तो नर/नारीको युग्मकको प्रयोग हुँदै आएको छ र नरलाई प्राथमिकतामा राखेर नारीलाई त्यसैकै पूरकको स्थान दिएको छ । यसकारण कि पितृसत्ता आफ्नो हैकम गुमाउन चाहँदैन । डेरिडाले तात्विकताविहीन युग्मकलाई उल्ट्याउन सकिने र नर/नारीको ठाउँमा नारी/नर गर्न सकिने बताएका छन् तर त्यसो गर्नु उचित होइन भन्ने तिनको अभिमत छ । त्यसो गर्दा एउटाले राख्दै आएको हैकम अर्कोमा सर्ने मात्र हो । क्रान्तिकारी कार्य होइन । यसकारण डेरिडा अग्लाइ/होचाइ तोड्ने पक्षमा छन् ।


 अहिले उत्तरआधुनिकतामा चलिरहेको बहस, छलफलको केन्द्रमा छोपिएका, किनारिएका, छोडिएका आवाजहरू छन् ?
- आधुनिकता/वादलाई अभिजातवादी/एलिस्टिक भन्नेहरू छन् । एलिस्टिकहरू ठूलो/सानो, अग्लो/होचोको रेखांकनमा पहिलोलाई प्राथमिकता दिन्छन् । उत्तरआधुनिक भने त्यस्तो युग्मकलाई तोड्दछ । पश्चिममा फ्र्यांकफर्ट स्कुलले कल्चर इन्डस्ट्रीको आलोचना गरेको थियो । ‘मुनामदन' लेख्दा देवकोटा झ्याउरे कवि भनेर हेपिए । जब तिनले अभिजात चरित्रका महाकाव्य लेखे तब अभिजात पण्डितहरू पनि तीप्रति उत्सुक भए । उत्तरआधुनिकमा ठूलो/सानोको कडाइ छैन यसकारण त्यहाँ उपेक्षित, किनारीकृत, बिलिंगी, समलिंगी, तृतीय लिंगीलगायत सब आकृष्ट हुन्छन् ।

 नेपाली साहित्यमा ‘उत्तरआधुनिक' शैली पछ्याएर लेख्ने लेखकहरू को को छन् ?
- नेपाली २०३० को दशकदेखि नै उत्तरआधुनिक बोध जागृत हुन गयो । सिर्जना र समालोचना दुवैमा यसका लक्षण प्रकट हुन थाले । २०५० को र २०६० को दशक उत्तरआधुनिक लेखनको समृद्धतामा चर्चित छ । लेखनमा मात्र होइन, आचारण र व्यवहारमा पनि यसका कैयौं लक्षण गोचर भइसके । मेरा विभिन्न कृतिमा मैले उत्तरआधुनिक लक्षणको खोजमेल गर्दै कैयौं लेखक, साहित्यकारलाई ल्याउने प्रयत्न गरेको छु । ‘उत्तरआधुनिक जिज्ञासा'-२०६४ तथा ‘उत्तरआधुनिक संवाद'-२०६७ जस्ता कृति पठनीय भएकोले यहाँ ती साहित्यकारहरूको नामोल्लेख अपेक्षित ठानिएन ।


तपाईंको नयाँ उपन्यास त अत्तरआधुनिक नै होला नि, है ?
- उपन्यास उत्तरआधुनिक छ । तर, मिसिएको पनि छ । यसमा आधुनिक प्रवृत्ति छ साथसाथै रुमानी र काल्पनिक चित्रणहरू पनि छन् । यसमा प्रविधि र अर्थराजनीतिको निकै प्रभाव छ । साथसाथै प्राकृतिक र मानवीय वृत्तिको उपेक्षा हुनुहुँदैन भन्ने सन्देश पनि निहित छ । यसलाई आख्यान र उपन्यास दुवै रूपमा हेर्न मिल्छ, आख्यान भन्नाले हामी कथा भएको र साथसाथै विभिन्न चित्रण मिसिएको विधाका रूपमा हामी बुझ्दछौं । उपन्यास विधाको विकास पश्चिममा १९औं र २०औं शताब्दीमा भयो । शुद्ध उपन्यास भनेर पनि लेखिए । त्यस्ता उपन्यास अहिले लेखिनैपर्छ भन्ने छैन । शुद्ध कहलाएका उपन्यासमा पनि धेरै विषय र शिल्प मिसाएका हुन्छन् ।


के हो उपन्यासको मूल विषय ?
- मानव समाज नै यसको मूल विषयवस्तु हो । तर, कसिलोसित भन्ने हो भने एक युवक र एक युवतीको एकदिने भ्रमणको कथा हो यो । दुई युवा युवतीले भ्रमणका क्रममा हाम्रो समाजलाई जे जस्तो देखे, जे जस्तो पाए, त्यसमा अनेक रूप र छविहरू उपन्यासमा गोचर हुन्छन् । यी युवायुवती आफ्ना जीवनदर्शन अँगालेर उभिएका छन् । युवक संस्कृतिको पक्षमा उभिएको छ । अहिले भनिन्छ, कि वर्तमान युग कल्चरल टर्नको युग हो । अर्थात् संस्कृतितिर झुकाव भएको युग हो । हाम्रो संस्कृतिलाई आत्मसात् गर्दै प्रविधिले ल्याएको नयाँ छवि र विम्बको अद्यतन परिवर्तनलाई अंकित गर्दै उत्तरआधुनिकतातिर यसले प्रयाण लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.