वषौंसम्म अपराधी 'अज्ञात'

 वषौंसम्म अपराधी 'अज्ञात'

घटना १

पसलमा रहेकी सासूलाई श्रीमतीले बनाइदिएको चिया पुर्‍याएर कृष्णमान व्यञ्जनकार अफिसतिर लागे । सासू ज्ञानमाया मानन्धरले केही बेरमा घरमा रहेकी छोरी शान्तिलाई फोन गरिन् तर उठेन । लगातार फोन नउठेपछि शान्तिले ज्वाइँ कृष्णमानलाई फोन गरिन् । कृष्ण आत्तिँदै घर पुगे । ढोका खुलै थियो । तर, फोन लाइन काटिएको रहेछ । तेस्रो तलामा पुग्दा कोठामा क्षतविक्षत अवस्थामा ३० वर्षीया श्रीमती शान्तिको शव देखे ।

ललितपुरको खपिन्छेमा ०५५ साल भदौ २४ गते दिउँसो भएको घटना हो यो । घटना भएको १९ वर्ष बित्न लाग्दा शान्तिको हत्या कसले गर्‍यो खुल्न सकेको छैन । श्रीमान् कृष्णमान र आमा ज्ञानमायाले छुट्टाछुट्टै जाहेरी दिँदै कर्तव्य ज्यानमा घटनाको अनुसन्धानका लागि निवेदन दिएका थिए । मृतकका दुई छोरी र एक छोरा थिए । दाजुभाइ कोही नभएकाले शान्ति आमासँग बस्दै आएकी थिइन् । कृष्णमान पनि प्राय: त्यहीँ बस्थे । कृष्णमान र ज्ञानमाया दुवैको काठ पसल भएकाले प्रहरीले त्यहीँ काम गर्नेमाथि शंका गरेर अनुसन्धान अगाडि बढायो । तर, अपराधी पत्ता लागेनन् ।

घटना २.
राजेशकाजी शाक्य र श्रीमती आशामाया साँझ आफ्नो सुन पसल बन्द गरी घर जान लाग्दा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्‍यो । राजेशकाजीको घटनास्थलमै र आशामायाको उपचारक्रममा ज्यान गयो । आक्रमणकारीले सुनका गरगहना पनि लुटे । घटनाको अनुसन्धानमा पूर्वसैनिक सुमन गिरी तानिए । लुटिएको सुन सुमनले धर्मपथस्थित नेपाल बैंकमा धितो राखी पैसा निकालेको फेला पर्‍यो । त्यतिबेला छुट्टै घटनामा सैनिक अदालतको आदेशले थुनामा रहेका सुमनको संलग्नताबारे प्रहरीले पर्याप्त प्रमाण जुटाउन सकेन । काठमाडौंको बांगेमुडामा ०६१ साल असोज ११ गते भएको यो हत्याकाण्ड अझै अनुसन्धानक्रममा छ ।

'पेन्डिङ मुद्दाको संख्या घटाउँदै लैजाने हाम्रो लक्ष्य छ । त्यसैअनुसार जिल्ला, अञ्चल तथा क्षेत्रीय प्रमुखको ध्यानाकर्षण गराएका छौं ।' -पुष्कर कार्की, केन्द्रीय प्रवक्ता, नेपाल प्रहरी

घटना ३.
पाँच वर्षअघि ललितपुरको सानेपास्थित एक घरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका ५५ वर्षीय दिवाकर चन्दको शव सडेगलेको अवस्थामा उनकै फ्ल्याटमा भेटियो । परिवारसँग मनमुटाव भएपछि उनी एक्लै बस्दै आएका थिए । पोस्टमार्टम रिपोर्टमा चन्दको घाँटी थिचेर हत्या भएको देखियो । घरबेटी उक्त घरमा नबस्ने र चौथो तला पूरै भाडामा लिएर बसेकाले चन्दको हत्या कहिले भएको थियो भन्ने प्रहरीले पत्ता लगाउन सकेन ।

कर्तव्य ज्यानसम्बन्धी मुद्दाको २० वर्षसम्म हद म्याद हुन्छ । मुद्दा दर्ता भएको बढीमा २० वर्षभित्र अनुसन्धान गरेर अदालतमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । २० वर्षसम्म हत्यारा पत्ता लाग्न नसके त्यस्ता मुद्दा तामेलीमा जान्छन् । उपत्यकाभित्र ०५४ सालयता दर्ता भएका चार सय ९३ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा अनुसन्धानकै क्रममा छन् । यसमध्ये सबैभन्दा बढी काठमाडौंमा मात्र तीन सय ५० वटा मुद्दा छन् । यस अवधिमा देशभरको तथ्यांक हेर्ने हो भने कर्तव्य ज्यानसम्बन्धी चार हजार दुई सय १९ मुद्दा अनुसन्धानक्रममा (पेन्डिङ) छन् ।

आर्थिक वर्ष ०७३/७४ मा मात्र दर्ता भएकामध्ये एक सय ६३ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा पेन्डिङमा छन् । मुद्दा पेन्डिङ रहनुको कारणबारे प्रहरी भन्छन्, 'सुरुको अनुसन्धानमा कोही प्रतिवादी खुलेन वा किटानी जाहेरी परेका प्रतिवादीको अपराधमा संलग्नता देखिएन । र, मुद्दा थाती रहँदै गए।

यसअघि ललितपुर प्रहरी परिसरको प्रवक्ता भएर काम गरेका उपरीक्षक (एसपी) ईश्वर कार्की प्रहरीभित्र सीमित जनशक्ति भएको र नयाँ मुद्दालाई पहिलो प्राथमिकता दिनुपर्ने हुँदा पुराना घटनाको अनुसन्धान थाती रहने गरेको बताउँछन् । प्रहरीमा पेन्डिङ मुद्दाकै लागि अनुसन्धान गर्ने भनेर नियमित काम गर्ने संयन्त्र छैन ।

'पेन्डिङ मुद्दाको संख्या घटाउँदै लैजाने हाम्रो लक्ष्य छ । त्यसैअनुसार हामीले जिल्ला, अञ्चल तथा क्षेत्रीय प्रमुखको ध्यानाकर्षण गराएका छौं', नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पुष्कर कार्कीले भने । प्रहरी युनिटका इन्चार्जको प्राथमिकता तथा बेवास्ताका कारण पेन्डिङ मुद्दाको संख्या बढ्ने गरेको उनी स्विकार्छन् । 'कतिपय घटनामा अपराधी तत्काल पत्ता लाग्दैनन् तर पत्ता लगाउने काम हाम्रै हो भनेर काम गर्नुपर्छ', कार्की भन्छन् ।

रामेछापकी सुन्तली तामाङको हत्या प्रकरणका आरोपी पाँच वर्षपछि फेला परे । किटानी जाहेरी परेका अभियुक्त खोज्न प्रहरीले खासै चासो दिएको थिएन । 'म मध्य क्षेत्र पुगेलगत्तै थाती रहेका पुराना र ठूला घटनाबारे पुन: अनुसन्धान अगाडि बढाएँ । चासो दिएकै कारण सुन्तली तामाङ हत्याका अभियुक्तसम्म पुग्न सफल भयौं', मध्यक्षेत्रीय प्रहरी प्रमुख गणेश केसी भन्छन् ।

किन यति धेरै थाती ?

ललितपुरको धापाखेलमा सात वर्षअघि ४० वर्षीय प्रेमलाल महर्जनको 'शंकास्पद' मृत्यु भयो । जाहेरीवालाले कर्तव्यज्यान मुद्दामा अनुसन्धान गरिपाऊँ भनी निवेदन दिए पनि किटानी जाहेरी परेन । मृतक र उनकी श्रीमती सानुमायाबीच झै-झगडा भइरहने आधारमा प्रहरीले सानुमायाविरुद्ध मुद्दा चलायो । पोस्टमार्टम रिपोर्टमा पेटमा भएको घाउबाट रगत बगेर मृत्यु भएको देखियो ।

अनुसन्धान क्रममा सानुमाया निर्दोष देखिइन् र कुटपिट गरी मारेको नभएकाले जिम्मा जमानीमा छाडियो । तर, उक्त मुद्दा अझै पनि थाती छ । 'केही मुद्दा आत्महत्या वा भवितव्यका कारण मृत्यु भए पनि कर्तव्य ज्यानमा अनुसन्धान गरिपाऊँ भनी प्रतिवादी नखुलाई वा किटानी जाहेरी दिएर मुद्दा दर्ता हुन्छ । अनुसन्धानमा भवितव्य वा आत्महत्याकै कारण मृत्यु भएको देखिन्छ तर यस्ता मुद्दा सरकारी वकिलले अगाडि बढाउँदैन र अनुसन्धानकै क्रममा रहन्छ', मुद्दा शाखामा काम गर्ने एक पुराना प्रहरी अनुसन्धान अधिकृत भन्छन् ।

पुराना अपराधमा सफलता

चर्चित रानीबारी हत्याकाण्डमा १२ वर्षपछि अभियुक्त पक्राउ परे । लामो अनुसन्धानपछि सीआईबीले तीन वर्षअघि दुई जनालाई पक्राउ गरेको थियो । त्यसअघि विभिन्न समिति बने पनि सफलता प्राप्त गर्न सकेका थिएनन् । ललितपुरको बडिखेलमा मारिएका एकै परिवारका पाँच जनाको हत्याकाण्डका अभियुक्त १२ वर्षपछि पत्ता लागेको थियो ।

महानगरीय अपराध महाशाखाको टोलीले यो चर्चित हत्याकाण्डको अनुसन्धानलाई फेरि अगाडि बढाएर अभियुक्तसम्म पुगेको थियो । 'एकपटक गरेको अनुसन्धानलाई निष्कर्षसम्म पुर्‍याउने र थाती रहेका मुद्दाको फस्र्योट गर्दा थाती हुने मुद्दाको संख्या घट्दै जानेछ', प्रहरी प्रवक्ता कार्की भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.