सवारी चलाएबापत पाँच गुणा शुल्क बढाउने तयारी
काठमाडौं : सडक बोर्ड नेपालले सवारीसाधन चलाएबापत सवारीधनीले तिर्नुपर्ने सडक दस्तुर बढाउने प्रस्ताव गरेको छ । बोर्डले सडकमा सवारीसाधन चलाएबापत तिर्नुपर्ने दस्तुरलाई करिब पाँच गुणासम्म बढाउने प्रस्ताव गरेको हो ।
बोर्डले अहिले विभिन्न चारवटा राजमार्गमा सवारीसाधन चलाएबापत लिने सडक दस्तुरबाट वार्षिक ११ करोड ९४ लाख ४६ हजार रुपैयाँ संकलन गर्दै आएको छ । सडक मर्मतमा आवश्यक रकम खर्च गर्न नपुगेको भन्दै बोर्डले सडक दस्तुर बढाउने तयारी गरेको हो । सरकारले दिने गरेको रकमले सडक मर्मत गर्न नपुगेको र आफ्नै स्रोत बढाउन अर्थ मन्त्रालयले पनि सकारात्मक संकेत दिएकाले २०५८ सालदेखि उठाइँदै आएको सडक दस्तुर वृद्धिको प्रस्ताव गरिएको सडक बोर्ड नेपालका निर्देशक सागर ज्ञावालीले जानकारी दिए ।
‘सरकारले देशभरको सडक मर्मत गर्न आवश्यक रकमको जोहो बोर्डले नै गर्नुपर्ने व्यवस्था गरेको छ’, उनले भने, ‘तर आवश्यक स्रोतको अभावमा प्रभावकारी काम नहुने भएकाले आफ्नै स्रोत बढाउन लागिएको हो । सडक मर्मतकै नाममा संकलन हुने सबै शुल्क पनि बोर्डमै ल्याउने पहल भइरहेको छ।’
बोर्डले जुन सडकबाट शुल्क संकलन गर्छ, त्यसैको मर्मतमा रकम खर्च गर्ने दाबी गरेको छ
बोर्डले हेटैाँडा-नारायणगढ, नारायणगढ-बुटवल, नौबीसे-मुग्लिङ र भैरहवा-भूमही सडकखण्डमा हाल मोटरसाइकलको पाँच रुपैयाँ सडक दस्तुर लिने गरिएको छ । यी सडकखण्डमा अहिले भारी सवारीसाधनको दस्तुर क्रमशः २०, ३०, २५ र १० रुपैयाँ छ । तर यी सडकमा प्रस्ताव गरिएको दस्तुर क्रमशः ३०, ४०, ३५ र १५ रुपैयाँ छ । अहिले लिइँदै आएको शुल्कमा कम्तीमा १० प्रतिशतले वृद्धि प्रस्ताव गरेर नयाँ शुल्क तोक्न लागिएको सडक बोर्ड नेपालले जानकारी दिएको छ ।
हालसम्म सडक दस्तुर शुल्क तय भएर पनि उठाउने नगरेका अन्य सातवटा सडकखण्डमा पनि बोर्डले मोटरसाइकललाई १० देखि ३० रुपैयाँ, भारी सवारीलाई सडकअनुसार २५ देखि तीन सय ९० र हलुका सवारीलाई पनि १५ देखि दुई सय ३५ रुपैयाँसम्मको प्रस्ताव गरेको बोर्डको भनाइ छ।
बोर्डले हाल सडक उपभोग दस्तुरमार्फत सीधै संकलन हुने रकम मात्रै वृद्धि गर्ने प्रस्ताव गरेको हो । बोर्डको यो प्रस्ताव सहमतिका निम्ति अर्थ मन्त्रालयमा पुगेको छ । बोर्डले आफ्नो आम्दानीको स्रोत बढाउन गरेको प्रस्ताव सकारात्मक रहेको अर्थ मन्त्रालयका उपसचिव दिलीप अधिकारीले
बताए । बोर्डले नयाँ दस्तुर उठाउन ठेकेदार छनोटका लागि सार्वजनिक प्रस्तावको अन्तिम तयारी पनि गरिसकेको छ । सरकारबाट प्रस्ताव स्वीकृत हुनासाथ नयाँ दस्तुर उठाउन उपयुक्त ठेकेदार छनोटका लागि प्रस्ताव आह्वान गर्ने बोर्डको भनाइ छ ।
बोर्डले उठाएको यस्तो शुल्क जुन सडकबाट संकलन हुने हो, सोही सडक मर्मतमा खर्च गर्ने दाबी पनि गरेको छ । बोर्डको मर्मतको दायित्व देशभरका राजमार्ग र बाह्रै महिना सवारी चल्ने स्थानीय सडक पनि हुन् । हाल बोर्डले सीमित राजमार्गमा मात्रै यस्तो शुल्क उठाएर सोही क्षेत्रको मर्मतमा खर्च गर्ने गरेको ज्ञवालीले बताए ।
बोर्डले हाल आफैले उठाएकोबाहेकको शुल्क सरकारले करका रूपमा लिने गरेको छ । उक्त रकम सीधै बोर्डलाई प्राप्त हुँदैन । वार्षिक २० अर्ब रुपैयाँ संकलन हुने भए पनि सरकारले भने बोर्डलाई चार अर्ब रुपैयाँ मात्रै निकासा दिने गरेको छ । तसर्थ बोर्डले सबै रकम निकासा गरेर प्रभावकारी सडक मर्मत गर्न सकिने किसिमले दस्तुर बढाउने तयारी थालेको हो ।
यस्तो सडक मर्मत शुल्क बोर्डले सडक विभागअन्तर्गतको सडक मर्मत महाशाखालाई राजमार्गको मर्मत र स्थानीय सडकलाई सोही क्षेत्रको मर्मतमा निकासा गर्दै आएको छ ।