चिनियाँ सांस्कृतिक क्रान्तिको फरक पाटो

चिनियाँ सांस्कृतिक क्रान्तिको फरक पाटो

सन् १९४९ मा सम्पन्न चिनियाँ क्रान्ति विश्व कम्युनिस्ट आन्दोलनमा मात्र नभई विश्व-राजनीतिमै नयाँ मोड थियो । चिनियाँ क्रान्तिपछि विश्वमा कम्युनिस्ट क्रान्तिको नयाँ रूप पनि थपियो । माओत्सेतुङको नेतृत्वमा भएको उक्त क्रान्तिले दोस्रो विश्वयुद्धको अन्त्यसँगै संसारभर भइरहेका स्वाधीनता संग्राममा नयाँ इँटा त थप्यो नै राजनीतिक परिवर्तनको सन्दर्भमा नयाँ बहसको सुरु पनि गर्‍यो । एक सय चार वर्ष उपनिवेश भोगिरहेको चीनमा भएको परिवर्तनले जापानी उपनिवेशबाट देशलाई स्वाधीन त बनायो नै सँगसँगै घरेलु राजनीतिमै व्यवस्था नै परिवर्तन गरिदियो ।

सन् १९११ मा भएको गणतान्त्रिक आन्दोलनबाट सत्तामा आएको क्वोमिन्ताङ पार्टी र च्याङ काइ सेकको शासन अन्त्य भयो । सँगसँगै चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ शासन व्यवस्था सुरु भयो जसलाई माओले नौलो जनवाद भनेका थिए । सामन्तवादी शासन व्यवस्था र उपनिवेशले जर्जर पुरानो चीन ‘जनवादी गणतन्त्र चीन'मा रूपान्तरित भयो ।

चिनियाँ कम्युनिस्ट पार्टी सत्तामा आएसँगै आर्थिक र सामाजिक परिवर्तनहरू सुरु भए । सामूहिक खेती, सहकारी हुँदै चिनियाँ कम्युनिस्ट पार्टीले सुरु गरेको कम्युन संसारमै नौलो थियो । समाज नै परिवार, परिवार नै समाजको रूपमा निर्माण गरिएको कम्युन सामूहिक जीवनको नयाँ अभ्यास थियो । यो कम्युनिस्टहरूले परिकल्पना गरेको साम्यवादी समाजको सिद्धान्तमा आधारित थियो । सन् १९५० को मध्यतिर आइपुग्दासम्म त चीनले समाजवादी व्यवस्थाको अभ्यास सुरु गरिसकेको थियो । तर, चिनियाँ कम्युनिस्ट पार्टीभित्र र सत्तामा दुवैमा पुँजीवादी चिन्तन हावी भएको र त्यसलाई जरैदेखि उखेलेर नफाल्दासम्म चिनियाँ क्रान्ति सफल नहुने माओको ठम्याइथियो । त्यसैले पार्टी र सत्तामा भएको पुँजीवादी चिन्तनविरुद्ध भन्दै माओको नेतृत्वमा पुन: क्रान्ति सुरु भयो । यो यस्तो ‘क्रान्ति' जसमा क्रान्तिकारी शक्ति नै सत्तापक्ष थियो । सत्ता सञ्चालन गरिरहेको पार्टी नै आन्दोलनकारी थियो । सन् १९६६ मा सुरु भएको यो क्रान्तिको नाम दिइएको थियो - सांस्कृतिक क्रान्ति ।

देङ रोङको पुस्तक ‘देङ स्याओ पिङ और सांस्कृतिक क्रान्ति' यही सांस्कृतिक क्रान्तिकालदेखि सुरु हुन्छ । रञ्जन बर्माले यो पुस्तक हिन्दीमा अनुवाद गरेका हुन् । पुस्तकको नामबाटै थाहा हुन्छ, यो चिनियाँ नेता देङ स्याओ पिङ र सांस्कृतिक क्रान्तिसँग सम्बन्धित छ । लेखक रोङ देङ स्याओ पिङकी छोरी हुन् । सांस्कृतिक क्रान्तिको समयमा चिनियाँ कम्युनिस्ट पार्टीभित्रकै केन्द्रीय तहका नेताहरूलाई नै मुख्य दुश्मन ठानिएको थियो । उनीहरूलाई पुँजीवादी गुट भनिन्थ्यो । माओले त नारा नै दिएका थिए - हेडक्वार्टरमा बम हिर्काउ । पुँजीवादी गुटका नाइकेको रूपमा ल्यु शाओचीलाई लिइन्थ्यो । देङ स्याओ पिङलाई शाओची गुटको दोस्रो व्यक्तिको रूपमा लिइन्थ्यो ।

सिंगो पुस्तक सांस्कृतिक क्रान्ति, देङ स्याओ पिङ, ल्यु साओची, माओ र ग्याङ अफ फोरमै बढी केन्द्रित छ । सांस्कृतिक क्रान्ति कुन उद्देश्य र लक्ष्यका साथ माओले सुरु गरेका थिए ? त्यसको लक्ष्यमा पुग्न नसक्नुको कारण ? त्यसमा भूमिका खेल्ने नेताहरूको भूमिका के थियो ? आदि प्रश्नको जवाफ खोजिएको छ पुस्तकमा । चिनियाँ क्रान्तिमा महत्ववपूर्ण भूमिका खेलेका कयौ नेताहरू सांस्कृतिक क्रान्तिको समयमा कसरी पदबाट हटाइए र उनीहरूमाथि केके आरोप लगाइए भन्नेबारे बेलिविस्तार दिइएको छ ।

माओपछिको दोस्रो नेता ल्यु साओचीलाई हटाएर कसरी लिन प्याओ माओका उत्तराधिकारी बनाइए भन्ने सन्दर्भले तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीभित्रको शक्ति संघर्षलाई बुझ्न मद्दत गर्दछ । सांस्कृतिक क्रान्तिमा सहभागी विश्वविद्यालयका विद्यार्थीले चीनमा पुँजीवादी र संशोधनवादी भनेर पुराना नेतामाथि कस्तो व्यवहार गरे, त्यसलाई माओ नेतृत्वले कसरी साथ दियो भन्ने बुझ्न यो पुस्तक निकै उपयोगी छ । स्कुल र विश्वविद्यालयका शिक्षकलाई बुर्जुवा भन्दै सार्वजनिक रूपमा नै आलोचनाको तारो बनाइएको थियो ।

सांस्कृतिक क्रान्ति कुन उद्देश्य र लक्ष्यका साथ माओले सुरु गरेका थिए ? त्यसको लक्ष्यमा पुग्न नसक्नुको कारण र त्यसमा भूमिका खेल्ने नेताहरूको भूमिका के थियो ? आदि प्रश्नको जवाफ खोजिएको छ पुस्तकमा ।

यो अभियान देशभरि आगो सरी फैलिएपछि ल्यु साओची र देङ स्याओपिङले यसको समर्थन गरेनन् । त्यही समर्थन नगर्दा नै उनीहरूलाई संशोधनवादी र पुँजीवादीको आरोपमा पदबाट बर्खास्त गरियो । प्रमुख दुई नेतालाई विद्यार्थीमाथि दमन गरेको आरोप सांस्कृतिक समूहका दोस्रो तहका नेता चेन बोडा, लिन प्याओ, च्याङ चिङ लगायतकाले सार्वजनिक रूपमा आलोचना गर्न सुरु गरे । सार्वजनिक स्थानमा, विद्यालय र विश्वविद्यालयमा पोस्टर टाँसेर आलोचनाको क्रम सुरु भयो ।

देङलाई सन् १९६७ जुलाई १६ मा पदबाट बर्खास्त गरिएको थियो तर उनको अनुरोधमा पार्टी सदस्यता भने खारेज भएन । ल्यु साओचीको हकमा भने त्यस्तो लागू भएन । कुनै समय चिनियाँ क्रान्तिका कमान्डर देङको घरमा नै खानतलासी सुरु गरे सांस्कृतिक समूहका रेड गार्डहरूले । उनको घरको खानतलासी गरेको दिनबाट नै नजरबन्द पनि सुरु भयो । उनीसँगै उनकी श्रीमतीलाई पनि । पुँजीवादी समूहको नेतृत्वकर्ताको रूपमा परिचित ल्यु साओचीको भने पहिला नै मृत्यु भयो । उनकी श्रीमती भने जेलमा नै थिइन् ।

देङलाई कारबाही गरे पनि उनकी छोरीले माओबारे यस्तो लेखेकी छिन् - ‘माओ एक महान् व्यक्ति थिए । सर्वकालीन प्रभावशाली हस्ती थिए । उनका विचार र कामको चर्चा सामान्य व्यक्तिको अन्दाजमा गर्न सकिँदैन ।' उनले ठाउँठाउँमा माओका भनाइ उद्धृत गरेर त्यसको व्याख्यासमेत गरेकी छिन् । माओले भनेका थिए - ‘ममा बाघ विशेषता छ र बाँदरको पनि ।' लेखकले यो भनाइको यसरी व्याख्या गरेकी छिन्- ‘बाघको विशेषता हो शासन र निरंकुशता । बाँदरको विशेषता हो युद्धप्रिय र विद्रोही ।' लेखक र उनका भाइबहिनीले सांस्कृतिक क्रान्तिको पूरै समय ‘पुँजीवादी र सुधारवादी'को सन्तान भएको आरोपमा श्रमशिविरमा जीवन बिताउनु परेको थियो ।

लेखकका जेठा दाइ पुफागं र दिदी डेंग नालाई सांस्कृतिक क्रान्तिका रेडगार्डहरूले आँखामा पट्टी बाँधेर कब्जामा लिएको वर्णन गरेकी छन् । पुफाँगलाई मानसिक र शारीरिक यातनासमेत दिइएको थियो । त्यही यातनाको कारण उनको कम्मरमुनिको भाग जीवनभर चलेन । उनको उपचार पनि धेरै समयसम्म राम्रोसँग गरिएन । कारण थियो- ‘पुँजीवादी र सुधारवादी'को सन्तान हुन् । यी प्रसंगले ‘सांस्कृतिक क्रान्ति' भित्रका कमजोरीहरू उजागर गर्छन् । सायद यिनै कारणले अहिले चिनियाँहरू सांस्कृतिक क्रान्तिलाई ‘हिस्टरीकल आउन्ड' (ऐतिहासिक घाउ) भन्ने गर्छन् ।

भनिन्छ दिन सबैका आउँछन्, सहनुपर्छ । चिनियाँ सांस्कृतिक क्रान्तिले नै पुँजीवादी, संशोधनवादी भन्दै सात वर्षसम्म श्रमशिविरमा राखेका देङ स्याओपिङलाई माओ आफैंले पुन: पदबहाली गराए । तर, यो दीर्घकालीन भने भएन । देङ पुन: कारबाहीमा परे तीन वर्ष । पुस्तकको सबैभन्दा रोचक पाटो छ लिन प्याओको उदय र अन्त्य । सांस्कृतिक क्रान्तिको सुरुवातसँगै उच्च तहका पुराना नेताहरूलाई विभिन्न आरोपमा पदच्युत गरेपछि उदाएका पात्र हुन्- लिन प्याओ जसलाई माओले आफ्नो उत्तराधिकारी नै घोषणा गरे । विडम्बना तीनै लिन प्याओले माओको हत्या गर्ने षड्यन्त्र गरे । सेप्टेम्बर १३ सन् १९७१ मा आफैं प्लेनमा भागेर रूस जानलाग्दा जहाज दुर्घटनामा ज्यान गुमाए ।

पुस्तक केवल सांस्कृतिक अध्ययनमा मात्र सीमित छैन । यसले चीनमा कम्युनिस्ट शासन उदय भएको अघिल्लो २० वर्षको इतिहास पनि भन्छ । देङ रोङले लेखेकी छन् -‘२० वर्षदेखि नयाँ चीन अस्तित्वमा थियो तर सामान्य मान्छेहरूसँग अझै पनि खानको लागि पर्याप्तमात्रामा खाद्यान्न थिएन । लगाउनको लागि लुगा थिएन । साम्यवादीहरूले देशमुक्त गर्नको लागि आफ्नो ज्यानको बलिदान दिएका थिए । के यसैको लागि उनीहरूले आफ्नो जीवन बलिदान दिएका थिए ? ' यी सन्दर्भहरूले चिनियाँ समाज हिँडेको घुमाउरो र कठिन बाटोको अन्दाज दिन्छ ।

सांस्कृतिको क्रान्तिको एक ढंगको निकै प्रभाव परेको नेपाली कम्युनिस्ट आन्दोलनको बुझाइको सन्दर्भमा यो पुस्तक फरक कोणको लाग्न सक्छ । सांस्कृतिक क्रान्तिलाई आफैंले भोगेकी देङ रोङका अनुभव र विश्लेषणले नेपाली बुझाइमाथि बहसको माग गर्छ । एकै वाक्यमा रोङले सांस्कृतिक क्रान्तिको प्रवृत्ति उजागर गरेकी छिन्- ‘सांस्कृतिक क्रान्तिको समयमा कुनै पनि कल्याण र कुनै पनि मानवतावादलाई बुर्जुवा ढोङ भनेर भत्र्सना गरिन्थ्यो ।'

फरक कोणबाट विश्लेषण गर्दागर्दै पनि रोङले सांस्कृतिक क्रान्तिको निरपेक्ष विरोध भने गरेकी छैनिन् । उनको दाबी छ, सांस्कृतिक क्रान्ति आफैंमा गलत थिएन तर यसको नेतृत्व माओको हातमा भन्दा पनि अन्य चारजनाको हातमा जाँदा दुर्घटित भयो । निर्दोष मानिसले समेत कारबाही भोग्नुपर्‍यो । क्रान्तिकालमा महत्ववपूर्ण भूमिका खेलेका नेता र तिनका परिवारले समेत जेलमा कोचियो, हत्या गरियो ।

पुस्तकमा समेटिएका अर्का महत्ववपूर्ण पात्र हुन् चाउ एन लाई । जीवनभर प्रधानमन्त्री भएका र विश्वभर चर्चित कूटनीतिज्ञ चाउ एन लाई माओ र उनको सांस्कृतिक क्रान्तिको समूहसँग सन्तुष्ट नभएको देखिन्छ । तर, उनी बिना राज्य नै सञ्चालन गर्न नसकिने भएकाले बाध्यताका कारण प्रधानमन्त्री बनाइएको संकेत गरिएको छ । चिनियाँ राजनीतिमा सधैं मध्यमार्गी नेतृत्वका रूपमा चित्रित चाउको मृत्युपछि आलोचना गरिएको पाइन्छ । उनको मृत्युपछि श्रद्धासुमन गर्दा बढेको विवादका कारण १० वर्ष पछि सत्तामा आएका देङ स्याओपिङ छोटो समयमा नै पुन: सत्ताबाट अपदस्थ हुन पुगेको घटनाले पनि त्यो तर्कलाई पुष्टि गर्न बल दिन्छ ।

चीनको लागि सन् १९७६ उथलपुथल लिएर आउको थियो । त्यही वर्ष माओको र चाउ एन लाईको निधन भयो । सांस्कृतिक क्रान्तिका चार मुख्य नेता ‘ग्याङ अफ फोर'का वाङ होङ्वेन, च्याङ छिङ, चाङ चुन सियाओ र हुवा क्वाफेङलाई बैठकमा बोलाएर गिरफ्तार गरियो । उनीहरूको गिरफ्तारीसँगै सांस्कृतिक क्रान्तिको अन्त्य भयो । ७२ वर्षको उमेरमा पुन: देङस्याओ पिङ सत्तामा उदाए ।

पुस्तकको मुख्य उद्देश्य आफ्नो जीवनका अन्तिम दिनमा माओले थालेको सांस्कृतिक क्रान्तिको कमजोरी उजागर गर्ने नै देखिन्छ । पुस्तकभर माओको प्रशंसा गर्दागर्दै पनि रोङले उनको पछिल्लो जीवन गल्तीले भरिएको उल्लेख गरेकी छिन् । लेखेकी छन्, ‘माओ त्सेतुंग महान् व्यक्ति थिए तर उनले अन्तिम दिनमा दु:खद् गल्तीहरू गरेका थिए । जेहोस्, पुस्तकबाट सांस्कृतिक क्रान्तिका पक्षधर र विपक्षीबीच १० वर्षसम्म चलेको संघर्ष थाहा पाउन सकिन्छ । माओपक्षीय पुस्तकमात्र पाइने नेपालमा अहिले देङपक्षीय पुस्तक पनि पाइन थालेको छ । यी दुवैथरी पुस्तक पढ्दा धेरै हदसम्म चिनियाँ सांस्कृतिक क्रान्तिबारे बुझन सकिन्छ । त्यसो त रोङको पुस्तकलाई पनि तटस्थ मान्न गाह्रो छ । उनी आफैं पनि सांस्कृतिक क्रान्तिको समयमा दोषी ठहर्‍याइएकीले पनि आफ्नै खाले बुझाइहरू रहन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

पुस्तकमा ‘ग्याङ अफ फोर'बारे लेख्दा प्रयोग गरिएको भाषाले पनि त्यसरी सोच्न बाध्य बनाउँछ । ‘ग्याङ अफ फोर'को मृत्युबारे अझै यथार्थ विवरण बाहिर आएको छैन जबकि देङ बजार अर्थतन्त्रयुक्त चीनको निर्माताका रूपमा विश्वभर चर्चित छन् ।
पुस्तक : देंग श्याओपिंग और सांस्कृतिक क्रान्ति
लेखक : देंग रोङ
पृष्ठ : ३९२
मूल्य: ८०० भारतीय रुपैयाँ
प्रकाशक : प्रभात प्रकाशन दिल्ली


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.