परदेशमा देश सम्झना
‘जसो गर जे भन जतासुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो...।'
आँखाले सांसारिक दृष्टि हेर्ने सौभाग्य नपाएका शम्भुकुमार मिलन जापान पुगे तर यो गीतले भनेजस्तै उनको मन नेपालमै थियो । कवि मिलनले खण्डकाव्यमार्फत जापानमा भएको विकासदेखि जीवनका अनेक पाटालाई नेपालसँग तुलना गरेका घटना र प्रसंगले यही पुष्टि गरेको छ ।
जीवनसंगिनी निर्मला रेग्मीसँग जापान पुगेका मिलनको जापान भ्रमणपछि नेपालको विकास र सभ्यता पनि जापानजस्तो होस् भन्ने काव्यात्मक प्रस्तुतिले सुन्दर नेपालको परिकल्पना गरेको छ ।
यो यात्राकाव्यको नाम नै काफी छ, भ्रमणको भाव थाहा पाउन- ‘आँखामा जापान, मनमा नेपाल ।' किताबमा नेपालबाट प्रस्थान गरेदेखि ढाका हुँदै हङकङ पुग्दा देखेका रमणीय दृश्य र त्यसबाट प्रभावित विषय, प्लेन ढिलो हुँदा हङकङमा भएको लामो बसाइको बोध, त्यस रात विभिन्न देशबाट आएका साथीसँगको भेटघाट, चिनाजानी र विषय साटासाट, भोलिपल्ट जापान उड्दा प्लेनबाट यात्राभरि देखेका सम्पूर्ण विषयवस्तुलाई सिलसिलेवार ढंगमा कविले प्रस्तुत गरेका छन् । फरक यति छ- अन्य लेखक, कविले आफ्नै आँखाले देखेका दृश्यलाई प्रत्यक्ष अनुभूत र महसुस गरी लेख्छन् भने मिलनले पत्नीका आँखाबाट देखेका कुरा र अप्रत्यक्ष रूपमा अनुभूत र महसुस गरेका कुरालाई काव्यात्मक शैलीमा लेखेका छन् ।
जापानमा रहेका छोराबुहारी र छोरीज्वाइँले पालैपालो जापान घुमाइदिएकोमा कवि मक्ख छन् । छोरीको छोरा नातिको २०७१ चैत १५ गतेको व्रतबन्धको साइतले जुराइदिएको जापान यात्राले उनलाई भ्रमणभरि एउटै कुराले घच्घच्याइरहेको पाइन्छ, ‘हाम्रो देशमा पनि यस्तै विकास भइदिए हुन्थ्यो ।' यात्राकाव्यभित्र ६ खण्ड छन् । खण्ड वा सर्गलाई कविले ‘पाइलो' भनेका छन् । पहिलो पाइलोमा ‘चाँजोपाँजो', दोस्रो पाइलोमा ‘जापान प्रवेश', तेस्रो पाइलोमा ‘जापानी जीवन', चौथो पाइलोमा ‘विकास र सौन्दर्यको होडबाजी', पाँचौं पाइलोमा ‘प्रकृतिमाथि मानवको विजय' र अन्तिम पाइलोमा ‘आक्रान्त देश र पुनरागमन' शीर्षकमा यात्रालाई सुव्यवस्थित पारेका छन् कवि मिलनले ।
कविलाई पर्यटकीय स्थानले लोभ्याएको छ । नेपाली जीवनलाई जापानी जीवनसँग तुलना गर्ने कविले तेस्रो पाइलोमा जापानको जीवन फूलको संसारजस्तो लागेको भावना पोखेका छन् । विकास र सौन्दर्यको जापानको होडबाजी नेपालभित्र भइदिए हुन्थ्यो भन्ने कवि चामत्कारिक विकास देखेर लठ्ठ बनेका छन् ।
कवि शम्भुकुमार मिलन नेपालमा २०७२ वैशाख १२ गते गएको भूकम्पको समयमा जापानमै थिए । सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट नेपालको बीभत्स दुर्घटना र घटनाका गतिविधि ग्रहण गरी उनले त्यसले नेपालीको जीवनमा पारेको डरलाग्दो असरलाई अन्तिम पाइलोमा समेटेका छन्, ‘हे दैव ! यस्तो भन के गरेको ? हेरौं कसोरी अब सिर्जना मरेको । चर्किन्छ छाती भल अ श्रुधारा, देला र कल्ले अब लौ सहारा ? न गाँस खाने न छ बस्न बास, न मर्नु बाँच्नु छ नि सर्वनाश... ।'
नवौं किताबका रूपमा पाठकलाई यो किताब दिने कवि मिलनले किताबभित्र देशप्रेमलाई मात्र सँगालेका छैनन्, किताबले जीवन र जीवनका लागि चाहिने विकास समेतको बोध गराउँदै भूकम्पसँग जोडेर धनजनमा क्षति र बीभत्स अवस्थालाई ईश्वर गुहारेको जस्ता विषयलाई बौद्धिक र संवेगात्मक रूपमा उत्खनन गरेका छन्।
किताबभित्रको कविकलम परोपकारमा पनि जोडिएको छ । सकारात्मक सोचका साथ सेवाभावलाई सार्थक जीवनको उपज ठान्ने र त्यसबाट विकासको बाटो अघि बढ्ने उनको ठहर छ । अध्यात्मवादी दृष्टिकोणबाट विश्वदृष्टिलाई समायोजन गर्ने कवि मिलनले धर्मपत्नीका आँखाबाट पाएको दृष्टि र मुखबाट पाएको वर्णनलाई जसरी काव्यमा सरल भाषाशैलीका साथ बोध्य भावमा प्रस्तुत गरेका छन् त्यो चानचुने कुरो होइन ।
लेखक : शम्भुकुमार मिलन
विधा : यात्राकाव्य
प्रकाशक : ऐरावती प्रकाशन
मूल्य : १५० रुपैयाँ