दानको महता बोकेको पञ्चदान पर्व
भक्तपुर : बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्शाउने पञ्चदान पर्व शनिबार भक्तपुरमा धुमधामसँग मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा बौद्धमार्गी नेवारहरुले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दक्षिणा दान दिएका हुन् ।
बौद्धमार्गीहरुसँगै अन्य धर्म, जाति, भाषा र सम्प्रदायकाले समेत शनिबार आफ्नो गक्ष एवं क्षमताअनुसार दान गरेका छन् । यसरी दिइएको दान थाप्न बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत मंगलबार दिनभर भिक्षाटनमा सहभागी भएका थिए । बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर लाम लाग्दै अन्न, फलफूल र दक्षिणा दान थापेका हुन् ।
बौद्धमार्गीहरुले आफू बुद्धका अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र यसै दिन उक्त दान प्रदान गर्ने भक्तपुर बौद्ध सम्पदा संघका पूर्वअध्यक्ष पद्मसुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार बुद्ध धर्ममा प्रवजित बालकदेखि वृद्धसम्मका बौद्धमार्गीहरु बौद्ध आचरणअनुसार दान लिन जानुपर्छ ।
‘यसरी पञ्चदानमा दान थाप्नेहरुले नुहाइधुवाइ गरी पञ्चशील पालना गर्नुपर्छ', उनले भने, ‘पञ्चदानको दिन दान थाप्नेहरुले खीर, दूध, फलफूल आदि मात्र भोजन गर्न हुने मान्यता छ ।'
भक्तपुरको पञ्चदान पृथक
काठमाडौं उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व पृथक र विशेष किसिमको रहेको छ । भक्तपुरमा शनिबार ऐतिहासिक तथा पुरातात्विक महत्वका पाँचवटा महाविहारमा रहेका दीपंकर बुद्धहरुलाई नगर परिक्रमा गराइएको छ । क्वाठडौंस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका दीपंकरहरुलाई भक्तपुर नगर परिक्रमा गराइएको हो ।
शनिबार बिहानै यी पाँच दीपंकरहरुको भक्तपुर नगरपालिका ९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा बाजागाजासहित पूजाआजा गरिएको छ । पूजापछि दीपंकर बुद्धहरुलाई भक्तपुर नगरका १० वटै वडाका टोल-टोलमा परिक्रमा गराइएको छ । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा सम्पन्न भएपछि बाजागाजासहित टौमढीस्थित पश्चिम डवलीमा दीपंकरहरुलाई विराजमान गराएर पञ्चदान पर्व समापन गरिन्छ । समापनमा भक्तपुर टौमढीमा दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाइन्छ । पञ्चदान पर्वमा भक्तपुरको विशेषता भनेकै गुँलाबाजा बजाउनु रहेको बौद्धमार्गी सुरेन्द्र शाक्यले बताउँछन् ।
‘दानगाथा र स्त्रोत्र वाचनसँगै गुँलाबाजा बजाउनु नै भक्तपुरको पञ्चदान पर्वको पृथकता हो', उनले भने । उनका अनुसार नेपाल संवत्अनुसार गुँला महिनाभर बजाइने उक्त गुँला बाजा पञ्चदान पर्वबाहेक अन्य धर्म तथा जात्रा एवं पर्वमा बजाउन हुँदैन ।
लतिलपुरमा यो पर्व श्रावण शुक्ल अष्टमीका दिन नै मनाइसकिएको छ । तर भाद्र कृष्ण त्रयोदशीका दिन भक्तपुर, काठमाडौं, ठिमी र बनेपालगायतका ठाउँमा मनाइन्छ । त्यस्तै नेपालबाट तिब्बत गएका बौद्धमार्गीहरुले चीनको स्वशासित क्षेत्र तिब्बतमा समेत पञ्चदान पर्व भाद्र शुक्ल त्रयोदशीकै दिन मनाउँछन् । नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले पञ्चदान पर्व प्रचलनमा ल्याएको किम्बदन्तीमा उल्लेख छ ।