गुफापोखरीका दर्शनार्थी

 गुफापोखरीका दर्शनार्थी

लेकाली हरित प्रकृति र हावापानीको सुरम्यता । हुस्सुभित्र हराइरहेको गोरेटो बाटो । मेन्छ्याम डाँडा वरिपरिको विनोदी प्राकृतिक आभा । त्यही डाँडाको उँभोतिर शिर उचालेर लस्करै उभिएका हिमालहरू- कञ्चनजंघा, कुम्भकर्ण, मकालु, महालंगुर । तिनीहरूका निख्खर सेता टाउका र त्यसमाथि फुसफुस झरिरहने हिउँ, मडारिरहने बादल । ठाउँठाउँमा झुरुप्प परेका चौंरीगोठ र भेडीगोठ । पहिलोचोटि गुफापोखरी पुग्ने यात्रीलाई मन्त्रमुग्ध पार्न यी सबै मिलेर सौन्दर्यको बजार लगाइरहेका देखिन्छन् ।

अघिल्लो वर्षको भाद्र महिना । मौसम राम्रोसँग खुलेको थिएन, के-के नपुगेर ठुस्किएकी प्रेमिकाजस्तो थियो मौसम । तर, घुम्ने आदत बसेको मलाई कहाँ-कता जाऊँ भई नै रह्यो । र, पाइलाहरू सोझिए- पूर्वी पहाडको काखमा थुपुक्क बसेको गुफापोखरीतिर । पैताला उत्साहित थिए । धरानबाट धनकुटा हिले हँदै तीनजुरे मिल्केको बाटोतिर अगाडि बढाएँ तिनलाई । ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको त्रिवेणी संगम गुफापोखरी पुगेर पाइला टक्क अडिए । अनि सुरु भयो- आँखाको दौड । मौसमसँग लुकामारी खेलिरहेको थियो- गुफापोखरी । मेरा आँखा र क्यामेरा लेन्सहरू सक्रिय भएका थिए । बेलाबेला प्रकृति पूर्ण रूपमा घुम्टो उघारेर चियाउँथी, फेरि घरिघरि बादलको बर्को ओढेर लुकामारी गर्थी ।
...
गुफापोखरी आइपुग्ने पुरानो चाहनाले पूर्णता पाएको थियो । म दंग थिएँ । मेरो मन प्रकृतिको यो विशाल भव्यतालाई आँखैअगाडि पाउँदा ‘अहा ! अहा !!' मात्रै भन्दै थियो । साँच्चि त्यहाँ पुग्दा मलाई आफ्नो इच्छाअनुसारका वस्तु वरदानकै रूपमा भगवान्बाट प्राप्त भएझैं लागेको थियो । मेन्छ्याम डाँडाको ‘गुफा' र बजारको ‘पोखरी' मिलेर यस ठाउँको नाम ‘गुफापोखरी' हुन पुगेको रहेछ । उचाइको हिसाब लगाउने हो भने दुई हजार आठ सय ९० मिटरमा अवस्थित छ गुफापोखरी । कञ्चनजंघा र ताप्लेजुङ पुग्ने पर्यटकहरूले जसै टेक्नुपर्ने गन्तव्यस्थल हो यो । तर, पर्यटकको सोचेजस्तो चहलपहल देखिँदैनथ्यो यहाँ । न्यून रूपमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक गुफापोखरीको स्वागत पाउँदा आफ्ना सबै थकाइ बिर्सन्छन् । यहाँ केही समय भए पनि सुस्ताउँछन् र ऊर्जा बटुलेर पुनः अघि बढ्छन् ।

गुफापोखरी पोखरीमात्र नभएर एउटा सिंगो बस्ती हो, जहाँ शेर्पाहरूको बाहुल्य छ । यस आसपास करिब ५० घर होलान् । शेर्पाली मौलिक संस्कृति, रहनसहन, भेषभूषा पनि आगन्तुकको मन जित्ने यहाँका प्रमुख आकर्षण हुन् । भदौ महिनाको यात्रा, मौसमले बेलाबेला हामीलाई धोका दिइरहँदा मन त्यति खुल्न सकेन । तर, भोलिपल्टचाहिँ एकाबिहानैदेखि मौसम खुलेर आयो । गुफापोखरी वरिपरिको वातावरण भर्खरै धोएर सुकाइराखेको पछ्यौरीझैं देखियो, एकदम बेदागी । जता हेर्‍यो उतै मन रमाउने ।


तीनजुरे, मिल्के र जलजलाले गुफापोखरीलाई थप शोभा दिएका छन् । यो स्थान गुराँसको बगैंचाजस्तो पनि लाग्छ । यहाँ ३२ भन्दा बढी प्रजातिका गुराँस पाइन्छन् । एउटै थुम्कोलाई दर्जनभन्दा बढी प्रजातिका गुराँसका रूखहरूले सिँगारेको हुन्छ ।

पोखरीमा कञ्चनजंघा, मकालु, कुम्भकर्णका सुकिला टाउका चोबलिएका देखिन्थे । बेलाबेला उठ्ने तरंगहरूमा ती टाउकाहरू नाच्दै तरंगित भएर बगिरहेजस्ता लाग्थे । गुफापोखरी अनेक सौन्दर्य-अवतारमा खुलेको थियो । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि खुबै मनोरम देखिँदो रहेछ ।
मौसमले पनि साथ दिएकोमा मन फुरुंग थियो । यस्तो कञ्चन सौन्दर्यको महक ओढेको गुफापोखरीका दर्शनार्थी बन्न पाउँदा हाम्रो मन साह्रै विनीत बन्यो ।
...

गुफापोखरी पुग्न मनग्गे पैदल यात्रा गर्नुपर्छ । संखुवासभा सदरमुकाम खाँदबारीबाट चिचिला, बाह्रबिसे हँदै पोखरी पुग्न पाँच दिन हिँड्नुपर्छ । त्यस्तै तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको दक्षिणी बाटो भएर चीनजुरे मिल्के, लामापोखरी हुँदै पनि गुफापोखरी पुग्न सकिन्छ । हामी भने तीनजुरेको बाटो हुँदै डोरिएका थियौं ।
यस पोखरीको यात्रा हाम्रा लागि निकै चुनौतीपूर्ण बन्यो । कारण, यो रुट त्यति व्यवस्थित र प्रचलित यात्रा गन्तव्यमा दर्ज भइसकेको रहेनछ । बाटोमा पसल वा होटल पाए त वरदानै साबित हुने । लेकाली खर्कैखर्कहरूको बाटो हिँड्नुपर्ने । यात्रीहरूले आफैँ खाजा, खाना, पानी र बासका लागि बन्दोबस्त गर्नुपर्ने रहेछ । चुनौतीसँग सामना गर्दै यात्रा गर्नु पो जिन्दगीको मज्जा हुन्छ । हामीले पनि प्रशस्त सामलतुमल बोकेका थिएनौं । तर, भेडीगोठहरूमा बास माग्दै र दुःखजिलो खानपिन गर्दै चुनौतीलाई सहज रूपले स्वीकार गर्‍यौं । एवं रीतले हाम्रा पाइला गुफापोखरी टेक्न सफल भएका थिए ।

यहाँ पुग्नका लागि उपयुक्त महिना हुन्- भदौदेखि कार्तिक र फागुनदेखि वैशाख । अरू महिना हिउँ-तुषारो र वर्षाका कारण कष्टकर हुन्छन् । यति हुँदाहुँदै पनि वर्षको २५ सयदेखि पुगनपुग तीन हजार दर्शनार्थी गुफापोखरी टेक्दा रहेछन् । गुफापोखरी बजार पुगेपछि चाहिँ फाट्टफुट्ट होटल तथा लज भेटिन्छन् । यात्रीलाई विभिन्न मौलिक परिकारले समेत बोलाइरहेका हुन्छन् । लेकाली छुर्पी, याकको मासु, कोदोको तोङ्वा यहाँका विशेष स्वादिला परिकार हुन् ।
गुफापोखरीको प्राकृतिक महत्वव त छ नै, धार्मिक, सांस्कृतिक महत्वव पनि उत्तिकै छ । सबै धर्मावलम्बीका लागि उत्तिकै पवित्र मानिने यो पोखरी प्रकृतिको काखमा रहेको तीर्थस्थल पनि हो । कतिपय धार्मिक आस्था राख्नेहरू गंगाभन्दा गुफापोखरीलाई चोखो मान्दा रहेछन् । त्यसैले पनि धेरै मानिस यस पोखरीको दर्शनार्थी बनेर यहाँ आइपुग्दा रहेछन् ।

‘यो पोखरी त देवताले सच्चा बास गरेको स्थल पो हो । यहाँ आउँदा हरेक मनोकामनाहरू पूरा भएझैं लाग्छ', संखुवासभादेखि पोखरी दर्शनका लागि पुगेका मनरूपा राई र उनको समूहले हामीलाई प्रतिक्रिया बाँड्दै थियो । यहाँको दर्शन पाउँदा उनीहरू स्वर्गकै दर्शन पाएजसरी आफूलाई धन्य सम्झिरहेका थिए ।
...

तीनजुरे, मिल्के र जलजलाले गुफापोखरीलाई थप शोभा दिएका छन् । यो स्थान गुराँसको बगैंचाजस्तो पनि लाग्छ । यहाँ ३२ भन्दा बढी प्रजातिका गुराँस पाइन्छन् । एउटै थुम्कोलाई दर्जनभन्दा बढी प्रजातिका गुराँसका रूखहरूले सिँगारेको हुन्छ । यी विभिन्न रङ र प्रजातिका गुराँस फुल्दा यी थुम्काहरूको सौन्दर्य छचल्किएर पोखिन्छ । ‘वसन्तयाममा गुराँसको सुगन्धले बाटो काटेको पत्तै हँदैन', तेह्रथुम आठराईका कोकिल न्यौपाने भन्दै थिए, ‘त्यसँगै न्याउली र कोइलीको सुरम्य संगीतले मनै हरक्क पार्छ ।'

गुराँसको अलावा यहाँ सुनपाती, चिमाल, कटुस, भैरुमपाती, तोलिन्दाजस्ता पुराना रैथाने वनस्पति पनि पाइँदा रहेछन् । यो लेकाली भूमि जडीबुटीका लागि पनि उत्तिकै प्रख्यात छ । पाखनवेद, पाँचऔंले, जिम्बु सतुवा, चिराइतो लगायतका दुर्लभ जडीबुटीका लागि पनि यो भूमि उर्वर छ । घुर्बिसे डाँडा गुफापोखरीदेखि १२ किलोमिटरनजिकै उभिएको छ । घुर्बिसेबाट धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र झापाका भूभाग प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

पर्यटकीय सम्भावना उच्च हुँदाहुँदै पनि गुफापोखरी ओझेलमै छ । यसलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सके, स्थानीयवासीले असंख्य फाइदा लिन सक्छन् । पछिल्लो समय उनीहरू सचेत पनि छन्, यस ठाउँको महत्ववबारे । यहाँ उत्पादित चौंरीको छुर्पी, सेग्र्याम, भेडा तथा च्यांग्राको घ्यू, ऊन बजार अभावका कारण सस्तो मूल्यमै दलाललाई बेच्न बाध्य छन् । ‘धेरै उत्पादन त बाहिर जान पनि पाउँदैनन्, स्थानीय तहमै खपत हुन्छ', गुफापोखरीमै भेडीगोठ सञ्चालन गरेर बसेका पुरनधन खालिङले भन्दै थिए, ‘यहाँ आउने पर्यटकहरू आफैं किनेर लग्ने पनि गर्छन् । हाम्रा लागि बजारको सहज पहुँच कहिले होला खै? '
...

गुफापोखरीलाई ‘सबैको, सधैंको गन्तव्य' बनाउने हो भने राज्यस्तरदेखि स्थानीयहरू सबै जुर्मुराउनु जरुरी छ । यसमा सबैको ध्यान खिच्न राज्यका तल्ला निकाय स्थानीय तहले नै सर्वप्रथम पहल लिनुपर्छ । यसको पूर्वधार विकास र आवश्यक व्यवस्थापनमा उचित ध्यान पुगेमा गुफापोखरी देशीविदेशी सबैखाले पर्यटकको रोजाइमा पर्नसक्ने निश्चित छ ।

लागिरह्यो— विविधताको प्रचुरता रहेको यस हिमाली पोखरीप्रति सबैको ध्यान बेलैमा जाओस् ! र, दर्शनार्थीहरू फेरिफेरि गुफापोखरी सम्झेर आई नै रहून् ! यही कामना गर्दै हामीले त्यो छोटो समयको यात्रा युटर्न गर्‍यौं । भरे फेरि गुफापोखरी पुग्न मन लागिरहन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.