भारतको विषाक्त लोकतन्त्र
आफ्नो लेख तथा अभिव्यक्तिले संस्थापनलाई ‘टेन्सन' दिइरहने एउटा नाम हो, पंकज मि श्र । वैकल्पिक धारबाट बौद्धिक विमर्श गर्न रमाउँछन् उनी । मूलधारविरोधी मि श्रलाई अराजकताको संवाहक भएको आरोप लगाइन्छ । खासमा समकालीन समाजलाई अरू विषाक्त हुनबाट जोगाउन अति आवश्यक बौद्धिक अक्सिजन दिइरहेका लेखक हुन् मिश्र । मिश्र ‘आउटलुक', ‘गार्डियन', ‘न्युयोर्क टाइम्स'लगायत विश्वका चर्चित पत्रपत्रिकामा निरन्तर आफ्ना विचार लेखिरहेका छन् । आख्यान-गैरआख्यान गरी उनका नौ किताब प्रकाशित छन् ।
मूलतः समसामयिक विश्व राजनीतिको मियोवरिपरि घुमेको छ उनको पछिल्लो गैरआख्यान ‘एज अव एंगर' पनि । औसत आँखामा अगोचर वर्तमान भारतीय सामाजिक-राजनीतिक परिवेशमाथि केन्द्रित मि श्रको यो लेख गत महिनाको ८ तारिख ब्लुमवर्ग डिजिटल म्यागेजिनमा प्रकाशित थियो । यसलाई गणेश खनियाँले नेपालीमा अनुवाद गरेका हुन् :
मिडियाविरुद्ध निर्लज्ज विषवमन गर्छन् डोनाल्ड ट्रम्प । दण्डहीनताको संस्कृति अझ मौलाउनुमा उनी धेरै जिम्मेवार छन् । ट्रम्पकै छत्रछायामा लोकप्रियतावादी र तानाशाहहरूको उत्साह चुलिँदो छ । टर्कीका राष्ट्रपति रेसेप ताइएप एर्दोगान र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँगै कुममा कुम मिलाएर हिँड्दै छन् अमेरिकी आशीर्वाद प्राप्त साउदी राजा । लोकतन्त्रको घाँटी निमोठ्न, आफ्नो शक्ति बढाउन र आलोचकहरूलाई सिध्याउन हरसम्भव उपाय अख्तियार गर्दैछन् उनीहरू । भारतीय जनता पार्टीको नेतृत्वमा भारतमा सञ्चालित लोकतान्त्रिक मूल्यमान्यतामाथिको आक्रमण त यति भयानक, जब्बर अनि बहुकोणीय बन्दैछ कि यतिखेर अरू धेरै विषम घटनाहरूको चर्चा नै हुन छाड्यो ।
गाईको मासुको व्यापारमा संलग्न भएको आरोपमा निर्दोष नागरिकमाथि लगातार आक्रमण भइरहेको छ भारतमा । सन् २०१४ मा यसैलाई उग्र चुनावी मुद्दा बनाए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । गत हप्ता भारतको मुख्य जाँचबुझ निकाय, सीबीआईले एनडीटीभीका संस्थापकहरूको निवास र कार्यालयमा छापा मार्यो । जानकारी रहोस्, मोदी सरकारको आलोचना गर्ने प्रमुख टीभी च्यानल यही हो ।
सतहमा हेर्दा एकजना सेवाग्राहीले बैंकको ऋण नपाएको भनी गरेको उजुरीका आधारमा उक्त छापा मारिएको बताइन्छ । तर, मुख्य कारण भने एनडीटीभीका कार्यक्रम सञ्चालक र बीजेपीका राष्ट्रिय प्रवक्ताबीचको चर्को बहस र भनाभन नै हो । यही बहसलाई एनडीटीभीले प्रत्यक्ष प्रसारण गरिदिँदा उनी पदमुक्त बन्न पुगे । भारतमा मिडियालाई तर्साउने, धम्क्याउने घटना खासै नौलो होइन । तर, एनडीटीभीविरुद्ध सीबीआईले लगाएको मुद्दा र यसबारे व्यक्त धारणाले मोदी सरकारको मनोदशा प्रस्ट्याउँछ । मिडियामाथि ज्यादती गर्ने मामलामा भारत सरकारले अपनाएको तरिका हेर्दा लाग्छ, कुटिल चाल चल्नका लागि एर्दोगान र पुटिनले पनि गुरु मान्दा हुन्छ मोदी सरकारलाई ।
भारतमा राष्ट्रवादी आक्रोश व्यापक रूपमा सतहमा आउँदैछ । पछिल्लोपटक यो दौडमा सामेल भए एकजना बीजेपीका सभासद् । काश्मीरी नागरिकलाई जसरी नै जिपको वोनेटमा बाँधेर लेखक अरुन्धती रोयलाई सहर घुमाउनुपर्ने जिकिर थियो उनको ।
आलोचकहरूलाई मोदी सरकार आफैं ‘राष्ट्रघाती' ठहर गर्छ । अनि उनीहरूविरुद्ध आमजनताको व्यापक घृणा जन्माउन हर उपाय अपनाउँछ । उनीहरूविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन गर्न राज्यसंयन्त्र नै उपयोग भइरहेको छ । भारतको सबैभन्दा जनघनत्व भएको राज्य उत्तर प्रदेशका मुख्यमन्त्री बनेका छन् मोदीकै विश्वासपात्र एक कट्टर योगी । पश्चिमी पारामा सार्वजनिक स्थलमा प्रेम प्रदर्शन गर्ने युवाजोडीविरुद्ध जाइलाग्न त उनले भिजिलान्ते समूह नै परिचालन गरेका छन् ।
गाईको मासु खाने र यसको व्यापार गर्नेहरूमाथि गरिएको जथाभावी आक्रमणलाई सही साबित गर्न बीजेपीको सारा मन्त्रिमण्डल नै एकजुट छ । अर्कोतर्फ अधिकांश मिडियाहरू राज्यद्वारा संचालित यस्ता गलत प्रयासको अन्धाधुन्द समर्थन गर्दैछन् र भीडको आक्रोशमा घ्यू थप्दैछन् । उग्र राष्ट्रवादी मिडिया र सरकारी निकायहरूको कसिलो सम्बन्ध छ । यसको पछिल्लो उदाहरण देखियो काश्मीरमा । त्यहाँका सैनिक मेजरले एकजना काश्मिीरी नागरिकलाई जिपको अगाडि (वोनेट)मा बाँधेर पाँच घन्टासम्म गाउँगाउँ घुमाएको घटना मिडिया र राज्यको मिलेमतोमा अपराध मानिएन ।
मोदी सरकारले रोलक्रम मिचेर सेनाप्रमुख बनाइएका चरम राष्ट्रवादीले तिनै मेजरलाई प्रशंसापत्र दिए । सैनिक छानबिनमा उनी निर्दोष ठहरिए । काश्मीरस्थित राष्ट्रघातीविरुद्धको भारतीय युद्धमा अति आवश्यक तर नवीनतम विधि अपनाएको भन्दै उनलाई पुरस्कृत गरियो । कैयौं अन्तर्राष्ट्रिय नियमलाई लत्याउँदै तिनै मेजर पछि एउटा टेलिभिजनमा निम्त्याइए । उनको कदमलाई टेलिभिजनका बहसकर्ता र बीजेपी समर्थक इन्टरनेट प्रयोगकर्ताहरूले अनुमोदन गरिरहे, निरन्तर।
भारतमा राष्ट्रवादी आक्रोश व्यापक रूपमा सतहमा आउँदैछ । पछिल्लोपटक यो दौडमा सामेल भए एकजना बीवजेपीका सभासद् । काश्मीरी नागरिकलाई जसरी नै जिपको वोनेटमा बाँधेर लेखक अरुन्धती रोयलाई सहर घुमाउनुपर्ने जिकिर थियो उनको । विदितै छ, हिन्दु मैमत्तावादकी प्रखर आलोचक हुन् रोय । हालसालै प्रहारको निशानामा परेका छन् भारतीय प्राज्ञ पार्थ चटर्जी । उनीमाथि अधिकांश मिडिया जाइलागे । उनको कसुर थियो— काश्मीरमा सर्वसाधारणलाई सेनाले मानव ढालका रूपमा प्रयोग गरेको घटना तथा बेलायती उपनिवेशकालीन भारतमा गरिएका र्बर र आततायी तौरतरिकाबीच समानता देख्नु ।
भारतमा नागरिक समाजको उपस्थिति दिनानुदिन कमजोर बन्दैछ । मोदीकै मतियार र समर्थकहरू यसलाई तहसनहस पार्न तल्लीन छन् । मोदीको शासकीय बेवास्ताले उनीहरूको मनोबल बढ्दैछ । यसबारे अन्तर्राष्ट्रिय असहमति वा निगरानी बढ्ला कि भनेर उनी चिन्तित भइहाल्नुपर्ने पनि देखिँदैन । विश्व नै यतिखेर ट्रम्पका गतिविधिबाट आजित छ । ट्रम्पका सन्की व्यवहारबाट विश्वको राजनीतिक तथा आर्थिक क्षेत्रमा आउनसक्ने हलचलमा नै बहस केन्द्रित भएकाले पनि मोदी सरकारलाई हाइसन्चो छ ।
बुझाइको अर्को पाटो पनि छ । भारतमा घटेका जतिसुकै विकराल घटना किन नहून्, धेरैजसो पश्चिमी टिप्पणीकारहरूले भारतलाई गजबको प्रजातन्त्र र उदाउँदो आर्थिक शक्तिका रूपमा अथ्र्याउँछन् । ‘न्युयोर्क रिभ्यु अव बुक्स'मा हालसालै छापिएको एउटा लेखको आशय पनि यस्तै थियो । उक्त लेखमा जेसिका म्याथ्युस भन्छिन्, ‘धेरै वर्षपछि भारतले नरेन्द्र मोदीको रूपमा गतिशील नेतृत्व पाएको छ ।'
विश्वशान्तिका लागि स्थापित एक ख्यातिनामा कोषकी प्रमुख रहिसकेकी म्याथ्युसको यो भनाइले निकै अर्थ राख्छ, नागरिक स्वतन्त्रतालाई कुण्ठित पार्ने मोदीका गतिविधिलाई हौस्याउन । उनी थप्छिन्, ‘नयाँदिल्लीले चाहेका अत्यावश्यक सुधारहरू सुनिश्चित गर्ने दिशामै अघि बढ्न पर्याप्त राजनीतिक शक्ति आर्जन गर्दैछन् सायद यतिखेर मोदी ।'
वर्तमान भारतको विषाक्त वातावरण देख्ने भोग्नेहरूले म्याथ्युस जस्ताको ठम्याइलाई बतासे काल्पनिकी मान्छन् । भारतीय आमसंस्कृतिमा तीव्र विषघुलन भइरहँदा आर्थिक सुधारको विषयसमेत प्रश्नको कठघरामा उभिएको छ । समकालीन विश्वमा लोकतन्त्रमाथि गरिएका ठूल्ठूला प्रयोगहरू असफल भइरहेका छन् । यही त्रासदीको सामान्य आभाससमेत नपाउनु दुःखद र विक्षिप्त समयबाट हामी गुज्रिरहेको गम्भीर प्रमाणबाहेक के हुनसक्छ त ?