अबको काठमाडौं : मरुभूमि कि हराभरा ?

अबको काठमाडौं : मरुभूमि कि हराभरा ?

काठमाडौंमा ‘मरु' भन्ने एउटा ठाउँ छ, जहाँ सबैथोक पाइन्छ । काठमाडौं सहरको भित्री बजारमध्ये एक हो- मरु । नेपाल भाषामा ‘मरु'को शाब्दिक अर्थ हो- ‘छैन' । तर, मरुत्वाः एउटा यस्तो बजार हो जहाँ मानिसहरू आफूसँग भएका र आफूले उपभोग गर्न नसकेका वस्तु बेच्न र साट्न ल्याउने ठाउँ बन्यो।
बजारमात्र होइन, मरुत्वाःमा एउटा ढुंगेधारा पनि छ । अरू धाराभन्दा ठूलो पानी आउने त्यो धाराको नाम हो- मरुहिटी ।

मरुमा आउने मानिस सायद सम्पन्न भएरै होलान्, मरु गणेशलाई लड्डु चढाउनेहरूको भीड पनि उत्तिकै छ । त्यतिमात्रै होइन, त्यही मरुमै काष्ठमण्डपको मन्दिर पनि छ- (थियो) । काठमाडौंमा त्यस्ता मेहनती मानिस थिए जो केही नभएको ठाउँमा पनि सबैथोक उपलब्ध गराउँथे । तर, ती ‘मरु'लाई ‘दु' अर्थात् ‘छैन'लाई ‘छ' बनाउन हजारौं वर्षदेखि बस्दै आएका काठमाडौंका पुराना बासिन्दा आफैं ‘दु' बाट ‘मरु'को यात्रामा लाग्न बाध्य छन् । काठमाडौं आफैं पनि सुन्दर, हरियो खेत र जंगलबाट मरुभूमिको यात्रामा प्रस्थान गर्न विवश छ ।
...

टेबहालमा ढुंगा ओछ्याइएको एउटा बाटो छ- नछेँगल्ली । नयाँसडक बन्नुभन्दा अघिको बाटो हो त्यो । अहिलेको हिसाबले अन्दाज गर्दा त्यहाँ एउटा सानो कार गुडाउन सकिन्छ । नछेँगल्लीमा पनि एउटा चोक छ । त्यहाँ एउटा पुरानो इनार छ । त्यो पानी पिउन, नुहाउन, लुगा धुन प्रयोग गरिन्छ । राणाहरूलाई गाडी गुडाउने ठाउँ चाहिएपछि बनेको हो- नयाँसडक ।

अलि धेरै पानीको मज्जा लिनेले नजिकैको सुन्धारामा जानुपथ्र्यो । मुख जोतेर, घटघटी पिउन मिल्ने पानी थियो त्यहाँ । यस्ता अनगिन्ती साना-ठूला ढुंगेधारा छन् काठमाडौंमा, जहाँको पानी सिधै पिउन सकिन्थ्यो सिंगापुरमा जस्तै । सञ्चय कोषको काठमाडौं मल बनाउने क्रममा सुन्धारा सुक्यो । यसरी राज्यले वास्ता नगरेर काठमाडौंको सबै स्थानीय पानीको मुहान र व्यवस्थापन बिग्रियो । नयाँसडक स्थानीयको चाहनाअनुसार, बनेको थिएन । त्यो सडक राणाहरू घुम्न आउने र जनताका छोरी-बुहारी देखे उठाएर लैजाने ‘बजार' थियो । काठमाडौंवासीप्रति राज्य असहिष्णु थियो ।
...
सिंहदरबारदेखि भद्रकालीको मन्दिर टँडिखेलसम्मको बीचभाग अहिलेको भृकुटीमण्डप, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय वाणिज्य बैंक भएको ठाउँ काठमाडौंमा अति उब्जनी हुने जमिनमध्ये पर्दथ्यो । त्यो जमिन अधिग्रहण गर्दा धेरै मानिसको गाँसबास रहेन । अहिले हेरौं, ती संस्थाहरूको महत्ववपूर्ण सम्पत्ति नै त्यही जमिन हुन गयो । त्यो जमिन अधिग्रहणमा नपरेको भए ती जमिन मालिकका सन्तानको आर्थिक स्थिति कस्तो हुन्थ्यो होला ? अहिले त्यो जमिनमा ठडिएका घरहरू सयौंजनाले भ्रष्टाचार गर्ने थलो बने ।
...
उपत्यकाका जनताले सरकार जहिले पनि उत्पीडकको रूपमा मात्र पाए । उपत्यकाबाहिरका मानिसले सत्ता सञ्चालन गर्ने भएपछि यहाँका जनताको सेन्टिमेन्ट बुझ्न आवश्यक नै ठानेनन् । आफ्नो मोजमस्ती, सत्ताको लागि मारकाटमै सयौं वर्ष बिते । आफूले एक-एक इँटा पखालेर बनाएको घर कसैले आएर फोहोर गरिदिँदा जे महसुस हुन्छ, त्यही चित्त दुखाइमा पुस्तौं व्यतीत भयो । काठमाडांै सहरको यो कथा अझै भयानक रूपमा लेखिँदै छ ।
...
यस पटकको स्थानीय निर्वाचनमा एउटा जोडदार नारा सतहमा आयो- स्मार्ट सिटी बनाउने । मेयर-उम्मेदवारले स्मार्ट सिटी बनाउने त भने । तर, स्मार्ट सिटी भनेको के हो भन्ने मेयर आफैंले कति बुझे र जनतालाई कति बुझाउन सके, त्यो यकिन गर्न गाह्रो छ । स्मार्ट सिटी बनाउन चाहनेमध्येका विजयी काठमाडौंमा वर्तमान मेयर विद्यासुन्दर शाक्यले सहरलाई कसरी स्मार्ट बनाउने हुन्, हेर्न बाँकी नै छ ।

पहिले स्थानीय ‘निकाय' हुन्थ्यो, अहिले ‘सरकार' भनिएको छ । निकाय हो कि सरकार भयो, अर्थात् सिंहदरबारबाट अधिकार सरेर आयो कि आएन त्यो हेर्न बाँकी नै छ । यसबारे नयाँ मेयर र वडाअध्यक्षबीच अधिकार र दायित्वका कुरा छलफल भइरहेकै होला ।

मुख्य कुरा निर्वाचनपछि सरकार र जनताबीचको दूरी घट्छ कि घट्दैन भन्ने नै हो अर्थात् नागरिकले स्थानीय निकायका कर्मचारी या पदाधिकारीसँग सहज रूपमा भेट्न, आफ्नो समस्या सहज रूपमा प्रस्तुत गर्न र ती समस्याप्रति स्थानीय सरकारले सरोकार राख्छ कि राख्दैन भन्ने नै हो, त्यो पनि हेर्न बाँकी नै छ ।

सबै मेयर र नगरपालिकाको टिमलाई अवसर र चुनौती दुवै छ- काठमाडौंलाई मरुभूमि बनाउने कि हराभरा ? काठमाडौंलाई ऐतिहासिक सहरको रूपमा पुनर्स्थापित गराउने कि स्मार्ट सिटी बनाउने ?

अहिले उपत्यकाका नगरपालिकाले मनन् गर्नुपर्ने एउटा कुरा छ —काठमाडौं निर्माण गर्ने कि ध्वंश गर्ने ? काठमाडौंको पहिचान टिकाइराखेकाहरूलाई स्थापित गर्ने कि विस्थापित गर्ने ? अहिले काठमाडौंमा किसिम किसिमका जनता छन् । यहाँ एकाथरी यस्ता जनता छन् जो हजार वर्षदेखि परम्परागत रूपमा चल-अचल सम्पत्तिको हस्तान्तरण हुँदै जीवनयापन गर्दै आएका छन् । ती जनता जसका पुर्खाले ऐतिहासिक काठमाडौं बनाए, तिनीहरू अब सबै किसिमले अल्पमतमा छन् । चुपचाप मन परेका उम्मेदवारलाई भोट दिन्छन् ।

पछाडि परिसकेको आफ्नो पेसा या अन्य साधारण काम गर्छन् । चाडबाड मान्छन् । यिनीहरूमध्ये थोरैले मात्र नयाँ घर बनाएका वा बनाउन सकेका छन् । काठमाडौंमै बसेर काठमाडौंको गति, प्रगति वा राजनीतिसँग मात्र होइन नयाँ व्यापार, प्रविधि, सम्पर्क, सम्बन्ध र चलखेलसँग पनि बेखबर छन् । ती भएको पुरानो घरमा बसेका छन्, चाडबाड मानेका छन् । स-सानो व्यवसायमा गुजारा गरिरहेका छन् । ती आफूले परम्परागत रूपमा गर्दै आएको पेसा अरूले अतिक्रमण गरेकोमा, प्रतिस्पर्धामा आफू पछाडि पर्दै गएकोमा, पुस्तौंदेखि हस्तान्तरित घरमा बस्न परेकोमा वा नयाँ घर बनाउन नसकेको कारणले पनि डिप्रेस्ड पनि छन् ।

कुनैबेलाको शासक वर्ग, आर्थिक सामाजिक रूपान्तरणका अग्रणी, सयौं वर्षदेखि राज्यले गरेको विभेदका कारण काठमाडौंमै बसेर पनि सुदूरगाउँका भन्दा बढी पीडित छन् ती जनता । काठमाडौं नेपालको केन्द्रीय नीति बन्ने सहर हो अर्थात् राजधानी हो । नीति निर्माताहरू काठमाडौंमै बस्छन् र काठमाडौंको भाषा, धर्म, संस्कृतिविरुद्ध निर्णय गर्छन् । काठमाडौंको पुरानो पहिचानलाई सुनियोजित रूपमा ध्वस्त बनाउँदै लगेका छन् तिनले । प्रत्येक सत्तामा लखेटिएको महसुस गरेको काठमाडौंका पुरानो बासिन्दा हरेक राजनैतिक परिवर्तनलाई साथ दिन्छन् । तर, कुनै पनि राजनैतिक परिवर्तनले यहाँका बासिन्दाका कुरा सुनेका छैनन् । बरु प्रत्येक सत्तासीनले जसरी पनि विस्थापित गर्ने प्रयत्न गरेको छ यहाँका जनतालाई ।

उपत्यकालाई नै कुनै बेला नेपाल भनिन्थ्यो र यहाँको भाषालाई नेपाल भाषा । तर, नेपाल भाषा भन्ने नामलाई नै राज्यले स्वीकारेको देखिएन । यो समृद्धशाली भाषा, साहित्यलाई होच्याउने प्रवृत्ति यो गणतन्त्रमा पनि कायमै छ । भूकम्पपछि काठमाडौंप्रति राज्यको चरित्र अझै असहिष्णु भएको तथ्य बाहिर आएको छ ।

उपत्यकालाई सम्पदा सम्पन्न भनेर चिनाउने सहरभित्रका घनाबस्तीको घर, बहाल, चोक, मन्दिर, दरबार बनाउने चासो दिइएकै छैन । अहिले काठमाडौंको भित्री सहरमा भत्किसकेको घरमा टेको लगाएर बसेका मानिस लाखौंको संख्यामा छन् । स-सानो भूकम्प वा पराकम्पले मात्रै पनि हजारौं मानिसको एकै चिहान हुन सक्ने सम्भावनामाथि राज्य सञ्चालक आँखा चिम्लेर थाहै नपाएझैं मौन बसिरहेको छ । सरकार सञ्चालकहरूले रानीपोखरी, पशुपतिनाथ, स्वयम्भू, काष्ठमण्डपलगायत टोलटोलमा भएका हजारौं मन्दिर संरक्षण नगरिकनै भत्कन, चोरी हुन छोडिदिएका छन् ।

काठमाडौंको सडक ‘विस्तार' राज्यको पहिलो प्राथमिकतामा परेको छ, असारमा पानी दर्किरहनु र पिच भइरहनु त अब सानो उदाहरणमात्र हो । यो एउटा यस्तो विस्तार हो, जुन विधि अपनाइयो भने यहाँका रैथाने पनि सकिन्छन् र राज्यसञ्चालकहरू रातारात खरबपति हुन्छन् । राज्यसत्तामा आलोपालो रहने (कहिले मन्त्रिपरिषद्मा हुने कहिले प्रतिपक्षमा हुने)े व्यक्तिका लागि धपाउने र कमाउने छोटो अवधिको सुनियोजित योजना हो यो ।

यसबाट हुने कमाइ सबैतिर पुग्ने हुनाले यसविरुद्धमा बोल्ने कोही हुने छैन । जो पीडित छ, ऊ राज्य व्यवस्थाबाट अलग्गिएको त सयौं वर्ष भइसकेको छ । यो राम्रै नाफा हुने योजना हुनाले यो योजनामा सबैलाई भाग पुर्‍याउने बजेट छ । सरकार, प्रतिपक्ष, मिडिया, बुद्धिजीवी सबैलाई यसको औचित्यको बारेमा सम्झाउने, बुझाउने काम मात्र भइरहेको छ । काठमाडौंमा जन्मेका र हुर्केका ‘राउटे'हरू एक त अल्छी छन्, अर्को यो सबै जालझेल तिनीहरूको दिमागी पहुँचभन्दा टाढा छ ।

‘मापदण्ड विपरीत' एउटा यस्तो शब्द हो, जसमा काठमाडौं पूरै जबर्जस्ती ध्वस्त बनाउन सकिन्छ । राज्यले दिएको पदमा बसेर तोकेको मापदण्ड के हो भन्ने बिषयमा मापदण्ड बनाउनेदेखि यसका कारण विस्थापित हुने सबै कम्फ्युज्ड छन् । कन्फ्युजमै सबैलाई भाग पुर्‍याउने फ्युजन भएको हुनाले यसमा कसैले चासो दिने कुरै भएन । आफूलाई कति फाइदा हुने हो भन्नेमा ती सचेत छन् । काठमाडौंका ‘राउटे'हरू घर भत्काउन आउँदा पनि आरामसँग बस्न सक्छन् । उनीहरूसँग विद्रोह गर्ने आँट र चेतना दुवैको कमी छ । जहिले पनि सेलेब्रेसनमात्र गर्दै आइरहेका उनीहरू आफू सुकुमबासी भएको पनि एउटा चाडबाड झैं ‘सेलेब्रेट' गर्न मात्रै सक्छन् ।

अधिकांश बौद्धमार्गी रैथाने जसले ‘सहनुपर्छ, झगडा-तनावमय काम गर्नु हुँदैन' भनेर परम्परागत रूपमै सिकेर आएका छन् तिनीहरू पनि आन्दोलन गर्ने, आफ्नो घर भत्काउन आएकोमा रोइ-कराइ गर्ने मुडमा छैनन् । चुपचाप बनबास जान तयार यी बासिन्दालाई धपाउने अर्को योजना हो, उपत्यकामा बनाउने भनिएको चारवटा स्मार्ट सिटी । अब कुनाकाप्चामा बाटो नगएको कारणले भू-माफियाको आँखा नपरेको जमिन पनि राज्यले नै प्लटिङ गर्ने भयो । स-साना जग्गा व्यापारी अब सकिने भए । भू-माफियाको काम राज्य स्तरबाट हुने भएपछि, स-साना भूमाफियाहरू राज्यस्तरको भू-माफियाको शरणमा जानुपर्ने भयो ।

अर्को योजना छ- बाहिरी चक्रपथ । फरक पात्र, फरक ठाउँ, फरक विधि भए पनि रणनीति एउटै हो । एउटा नाफा सडक र पूर्वाधारको निर्माणबाट अर्को नाफा जमिनबाट । यसबाट हुने पर्यावरणीय प्रभाव, आवश्यक खानेपानी, ढल निकासको चर्चा कतैबाट हुने सम्भावना छैन । अहिले नै काकाकुल काठमाडौंमा पानीसम्म पनि कति हाहाकार हुने हो, यो योजना बनाउने र कार्यान्वयन गर्ने निकायको चिन्ताको विषय नै होइन ।

जनतालाई कुनै क्षतिपूर्ति नदिइकन राज्यकोष ‘बचाएर' बनाएको दुई वर्ष नपुग्दै ढल निकास बन्द भएर सानै झरीमा पनि खोलामा परिवर्तन हुने सडकले नगद कताकता बगेको होला भन्ने अनुमान गर्न सिकाइरहेको छ । काठमाडौंलाई मरुभूमि बनाउन उद्यत् योजनाकारहरू स्थायी सत्तामा छन् र अस्थायी सत्तामा हुनेहरूको आफ्नै चिन्तामात्र छ । त्यसैले बिना मुआब्जा, बिना क्षतिपूर्ति सरकारले यी सबै काम गरिरहेको छ ।

विद्यासुन्दरलगायत सबै मेयर र नगरपालिकाको टिमलाई अवसर र चुनौती दुवै छ- काठमाडौंलाई मरुभूमि बनाउने कि हराभरा ? काठमाडौंलाई ऐतिहासिक सहरको रूपमा पुनस्र्थापित गराउने कि स्मार्ट सिटी बनाउने ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.