विस्फोटक बौद्धिक सुन्दरता
इटालियन साहित्यकार महाकवि दाँतेको महाप्रस्थान भएको सयौं वर्ष बितिसकेको छ । आज धेरैपछि एउटी बंगालकी छोरीले आफ्नो प्रणय सम्बन्धको सघन तहमा ओर्लिएर संस्मरण लेखिरहँदा उनको भाषागत विशिष्टता तथा इटालियन संस्कृतिसितको उनको लगाव र मोहको चर्चा संसारभर भएको छ । पछिल्लो समयको एउटा चर्चित किताब ‘इन अदर वर्डस्' सिंगो इटालियन साहित्यको मूल्यको उचाइ सिर्जना गरिदिने किताब बनेको छ, जसलाई एक भारतीय मूलकी लेखक झुम्पा लाहिरीले इटालियन भाषामै लेखेकी हुन् । किताब दमदार र चर्चा गर्न लायक संस्मरण बनेको छ ।
यही संस्मरणको जगमा इटालियन सहित्यको चर्चा पनि राम्रैसँग गराइदिएको छ । सन् २०१६ मा यसको अनुदित अंग्रेजी संस्करणले विश्व साहित्यमा नयाँ खुराकसमेत थपिदिएको टिप्पणी गरिएको छ । लाहिरी २०१५ मा अमेरिका छोडेर इटाली हान्निएकी हुन् । उनको नयाँ निर्णयले उनलाई सांस्कृतिक संक्रमणमा धकेलेको त छ, तैपनि लाहिरी स्वयंको ठहरमा भने ‘भाषिक युद्धमा आफ्नो जित' भएको छ । ‘मैले भाषिक उल्झनलाई जहिले पनि कडा चुनौतीको रूपमा ग्रहण गरेर अघि बढेँ,' हालैको ‘फाइनान्सियल टाइम्स'सँगको एक संस्करणको लागि अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मैले लेखनमा भाषागत मुद्दालाई महत्वव दिएँ । होइन भने मेरो लेखाइ आम लेखाइभन्दा फरक पक्कै पनि हुँदैनथ्यो ।'
सन् २००० मा ‘इन्टरप्रेटर अफ मालादिस'का लागि प्रतिष्ठित पुलित्जर प्राइज हात पारेकी लाहिरीको मस्तिष्क कोखबाट थुप्रै विधाका किताब जन्मिएका छन् र तिनले विश्व साहित्यको अब्बल किताबलाई पनि चुनौती दिन्छन् । सन् १९६७ को जुलाई ११ मा जन्मिएकी झुम्पा लाहिरीले (जसको बंगाली नाम चाहिँ नीलञ्जना सुदेश्ना हो) विश्व साहित्यको जग उकास्ने काममा धेरथोर काँध थाप्ने गरेको साहसको सराह्रना पक्कै पनि गर्नुपर्छ । उनी ‘द नेमसेक', ‘अनअकस्टम्ड अर्थ', ‘द लोल्यान्ड'जस्ता बहुचर्चित किताबकी स्वामित्वकर्तामात्रै नभएर एक बलिया सिर्जनाशक्ति भएकी हस्ती हुन् जसलाई भौगोलिक भूगोलको परिधिले कहिल्यै पनि अड्चन सिर्जना गरेन ।
झुम्पा लाहिरीको जन्म लन्डनमा भएको हो । त्यसपछि उनी आफ्ना परिवारको साथ अमेरिका गइन् र त्यहीँ आफ्नो लेखन करिअरलाई हुर्काइन् । त्यही भूमिले उनको लेखनीमा निखार ल्याइदियो, अब्बल सिर्जनशीलताको जग बसालिदियो । व्यावहारिक जीवनमा लाहिरी अति नै लजालु स्वभावकी छन् तर लेखनमा भने १८० डिग्री उल्टो । अर्थात्, अत्यन्तै हक्की स्वभावकी ।
सन् २००३ मा प्रकाशित ‘द नेमसेक' आप्रवासी बंगाली परिवारको सांस्कृतिक अपचलनसँगै डायस्पोराको नमीठो पीडालाई पत्रपत्र केलाउन कामयाव छ । यो उनको पहिलो उपन्यास हो । किताब आप्रवासी बंगाली परिवाको खास पीडा हो । आफ्नो जन्मथलोभन्दा धेरै परको भूमिमा पुगेपछि महसुस गर्ने सांस्कृतिक विचलनलाई यसको कथ्यकेन्द्रमा राखिएको छ । उनले थुप्रै परिवारको कथा यसरी नै लेखेकी छन् । उनले उठाउने सांस्कृतिक संक्रमणको अवस्था मानवीय संवेदनासित प्रत्यक्ष गाँसिएको अत्यन्तै जटिल अवस्था पनि हो । त्यही भएर होला, भूगोल र मानवीय संवेदनालाई जोड्ने सेतुको रूपमा उनका किताब स्थापित भएका छन्, रुचाइएका छन् ।
झुम्पा लाहिरी २०१५ मा अमेरिका छोडेर इटाली गएकी हुन् । उनको नयाँ निर्णयले उनलाई सांस्कृतिक संक्रमणमा धकेलेको त छ, तैपनि लाहिरी स्वयंको ठहरमा भने ‘भाषिक युद्धमा आफ्नो जित' भएको छ ।
सन् २००७ मा ‘द नेमसेक' फिल्ममा रूपान्तरण पनि भयो । २००८ को उनको अर्को कथा किताब ‘अनअकस्टम्ड अर्थ'ले त उनको लेखकीय ऊर्जा र बैद्धिक÷प्राज्ञिक सौर्यलाई थप उचाइ प्रदान गरिदिएको थियो । लाहिरीले आफू कलेज पढ्दा आफ्नो उमेरका थुप्रै भारतीय-बंगालीहरू अमेरिकी ‘आइडेन्टिटी क्राइसिस्' भएको अवस्थाबाट गुज्रिएको देखेपछि तिनलाई आफ्ना पात्र बनाइन् । अमेरिकी भूमिमा आत्मसम्मानको खोजीमा रुमल्लिइरहेका असंख्य आप्रवासीको अनुहारमा देखेको निराशाको चाङ नै उनको लेखाइको चुरो बनेको उनले स्वीकारेकी छन् । हराएको पहिचान र गुमेको अस्तित्वको मूल्य प्राप्तिमा छटपटाएका असंख्य अनुहारले कथा लेख्न प्रेरित गर्ने उनको ठहर छ ।
आत्मवृत्तान्तपरक लेखनमा उनको कलम तुलनात्मक रूपमा बढी चलेको छ । उनका छोटा कथाको संग्रह ‘इन्टरप्रेटर अफ मालदिस'ले सन् २००० को पुलित्जर जित्न सफल भएपछिको समयमा उनको लेखन अभ्यासको सीमा थप बृहत् बनेको ठहर उनी स्वयं पनि गर्छिन् । यही लेखनीको उच्च सम्मानस्वरूप उनलाई ‘द ‘पेन÷हेमिङ्व्ये अवार्ड', न्युयोर्कर डेब्यु अवार्ड'लगायतले विभूषित गरेको छ- विश्व सहित्यले । लाहिरीको लेखनको दमदार पाटो भनेको यथार्थ र स्वैरकल्पनाको मि श्रण हो । तिनै औजारको सहारामा लाहिरीले डायस्पोरिक लेखनमा एउटा मजबुत जग बसाल्न योगदान गरेकी छन्, जसरी पहिचान संकटको पीडाबोध गरेका अर्का एक प्रतिष्ठित लेखक सलमान रुस्दीले आफ्नो किताब ‘इम्याजिनरी होमल्यान्ड'मार्फत ‘विदेशीको भौगोलिकतामा एउटा काल्पनिक जन्मथलो निर्माण गरेर आफ्नो अस्तित्व रक्षा र पहिचान स्थापित गराउने जमर्को गरे ।
आफ्नो खास माटो अर्थात् मूल थातथलो पश्चिम बंगालभन्दा धेरै परको भूगोलमा अवस्थित बहुसांस्कृतिक एवं बहुभाषिक मुलुकमा जानेहरूको पहिचानको लागि उनीहरूले गर्ने संघर्ष र त्यससँगै आइपर्ने संकट लेख्न सक्नु वा ‘हाइब्रिड आइडेन्टिटी'लाई कथानकको रूपमा सहजै आत्मसाथ गर्न सक्नु उनको लेख्य दक्षता हो । सँगसँगै, ती सहज काम भने पक्कै पनि होइनन् । असहज कामको भारी उठाएर उनले जोखिम मोलेकी छन् ।
त्यही जोखिम नै हो उनलाई आजको उचाइमा लैजाने वाहक । हरेकजसो आप्रवासीको तासको खाल बनेर रहेका आम सपनालाई आख्यानीकरण गर्न सक्ने उनको खुबीकै कारण लाहिरीलाई विश्व साहित्यले आफ्नो छहारीमा ओत दिएको हो । र, उनको अस्तित्व सुरक्षित गरिदिएको हो । उनले ‘वालस्ट्रिट जर्नल'लाई दिएको एक अन्तर्वार्तामा उल्लेख गरेकी छन्, ‘मैले लेख्न थाल्दा मलाई मेरा छोटा कथाले भारतीय-अमेरिकी अनुभव र पहिचान संकटको थिम बोकेका थिए भन्ने निधो थिएन ।' तैपनि, उनले अञ्जानमै लेख्नका लागि उठाएको विषय आजको विश्वको सबैभन्दा जटिल र सबैभन्दा ओझिलो विषय बनिदिएको छ, जसलाई उनले राम्रोसँग ‘ह्यान्डल' गर्ने सामथ्र्य पनि राखेकी छन् ।
लाहिरी अमेरिका रहँदा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ‘कमिटी अन दि आर्टस् एन्ड ह्युम्यानिटिज'को सदस्यका रूपमा पनि चुनिइन् र ओबामाको प्राज्ञिक अभ्यासमा सघाइन् । वोस्टन विश्वविद्यालयबाट अंग्रेजी साहित्य, सिर्जनात्मक लेखन तथा कम्प्यारेटिभ लिटरेचरमा स्नातकोत्तर लाहिरी ललितकलाका विषयमा समेत दक्खल राख्छिन् । त्यसैगरी, अमेरिका रहँदा उनले अमेरिकी वुद्धिजीवी तथा लेखकको संगठित संस्था ‘पेन अमेरिकन सेन्टरमा'मा आबद्ध भएर काम पनि गरिसकेकी छन् ।
आप्रवासी मनोविज्ञान केलाउने उनीसित आफ्नो मौलिक सीपमात्रै छैन त्यसलाई हरफमा उतार्ने बेग्लै कौशल पनि छ । लेखाइमा अधिक मेहनत गर्नेको लेखकको छोटो सूचीमा उनी अटाउँछिन् । लाहिरीलाई एकपटक ‘तपाईं आफ्ना कथालाई कत्तिको पुनर्लेखन गर्नुहुन्छ ? ' भनेर वालस्ट्रिट जर्नलले गरेको प्रश्नमा उनले खुलेरै भनेकी छन्, ‘पुनर्लेखनमा अधिक ध्यान दिन्छु । मेरो प्राथमिकता त्यसमै हुन्छ । कतिपय लेखकले १७, १८ पटक पुनर्लेखन गरेँ भनेको सुन्दा मलाई उदेक र आश्चर्य लाग्छ । । मैले प्रकाशनअगावै अनगिन्तीपटक पुनर्लेखन गरिसकेकी हुन्छु । त्यसपछि पनि चित्त नबुझे केही समयको लागि लेखन बन्द गर्छु, थन्काउँछु । कतै लामो यात्रामा निस्कने वा साहित्यिक वा अन्य पब्लिक स्पिचमा भाग लिने काम मेरो प्राथमिकतामा पर्छन् । अथवा नयाँ किताब पढ्ने गर्छु ।'
लाहिरीको लेखनको अब्बल गुण भनेको उनको सरल तथा कलात्मक भाषिक मिठाससँगै बलिया ‘एक हरफे' वाक्यांश बनोट नै हो । त्यसो त कामको सिलसिलामा ‘इन ट्रिटमेन्ट' नामको एचबीओ टेलिभिजन कार्यक्रमका लागि लाहिरीले स्क्रिप्ट लेखेको अनुभव पनि सँगालेकी छन् । त्यतिमात्रै होइन, उनले उक्त टेलिभिजनको लागि सांस्कृतिक सल्लाह उपलब्ध गराएर लामो समय बौद्धिक योगदानसमेत गरिन् । आख्यानसँगै गैरआख्यानमा पनि लाहिरी उत्तिकै दक्खल राख्छिन् । ‘द न्युयोर्कर'लगायत छापामा उनका थुप्रै लेख प्रकाशित छन् । ती लेखकै रूपमा पनि अत्यन्तै चर्चित बने । ‘कुकिङ लेसन्स्ः द लङ व्ये होम', ‘रिफ्लेक्सन्स्ः नोट्स फ्रम अ लिटरेरी एप्रेन्टाइसिप', ‘इम्प्रोभाइजेसन्स्ः राइस' ती चर्चितमध्येका केही हुन् ।
बोस्टन युनिभर्सिटीकी ‘रेनेसा स्टडिज'मा विद्यावारिधि लाहिरी अहिले आफ्ना सम्पादक पति अल्बर्टो र दुई सन्तानका साथमा इटालीमा (रोम) बस्छिन् । सन् २०१५ को जुलाईमा उनले प्रिन्सटन युनिभर्सिटीमा सिर्जनात्मक लेखनको अध्यापन थालेकी छन् । झन्डै उमेरको पाँच दशक पार गर्दै गर्दा इटालीको रोमले यतिबेला उनलाई ‘सेन्स अफ विलङ्गिङ्नेस' प्रदान गरेको उनले महसुस गरेकी छन् । त्यही भएर होला, पछिल्लो समय उनको लेखनमा प्रणयको प्रगाढता ह्वात्तै बढेको छ । अनि, सन्तुष्टिका मसिना धर्साले उनको अनुहारमा थप चमक छरेको छ ।
(एजेन्सीको सहयोगमा)